कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भन्सार प्रज्ञापन र बिलबिजक गायब

भूषण यादब

वीरगन्ज — भन्सार राजस्व छली आशंकामा चितवन प्रहरीले नियन्त्रणमा लिएको ट्रक चेकजाँचपछि अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालय पठाउँदा भन्सार प्रज्ञापनपत्र र बिलविजक नै गायब गरेको पाइएको छ ।

भन्सार प्रज्ञापन र बिलबिजक गायब

आइतबार बिहान भरतपुरको टिकौलीबाट ना३ख ४३५९ नम्बरको मालवाहक ट्रक चितवन प्रहरीले नियन्त्रणमा लिएको थियो । चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार प्रहरीले आइतबार अपराह्न ट्रकको सामान चेकजाँच गरेको थियो ।

बिलविजकबमोजिम अदत भेटिएपछि न्यून विजकीकरणको आशंकामा उक्त ट्रक थप अनुसन्धानका लागि सोमबार भन्सार कार्यालय पठाएको एसपी राठौरले बताए ।

सोमबार वीरगन्ज भन्सार कार्यालय पुग्दापुग्दै ढिलो भएपछि भन्सार मुद्दा शाखाले प्रतिवेदन लिएन । मंगलबार बिहान न्यून विजकीकरणको अनुसन्धान आफ्नो क्षेत्राधिकारबाहिर रहेको भन्दै चितवन प्रहरीले बुझाएको प्रतिवेदन फिर्ता गरेको थियो ।

प्रहरीले भन्सारलाई बुझाउन तयार पारेको प्रतिवेदनमा ट्रकमा लोड भएको सामानको बिलविजक उल्लेख नगरेको साझा ट्रान्सपोर्टका प्रतिनिधि मुकेश साहले बताए ।

‘१६ वटा बिलविजकको जिरा, मेथी, बेसार, औषधि र भन्सार प्रज्ञापनमा पास भएको कपडा उक्त ट्रकमा लोड थियो,’ साहले भने, ‘शनिबार वीगन्जबाट जाने क्रममा बाराको पथलैयास्थित राजस्व कार्यालयमा समेत सबै बिलविजकको फोटोकपी दिएका छौँ ।’

उनका अनुसार राजस्व कार्यालयमा दुई दिनअगाडि बुझाएको बिलविजकहरूको सामान कसरी बेवारिसे हुन्छ । ‘प्रत्येक मालवाहक ट्रकले त्रिभुवन राजमार्गमै रहेको राजस्व कार्यालयको चेकप्वाइन्टमा बिलविजकको फोटोकोपी बुझाउनैपर्छ,’ उनले भने, ‘बिलविजक नबुझाई ट्रक अगाडि बढ्दैन ।’

राजस्वका कर्मचारीले प्रहरीले क्षेत्राधिकार मिचेर मालवाहक ट्रक चेकजाँच गरेको आरोप लगाएका छन् । ‘चोरी पैठारी, न्यून विजकीकरणलगायत भन्सार छलीको अनुसन्धान गर्ने निकाय भनेको राजस्व अनुसन्धान विभाग र भन्सार कार्यालय हो,’ राजस्व विभागका ती अधिकृत भन्छन्, ‘पछिल्लो समय प्रहरीको मनोमानी बढेको छ, एक त क्षेत्राधिकार मिचे, त्यसमाथि बिलविजक गायब पारे ।’ एसपी राठौरले विशेष सुराकीका आधारमा चेकजाँच गरिएको बताए ।

भन्सार कार्यालयलाई बुझाउन आएको उक्त ट्रकको प्रतिवेदनमा बिलविजकलगायत कागजातबारे उल्लेख नभएको प्रश्नमा चितवनका एसपी राठौरले कान्तिपुरसँग फोनमा भने, ‘उक्त ट्रक चेकजाँच गर्दा बिलविजक थियो, कता गएछ बुझ्दै छु ।’

