१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रदेशसभामा गर्जिए महिला सांसद

जनकपुर — महिला सांसदले महिलालक्षित हिंसा र अपराध दिनदिनै बढेको भन्दै त्यसलाई रोक्न लिंगछेदनसम्मको सजाय तोक्नुपर्ने माग गरेका छन् ।

प्रदेशसभामा गर्जिए महिला सांसद

बलात्कार र हत्या र घरेलु हिंसाको क्रम बढेको र त्यसलाई रोक्न प्रदेश सरकार असफल भएको आरोप लगाउँदै शुक्रबार बसेको प्रदेशसभाको बैठकमा महिला सांसदहरूले बलात्कारीलाई कठोर सजायको व्यवस्था गर्न माग गरे । उनीहरूले बलात्कारीको लिङछेदन र नपंशुसक बनाएर आजिवान कारावासको व्यवस्था गर्न माग पनि गरे ।

प्रदेशसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्ने सांसदमध्ये अधिकांश महिला नै थिए । सत्तापक्ष र विपक्षी दलका करिब ८ जना महिला सांसदले महिलालक्षित अपराध रोक्न कडा कानुन ल्याउनुपर्ने आग्रह गरे । ‘प्रदेश २ मा बलात्कारको घटना अचाक्कली बढेको छ । महिलालाई सुरक्षित राख्न बलात्कारीको यौन अंग काट्नुपर्छ,’ कांग्रेसकी सांसद शोभा लामाले भनिन्, ‘बलात्कारीलाई समाजमै नग्याउनुपर्छ ।’

सांसद लामाले प्रदेश २ मा आपराधिक क्रियाकलाप बढे पनि सरकारले रोक्न पहल नगरेको आरोप लगाइन् । नेकपाकी सांसद रुवीकुमारी कर्णले महिला हिंसामा संलग्नलाई नपंशुक बनाउनुपर्ने माग गरिन् । उनले पछिल्लो समय महोत्तरी र सप्तरीमा बलात्कारको घटना बढेको भन्दै प्रदेश सरकारलाई यस्ता घटनामा गम्भीर हुन माग गरिन् ।

कांग्रेसकै अर्की सांसद प्रमिलादेवी दासले महोत्तरीको औरहीमा ९ महिनाको शिशुको अपहरणपछि भएको हत्याको घटनामा करणी गरेको पनि सुनिएको बताउँदै यस्ता कुकर्म गर्ने अपराधिलाई हदैसम्मको कारबाही माग गरे ।

प्रदेशसभाका सांसद गीताकुमारी यादवले लागूऔषध, रक्सी र समाजमा मौलाएको नशा सेवन संस्कृतिले प्रदेश २ मा महिलालक्षित हिंसा बढेको बताइन् । उनले प्रदेश २ मा महिला हिंसाको घटना रोक्न पनि रक्सी र लागूऔषधमा प्रतिबन्ध लगाउनुपर्ने माग गरिन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) की सांसद सुरिता साहले प्रदेश २ को सबै जिल्ला भारतीय सीमासँग जोडिएकाले निर्वाद रूपमा भित्रिने लागूऔषधले समाजका युवालाई कुलतमा फसाएको बताइन् । उनले त्यही कुलतका कारण समाजमा यौनहिंसाको घटनामा वृद्धि भएको बताइन् ।

राजपाका अर्का सांसद मनीष सुमन र परमेश्वर साहले पनि प्रदेश २ मा बलात्कार र महिला हिंसाको घटनामा वृद्धि भएको बताउँदै त्यसलाई रोक्न कडा सजायको व्यवस्था गर्न माग गरे । प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश २ मा शान्तिसुरक्षा कायम गर्न र सुशासन ल्याउन सरकार क्रियाशील रहेको बताए । उनले महोत्तरीको औरहीमा भएको घटनाले सबैलाई लज्जित बनाएको बताउँदै त्यस घटनाका आरोपी केही दिनमै पक्राउ पर्ने दाबी गरे ।

बजेटमै विभेद
प्रदेश २ को सरकारले असार १ गते ल्याएको बजेट र रातो किताबमा समेटिएको योजनामा विभेद गरिएको सांसदले आरोप लगाएका छन् । बजेटमा समेटिएका कतिपय योजना रातो किताबमा उल्लेख नगरेको र संशोधन गरिने योजना पनि समेटिएकोमा उनीहरूले आपत्ति जनाए ।

राजपाका सांसद मनिष सुमनले विश्व स्वास्थ्य संगठनले उन्मुलन भइसकेको दाबी गरेको औलो रोग नियन्त्रणका लागि ५ करोड रुपैयाँ विनियोजना गरेको रातो कितावमा उल्लेख गरेकोमा आपत्ति जनाए । ‘विश्वबाटै उन्मुलन भइसकेको औलो रोग नियन्त्रणका लागि प्रदेश २ मा किन खर्चिनु पर्‍यो ५ करोड रुपैयाँ ?’ सांसद सुमनले प्रश्न गरे, ‘रातो कितावबाट यो योजना हटाउनुपर्छ ।’

बजेटमा सामाजिक विकास मन्त्रालयबाट खर्च हुने गरी औलो रोग नियन्त्रणका लागि सुपानेट झुल वितरणका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । सांसदहरूको तीव्र विरोधपछि आर्थिक मामिला मन्त्री विजय यादवले बजेटबाट त्यो योजना हटाउने आश्वासन दिएका थिए । सांसद सुमनले आर्थिक मामिलामन्त्रीले बजेटबाट हटाउने आश्वासन दिए पनि रातो कितावमा उक्त योजना समेटिएकोमा सरकारको आलोचना गरे ।

नेकपाकी सांसद ज्वालाकुमारी साहले जनतासँग सोधेर र छलफल गरेर संकलन गरिएको धेरैजसो योजना रातो कितावबाट गायब गरिएको आरोप लगाइन् । ‘मैले हालेको योजना रातो कितावबाट हटाइएको छ,’ सत्तापक्ष संघीय समाजवादी फोरमकी सांसद शन्चमाया मोक्तानले भनिन्, ‘रातो कितावलाई सच्याएर छुटेको योजना समेटनुपर्छ ।’ फोरमका सांसद बच्चा राउतले सरकारले ल्याएका नीति तथा योजना कार्यान्वयन नगरेको आरोप लगाए ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?