१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्थानीय तहको बेथिति: भ्रष्टाचारको अर्को रूप

कर्मचारीको मिलेमतोमा ५ लाख खर्च
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षलाई थाहै छैन
भुक्तानीको एक महिनापछि काम
भूषण यादव

वीरगन्ज — पर्साको विन्दवासनी गाउँपालिकाको बहुअर्वा माविको परिसरमा सोमबार केही शिक्षक र विद्यार्थीलाई जम्मा गरी हाजिरीजवाफको समापन तस्बिर लिइँदै थियो । असार मसान्तमै भुक्तानी भइसकेको कार्यक्रम एक महिनापछि समापन हुँदै थियो ।

स्थानीय तहको बेथिति: भ्रष्टाचारको अर्को रूप

प्रतियोगिताका लागि ५ लाख छुट्याएको भए पनि कार्यक्रमको नाम र विषय अंकित ब्यानेर कतै देखिएन । हाजिरी जवाफका लागि कर्मचारी, शिक्षक र विद्यार्थी गरी करिब तीन दर्जनको उपस्थिति थियो । गाउँपालिका स्रोतका अनुसार उक्त हाजिरी जवाफका लागि असार मसान्तमै चेक काटिसकिएको छ ।


‘कार्यक्रम सम्पन्न भएको टिप्पणी उठाई असारमै चेक काटिसकेका छन्,’ बहुअर्वाका विन्देश्वर चौरसिया भन्छन्, ‘अहिले त औपचारिकता मात्र पूरा गर्दै छन् ।’ विन्दवासनी गाउँपालिका २ का अध्यक्ष संजयप्रसाद चौहान र सचिव राकेश साहको संयोजनमा कार्यक्रम भएको थियो । सम्बद्ध स्रोतका अनुसार हाजिरी जवाफ प्रतियोगिताका लागि कार्यकारी अधिकृत राज कुशवाहाले आन्तरिक सहमित दिएका थिए । तर, कार्यकारी अधिकृत कुशवाहाले यसबारे केही थाहा नभएको दाबी गर्दै साउन १५ मै आफ्नो सरुवा भइसकेको बताए ।


सरुवा भए पनि कार्यकारी अधिकृतले हालसम्म रवाना नबुझेको स्रोतको दाबी छ । गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख रामप्रवेश साहले हाजिरी प्रतियोगिता असार मसान्तभित्रै सम्पन्न गर्नुपर्ने बताउँछन् । हाजिरी जवाफ प्रतियोगिताबारे आफूलाई पनि खासै जानकारी नभएको उनले बताए । गाउँपालिका अध्यक्ष श्रीलाल मोदी हाल भारतमा रहेको मौका छोपी कर्मचारीले अनियमितता गरेको स्थानीयको आरोप छ ।


जिल्लाको स्थानीय तहमा एकपछि अर्को भ्रष्टाचार उजागर हुन थालेपछि सर्वसाधारण सशंकित भएका छन् ।


एउटै कित्ताको दुईपटक सिफारिस
वीरगन्ज महानगरपालिका १६ का वडा अध्यक्ष श्यामबाबु चौरसियाले एउटै कित्ताको जग्गाको दुईपटक घर बाटो प्रमाणित गरेका छन् । घरबाटो प्रमाणित गर्दा जग्गाको मूल्यांकन कम हुने गरी सिफारिस गरेकाले वडा अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा गत शुक्रबार उजुरी परेको छ । अख्तियार दुरुपयोग गरी राज्यलाई घाटा पुर्‍याएको भन्दै प्रमाणसहित उजुरी परेको हो ।

वडा नम्बर १६ इनरुवा निवासी जहरती मियाँ धुनियाँले कित्ता नम्बर ३२८ मा रहेको २ कको ३ धुर ८ कनवा जग्गाको घरबाटो प्रमाणित गरी पाउँ भनेर २०७४ चैत १३ गते वडा समितिको कार्यालयमा निवेदन दिएकी थिइन् । निवेदनमा २८ फिटको पिच बाटो भएको उल्लेख छ । वडा समितिले त्यति बेला वीरगञ्ज महानगरपालिका कार्यालयबाट प्राविधिक झिकाई घरबाटो प्रमाणित गरी सिफारिस दिएको थियो ।


सिफारिसमा २८ फिटको पिच बाटोसँग जोडिएको खाली जग्गा उल्लेख गरिएको छ । पिच बाटोसँग जोडिएको जमिनको सरकारी मूल्यांकन ६० लाख प्रतिकठ्ठा छ । यही दरमा जग्गा नामसारी हुँदा जग्गा रजिष्ट्रेसन दस्तुर धेरै लाग्ने भएपछि जग्गाधनीसँगको मिलेमतोमा वडाध्यक्ष चौरसियाले अर्को सिफारिस गरेको पाइएको छ । चौरसियाले आफैंले पहिला दिएको सिफारिसलाई उल्टाउँदै पुन: त्यही जग्गामा १५ फिटको ग्राभेल बाटो रहेको भन्दै २०७४ चैत १६ गते घरबाटो प्रमाणित गरी सिफारिस गरिदिएका छन् ।


प्रतिकट्ठा ६० लाख मूल्यांकन गरेको उक्त जग्गा १४ लाख प्रतिकठठा मूल्यांकनमा पुग्यो । महानगरको प्राविधिकको सिफारिसबिनै उनले दोस्रो मूल्यांकन गरेका छन् । १ करोड ३० लाख ५० हजार सरकारी मूल्यांकन रहेको जग्गा वडाध्यक्षको दोस्रो सिफारिसका कारण ३० लाख ४५ हजारमा पुग्यो । त्यसपछि जहरती मियाँ धुनियाले मालपोत कार्यालय पर्सामा २०७४ चैत १९ गते रजिष्ट्रर नम्बर ४६७६ (क) मा स्थानीय व्यान्ती देवीको नाममा राजीनामा लेखाई उक्त जग्गा पास गरिन् ।

प्रकाशित : श्रावण ३०, २०७५ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?