स्रोतका अनुसार प्रदेश ३ प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक बुद्धि चौधरीलाई आएको सूचनाका आधारमा चितवन प्रहरीले उक्त ट्रक नियन्त्रणमा लिएको थियो । ‘ट्रक नियन्त्रणमा लिएपछि सई साहेबले ट्रान्सपोर्ट साहुसँग कुरा गराउन भने,’ ट्रक चालक आलम भन्छन् । सई चौधरीले पनि सामान चेकजाँच गर्दा बिलविजक रहेको स्विकार्छन् । ‘चेकजाँच गर्दा बिलविजकबमोजिम अदत घटबढ नपाएपछि लोड गराएर म फर्किएँ,’ फोनमा सई चौधरीले भने, ‘प्रतिवेदन त मुद्दा फाँटले तयार पार्ने हो ।’ ट्रान्सपोर्ट व्यवसायीले प्रतिवेदनमा बिलविजक नबुझाएर प्रहरीले मनोमानी गरेको गुनासो गरेका छन् ।

गाडी बुझाउन प्रतिवेदन परिवर्तन
अनुसन्धानका लागि वीरगन्ज ल्याएको ट्रकलाई वीरगन्ज भन्सार कार्यालयले बुझ्न नमानेपछि चितवन प्रहरीले तत्काल प्रतिवेदन परिवर्तन गरेको पाइएको छ ।

भन्सार स्रोतका अनुसार प्रहरी सहायक निरीक्षक शैलेन्द्र साहले भन्सार मुद्दा शाखालाई मंगलबार बिहान बुझाएको प्रतिवेदनमा ना३ख ४३५९ नम्बरको ट्रकमा लोड भएको सामानमा न्यून बिजकीकरणका सामान लोड भएको सूचना आएकाले थप अनुसन्धानका लागि भन्सार कार्यालय बुझाउन लागिएको उल्लेख थियो ।

भन्सार प्रमुख श्याम भण्डारीले न्यून विजकीकरण भन्सारको क्षेत्राधिकारबाहिर भएकाले अनुसन्धान गर्न नमिल्ने बताएपछि प्रतिवेदन फिर्ता गरिएको मुद्दा फाँटका नागेन्द्र यादवले जनाए ।

भन्सारले प्रतिवेदन नलिएपछि असई साहले तत्काल एसपी राठौरलाई जानकारी गराएका थिए । सम्बद्ध स्रोतका अनुसार त्यसपछि एसपी र चितवनका सीडीओले भन्सार प्रमुखलाई फोन गरी ट्रक बुझिलिन आग्रह गरेका थिए ।

साँझ करिब ४ बजेको समयमा चितवन प्रहरीले ना३ख ४३५१ नम्बरको ट्रक बेवारिसे अवस्थामा फेला परेको र उक्त ट्रकमा चोरी पैठारीको सामान भएको प्रतिवेदन तयार गरी मुद्दा फाँटमा बुझायो । भन्सार प्रमुख भण्डारीले प्रहरीले नियन्त्रणमा लिइसकेपछि अनुसन्धान गर्ने निकायमा ट्रक बुझाएको बताउँछन् । ‘प्रक्रियामा गएपछि हकदाबीको सूचना जारी हुन्छ,’ उनले भने, ‘व्यापारीले बिलविजकअनुसार दाबी हाल्न सक्छन् ।’ ट्रक बुझिलिन चितवनका सीडीओसमेतले फोन गरेको उनले खुलाए ।

ट्रक नियन्त्रणमा लिएपछि बिलविजककै अनुसार सामान चेकजाँच गरेको प्रहरीले भन्सारमा बुझाउँदा बिलविजकबारे उल्लेख नै नगरेकामा व्यापारीले असन्तुष्टि पोखेका छन् । ‘अनुसन्धानमा कर छली भेटिएको भए दण्डजरिवाना तिर्न तयार छौँ,’ ट्रकमा सामान लोड भएका एक व्यापारीले भने ।

प्रकाशित : भाद्र २१, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?