१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हिले सडकमा खाडल

शिव पुरी

रौतहट — यहाँका स्थानीय तहले गएको आर्थिक वर्षमा आफ्नो नगर क्षेत्रभित्र ठूलो रकम खर्चेर भित्री सडकमा कालोपत्रे र पीसीसी ढलान गरे । तर लामो दूरीका सडकहरूमा भने खाडल र हिलाम्मे छन् । यसले स्थानीयलाई आवतजावतमा समस्या छ ।

हिले सडकमा खाडल

मर्मत तथा सुधारको शीर्षकका करोडौं रकम खर्च गरे पनि त्यस्ता सडकमा सुधार आउन सकेको छैन ।

मौलापुरबाट देवाही आउने सडकमा खाडल र हिलाम्मे हुँदा आइतबार दिनभर त्यस क्षेत्रमा मानिसको आवागमन कष्टकर बनेको थियो । त्यस क्षेत्रका भित्री सडक भने कालोपत्रे र पीसीसी ढलान गरिएको छ । अधिकांश जनप्रतिनिधिले छोटो दूरीकालाई प्राथमिकतामा राखेपछि लामो दूरीका सडक ओझेलमा परेका हुन् । यस्ता सडकहरू वर्षौंदेखि चल्तीमा छन् । समान्य वर्षामा पनि सडक ठूला खाल्टाखुल्टी र हिलाम्मे हुन्छन् । यसले यात्रुले सास्ती भोग्दै आएका छन् ।


फतुवा विजयपुर नगरपालिकाको विजयपुरदेखि लक्ष्मनियासम्मको सडक लामो समयदेखि जीर्ण छ । करिब १० मिलोमिटर सडकमा बस तथा साना चारपांग्रे सवारी आवतजावतमा यात्रुले ठूलो जोखिम उठाउनुपर्छ । गुजरा नगरपालिकाको सिम्राभवानीपुरदेखि जगलसैयासम्मको करिब ८ किलोमिटर बाटोको हालत उस्तै छ । गरुडाबाट समनपुर जाने मुख्य चोक नजिकैका ठूला खाडलहरू पुरिएका छैनन् ।


मुख्य बजार क्षेत्रको बाटो खाडल परेको छ । त्यहीँ पानी जमेर मानिसलाई समस्या हुँदै आएको छ । यसले पैदलयात्रु, अटोरिक्सा, मोटरसाइकल साथै ठूला सवारीलाई समस्या भएको गरूडाका समाजसेवी धर्मनाथ जयसवालले बताए । ‘विकास भनिएको छ । तर ठूला चल्तीका सडकको अवस्था उस्तै छ,’ उनले भने, ‘यसको मर्मत सम्भार तथा निर्माणमा नगरपालिकाले ध्यान दिनुपर्छ ।’


ठूलाठूला खाल्टो र हिलाम्मे भएकाले जिल्लाको भित्री सडकमा गाडी चलाउन समस्या छ । चन्द्रनिगाहपुरबाट रंगपुरको मैढा जाने बाटोको अवस्था पनि उस्तै छ । स्थानीय तहका भित्री बाटोहरूको अवस्था नाजुक रहेको स्थानीयवासी बताउँछन् । बाटो बिग्रिएको र हिलाम्मे भएका कारण एम्बुलेन्सहरू समेत आवतजावतमा समस्या हुने गरेको छ ।

सिम्राभवानीपुरदेखि जंगलसैया सम्मको बाटोमा साना ठूला गाडी चल्न सक्ने अवस्थामा नरहेको गुजरा नगरपालिका लक्ष्मीपुरटोलका नथुनी माझीले बताए । बाटोका कारण गाउँमा उत्पादन भएका कृषि उपजका वस्तु बजारसम्म लैजान कठिन हुँदै आएको किसानको गुनासो छ । गएको आर्थिक वर्षमा निर्माण भएका अधिकांश नयाँ सडकमा माटो भरेकाले समान्य वर्षामा पनि हिलाम्मे हुँदा आवतजावतमा कठिनाइ बेहोर्नुपरेको छ ।


यसवर्षको बाढीले केही स्थानमा भत्काएको सडक समेत मर्मत हुन सकेको छैन । कटहरियाबाट विजयपुर बजार जाने बहादुरपुलको दुवैतर्फ खाडल परेको छ । देवाही गोनाही र मौलापुर जोड्ने पुलको पश्चिमतर्फको भाग लालबकैया नदिले क्षति पुर्‍याएको छ । औरया हुँदै टिकुलियाघाट आउने बाँधको सडक हिलोले मोटरसाइकल, साइकल चलाउन समेत कठिन छ । देवाहीबाट धरहरी जाने बाटो जीर्ण छ ।


कटहरियाबाट कर्कचकर्मैया, टिकुलिया , बिर्ती, डुमरिया जाने सडक समेत ठाउँ/ठाउँमा भत्किएको छ । चन्द्रपुर नगरपालिकाको ६ नम्बर वडाको बाटोमा खाडल बनाएर छाडेको एक महिना बढी भइसकेको छ । गुजरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले यस वर्ष धेरैजसो जीर्ण सडक बनाइसक्ने बताए ।


‘एक वर्ष योजना र विभिन्न विकासे काममै समय बित्यो,’ उनले भने, ‘चालु आर्थिक वर्षमा धेरै जसो सडक मर्मत र कालोपत्रे हुन्छ । त्यसपछि जनताले सास्ती भोग्नु पर्दैन ।’ यहाँ १६ नगरपालीका र २ गाउँपालिका छन । उनीहरूले गएको आर्थिक वर्षमा झण्डै ३० करोड रकम सडकमै खर्चेका जिल्ला समन्वय समितिले जनायो । तर सडकको अवस्था भने सुधार हुन सकेको छैन ।

प्रकाशित : भाद्र २६, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?