१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हरित प्रदेश अभियान : ५० हजार बिरुवा रोपिए

‘विकासको नाममा वन मास्न मिल्दैन’
शिव पुरी

रौतहट — हरित प्रदेशको कल्पनासहित प्रदेश २ अन्तर्गतको आठवटै जिल्लामा शुक्रबार ‘हरित प्रदेश अभियान सुरु गरिएको छ ।

हरित प्रदेश अभियान : ५० हजार बिरुवा रोपिए

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको अभियानको भूमि व्यवस्थापन तथा कृषि सहाकारी राज्यमन्त्री योगेन्द्रप्रसाद यादवले बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरे । यो अभियानलाई प्रदेश सरकारले गौरवकै रूपमा लिएको छ ।


चन्द्रपुर नगरपालिका ६ स्थित डाबरी जंगलमा बिरुवा रोपेर राज्यमन्त्री यादवले अभियानको शुभारम्भ गरेका थिए । एकै दिन एकै समयमा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वीरगन्जमा बिरुवा रोपेर प्रदेशलाई हरितमय बनाउन अभियानको सुरु भएको संकेत गरेका हुन् । प्रदेश सरकारले आठै जिल्लामा मन्त्री खटाएर अभियानको शुभारम्भ गरिएको थियो ।


आर्थिक वर्ष ०७५/७६ को सरकारको नीति तथा कार्यक्रममा हरित प्रदेशको कल्पनासहित प्रदेश २ मा हरित नगर, हरित गाउँ, हरित सडक, हरित पोखरी, हरिता मन्दिर, हरित नगर हरित खोला किनारसहित कार्यक्रमहरू सञ्चालन गर्न लागिएको मन्त्री यादवले जनाए ।


‘प्रदेशमा सञ्चालन भइरहेको मुख्यमन्त्री स्वच्छता अभियानसमेत यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ,’ उनले भने, ‘यो अभियानलाई सबै क्षेत्र तहतप्काका मानिसले सहयोग र साथ दिनुपर्छ ।’ वनबिना मानिसको जीवन कल्पनासमेत गर्न नसकिने उनले जनाए । सानो देश भएर पनि बंगलादेशको समृद्धि हेर्दा अचम्म लाग्ने उनले सुनाए । मौजुदा प्राकृतिक स्रोतले आमजनताको माग सम्बोधन गर्न सक्ने अवस्था छैन,’ उनले भने ।


प्रदेश २ अन्तर्गत २ लाख ६३ हजार हेक्टर अर्थात देशको जम्मा ४.३६ प्रतिशत वन क्षेत्र रहेको छ । यस प्रदेशको मौजुदा जनसंख्या ५४ लाख ४ हजार १ सय ४५ रहेको छ । वनक्षेत्र र जनसंख्याको तुलना गर्दा प्राकृतिक स्रोत एकदम न्यून रहेको देखिन्छ । प्रदेशको उत्तरतिर रहेको चुरे र त्यहाँको वन नै दक्षिणको उर्वर भूमिको प्रमुख आधार पनि हो । प्रदेश समृद्धिका लागि चुरे अवसर र चुनौती दुवै हो । चुरे संंरक्षण गर्न सके यो प्रदेश प्राकृतिक स्रोतको धनी प्रदेश हुनेछ । व्यवस्थापन गर्न सकिएन भने ठूलो अभिशाप हुनेछ । यस प्रदेशमा निरन्तर वन विनाश र त्यसबाट सिर्जित घट्दो पर्यावरणीय सेवाका कारण कृषि क्षेत्रको उत्पादकत्वमा समेत प्रतिकूल असर परेको छ ।


बढ्दो सुक्खापन, बाढी र यसले थुपारेको बालुवाका कारण मरुभूमिको सम्भावना देखिँदैन । नदी कटान, भूक्षय, बाढीपहिरोको प्रकोप निरन्तर रूपले बढिरहेको छ । यसबाट विकासका लागि खडा गरिएको संरचनाहरूको स्थायित्व र दिगोपन कायम हुन सक्ने अवस्था छैन ।


‘घाँसपात, काठदाउरा, सफा पानी र सुन्दर हरियालीसहितको जीवनयापन हाम्रा लागि ठूलो चुनौतीको विषय बनेको छ,’ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका उपसचिव बलिराम पण्डितले भने, ‘सबैमा चेतना फैल्याउने हो भने अभियानकै रूपमा वनजंगलको विकास र संरक्षणले प्रकृति तथा यसका लाभहरूको पुन:प्राप्ति धेरै हदसम्म फिर्ता हुनसक्छ ।’ वन्यजन्तु र चराचुंरुगीको बासस्थान फेरि सिर्जना गर्न सकिने उनले सुनाए ।


हरित प्रदेश अभियानले प्राकृतिक स्रोतको आपूर्ति र जलवायु परिवर्तन लगायतका समस्याहरूसँग जुध्न सहयोग पुग्ने अपेक्षा गरिएको उपसचिव पण्डितको भनाइ छ । डिभिजन वन कार्यालय प्रमुख दीर्घनारायण कोइरालाका अनुसार ‘हरित प्रदेश अभियान’ कै क्रममा रौतहटमा १ हेक्टर जमिनमा एकै दिनमा ८ हजार बिरुवा रोपिएको छ । ‘यसको संरक्षणमा सबै लाग्नुपर्छ,’ उनले भने,‘अभियान सफल भयो भने प्रदेशको समृद्धिले सार्थकता पाउँछ ।’


मन्त्रालयका फरेस्ट अफिसर ज्ञानकुमार साह लगायतका टिमले अभियानका लागि रौतहट आई पूर्वतयारी गरेका थिए । अभियान सफल पार्न स्थानीय प्रशासन प्रमुख, सुरक्षा अधिकारी, राजनीतिक दलका नेता तथा स्थानीयको ठूलो उपस्थिति रहेको थियो ।

प्रकाशित : आश्विन १३, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?