कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कर्मचारी धमाधम आउन थाले

शंकर आचार्य

पर्सा — वीरगन्ज महानगरपालिकाको कार्यालयमा जनशक्ति अभावको समस्या बिस्तारै हट्दै गएको छ । मुलुकको कान्छो तथा प्रदेश २ को एक मात्र यो महानगरपालिकाको कार्यालयमा पछिल्लो समय निजामतीतर्फका कर्मचारीहरू धमाधम आउन थालेपछि स्थिति सहज बन्दै गएको हो  ।

कर्मचारी धमाधम आउन थाले

हाल कार्यालयमा निजामतीतर्फका १३ कर्मचारी कार्यरत छन् । जसमा १ सहसचिव, ४/४ उपसचिव तथा शाखा अधिकृत, २ लेखा अधिकृत, एक नायब सुब्बा र एक यान्त्रिक अपरेटर छन् । महानगरपालिकाको कार्यालयमा स्थानीय तहको समेत गरी कुल ८१ अधिकृतको दरबन्दी रहेकामा तीमध्ये हाल २९ अधिकृतको दरबन्दी पूर्ति भएको उनले बताए ।

विगतमा उपमहानगरपालिकास्तरको कार्यालय हुँदा एक मात्र निजामती कर्मचारी उपसचिव
स्तरको कार्यकारी प्रमुख रहने गरेकोमा हाल महानगरमा स्तरोन्नति भएपछि कार्यालयमा सहसचिव स्तरको मुख्य प्रशासकीय अधिकृतका मातहतमा अन्य निजामती कर्मचारी समेत रहने व्यवस्था गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुसाल हाल कार्यालयमा विभिन्न महाशाखा गरी ४ वटा महाशाखा प्रमुखले जिम्मेवारी वहन गरी रहेकाले विगतभन्दा केही राहत महसुस भएको बताउँछन् । ‘शिक्षा र प्रशासन महाशाखा उपसचिवहरूले हेरिराख्नुभएको छ, यी दुवै शाखा विगतमा खाली थिए,’ उनले भने, ‘म आफैं अनुपस्थित हुँदा पनि तल्लो तहका कर्मचारीले आआफ्नो जिम्मेवारी हेर्ने हुँदा धेरै सहज महसुस गर्दै छु ।’

महानगरमा स्तरोन्नति तथा वडाहरू थपिएसँगै कार्यालयको सीमित जनशक्तिमाथि कार्यभार अत्यधिक बढेको थियो । अर्कातिर सेवाग्राहीले पनि कार्यालयबाट छिटो र छरितो सेवा पाउन सकिरहेका थिएनन् ।

यसअघि कार्यालयमा अधिकृतस्तरका कर्मचारी कम र तल्लो तहका कर्मचारी बढी रहेको अवस्था थियो । आफूले यो समस्याबारे संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरी पटकपटक जानकारी गराएपछि निजामती कर्मचारीहरू बिस्तारै आउन थालेको उनले बताए । दसैं बिदापछि कर्मचारी आउने क्रम बढेको छ ।

कार्यालयलाई अझै पनि कर्मचारीको अभाव छ । वडा कार्यालयहरूमा सबैभन्दा बढी कर्मचारी अभाव रहेको भुसालको भनाइ छ । हाल पनि महानगरका ३२ मध्ये ८ वटा वडामा एक/एक जना कर्मचारी मात्र उपलब्ध रहेको उनले बताए । प्रत्येक वडामा ७/७ कर्मचारीको दरबन्दी छ । कम्तीमा प्रत्येक वडा कार्यालयमा १/१ शाखा अधिकृत र लेखापाल भइदिए वडास्तरीय योजनाहरू कार्यान्वयन गर्न सहज हुने उनको भनाइ छ ।

वडा कार्यालयहरूमा जनशक्ति अभाव हुँदा ससाना काम पनि महानगरपालिकाको कार्यालयबाटै गर्नुपर्ने अवस्था रहेको उनले बताए । जनशक्ति अभावकै कारण महानगरपालिकाको कार्यालयले लागू गर्न खोजेको जन्म, मृत्यु, विवाह दर्ता जस्ता सेवाको अनलाइन प्रणाली लागू गर्न समस्या भएको उनले बताए ।

कार्यालयले भवन निर्माण इजाजत पत्रको पनि अनलाइन प्रणाली लागू गर्न खोजेकामा जनशक्ति अभावले त्यो सम्भव हुन नसकिरहेको भुसालले बताए । ‘वडा कार्यालयहरूमा मात्र कर्मचारी भइदिए तथा सुविधासम्पन्न भइदिए,’ उनले भने, ‘हाल महानगरपालिकाको कार्यालयमा रहेको चाप स्वाभाविक रूपले घट्ने थियो ।’

वडा कार्यालयतर्फ मात्र हाल प्राविधिक ९६ र अप्राविधिक १ सय २८ गरी २ सय २४ कर्मचारीको दरबन्दी छ । तर ३२ वटै वडामा गरी सहायक स्तर चौथो/पाँचौं स्तरका गरी १/१ जना कर्मचारी मात्र कार्यरत छन् ।

संघीय बाहेकका महानगरपालिकाको जम्मा कर्मचारी संख्या ६ सय ५५ छ । तिनमा अधिकांश श्रेणिविहीन कर्मचारी छन् । जसमा ८ फायरम्यान जवान, ४५ कार्यालय सहयोगी, ३ चैनम्यान, १० चौकिदार, १५ कुल्ली, ८ माली, १ यान्त्रिक हेल्पर, ४३ नाइके र १ सय ९३ स्वीपर छन् । यसरी श्रेणीविहीन कर्मचारीको बाहुल्य भएकाले उनीहरूबाट उपल्लोस्तरको सेवा लिन सम्भव छैन ।

प्रकाशित : कार्तिक ९, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?