१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

संहिता गाउँगाउँमा लगिने

भरत जर्घामगर

सिरहा — शुक्रबारदेखि कार्यान्वयनमा आएको संहितासम्बन्धी कानुनलाई प्रचारप्रसार गरी गाउँगाउँमा पुर्‍याउने सरोकारवाला निकायले बताएका छन् ।

संहिता गाउँगाउँमा लगिने

सिरहा जिल्ला अदालत तथा सरकारी वकिलको कार्यालयद्वारा सदरमुकाम सिरहामा आयोजित मुलुकी देवानी तथा फौजदारी (संहिता) ऐन २०७४ को शुभारम्भ कार्यक्रममा सहभागी न्यायाधीश तथा सरोकारवाला निकायले यस्तो बताएका हुन् ।

कार्यक्रममा जिल्ला न्यायाधीश देवेन्द्र पौडेलले नयाँ कानुन कार्यान्वयनमा ल्याउन स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुने भएकाले गाउँका जनतालाई यसबारेमा जानकारी गराउन स्थानीय तहले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरे ।

जन्मदेखि मृत्युसम्मको विषयलाई संहिताले समेटेको उल्लेख गर्दै उनले यसले व्यक्ति व्यक्तिको हितलाई समेटेको तर्क गरे । १ सय ६५ वर्ष पुरानो मुलुकी ऐनलाई विस्थापित गरेर ल्याइएको नयाँ कानुन कार्यान्वयनका क्रममा केही जटिलता आए पनि प्रचारप्रसारको माध्यमले यसलाई सजिलो र सहज बनाउन सकिने उनको तर्क थियो ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले अहिलेको संहितामा विश्वको लोकतान्त्रिक तथा विकसित मुलुकले अपनाएको कानुनी प्रावधानलाई समावेश भएको उल्लेख गर्दै नबुझिएका कानुनी प्रावधानलाई अभ्यासबाटै बुझ्न सकिने बनाउनुपर्ने आैंल्याए । छाडा र अमर्यादित तवरले गरिने कुनै पनि कार्यलाई यो संहिताले निषेध र नियन्त्रित गरेको उल्लेख गर्दै प्रजिअ पण्डितले विगतमा विभिन्न जिम्मेवार निकायले विवेकशील नभई कार्य गर्दा व्यक्ति र संस्थाकै प्रतिष्ठामा आँच पुर्‍याएको देखिएकाले अब त्यस्ता छाडा प्रवृत्तिलाई यो संहिताले रोक्ने जिकिर गरे ।

जिल्ला सरकारी वकिल कार्यालय सिरहाका जिल्ला न्यायाधिवक्ता जुद्धबहादुर आलेले यो संहिताले सरकारी कार्यालयहरूलाई पनि जिम्मेवार बनाएको उल्लेख गर्दै कुनै कर्मचारीले जानीजानी वा बदनियत राखेर कुनै सेवाग्राहीलाई दु:ख दिने कार्य गरे उसलाई समेत यो संहिताले दण्डको भागिदार बनाउने बताए ।

नेपाल बार एसोसिएसन सिरहाका अध्यक्ष रामस्वरूप चौधरीले संहिताबारे अधिकांश कानुन व्यवसायीहरू नै जानकार नरहेकाले अभ्यासकै क्रममा कानुन व्यवसायीलाई यससम्बन्धी तालिम दिनुपर्ने औंल्याए ।

प्रकाशित : भाद्र ३, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?