निकुञ्जकर्मी र हात्ती पुन:स्थापना भएनन्

शंकर आचार्य

पर्सा — जंगली हात्तीको आक्रमणबाट जोगाउन वैशाखको पहिलो साता अमलेखगन्ज ल्याइएका पर्सा राष्ट्रिय निकुञ्ज रामभौरीभाठा पोस्टका कर्मचारी र ३ हात्ती अझै पुन:स्थापना हुन सकेका छैनन् ।

निकुञ्जकर्मी र हात्ती पुन:स्थापना भएनन्

चैतको अन्त्य र वैशाखको पहिलो साता जंगली मत्ताले ३ जनाको ज्यान लिएपछि निकुञ्जकर्मी र त्यहाँ पालिएका हात्ती पनि जोखिममा परेका थिए ।

घटनाअघि करिब १ महिनादेखि पोस्ट वरपरका क्षेत्रमा चर्न आउने र साँझपख पोस्टमै प्रवेश गरेर ढोईसँग संसर्गको प्रयास गरेको मत्ताले भण्डारण गरिएको रासन खाने प्रयास पनि गर्दै आएको थियो ।

भाठा मन्दिरमा लाग्ने वैशाखी मेला भर्न आउने दर्शनार्थी र व्यापारीका कारण बिच्किएको हात्तीले एक साताभित्र ३ जनाको ज्यान लिएको थियो । हिंस्रक बनेको उक्त हात्तीले निकुञ्जका हात्ती तथा कर्मचारीको पनि ज्यान लिन सक्ने भन्दै सबैलाई त्यहाँबाट स्थानान्तरण गरी अमलेखगन्ज हात्तीसारमा ल्याइएको थियो ।

निकुञ्जका सूचना अधिकृत अशोक रामका अनुसार रामभौरीभाठा पोस्टबाट कर्मचारी फिर्ता आएपछि जंगली हात्तीले कर्मचारीको आवास क्षतिग्रस्त बनाएको छ । उक्त हात्ती अझै पनि त्यहाँ आउने सम्भावना कायमै छ । कर्मचारी बस्ने राम्रो व्यवस्था नभएसम्म हात्ती र कर्मचारी दुवैलाई पुन:स्थापना गर्ने अवस्था नरहेको उनले बताए ।

नयाँ आवको बजेटबाट भवन पुनर्निर्माण गर्ने वा सुवर्णपुरमा पोस्टलाई स्थानान्तरण गर्ने भन्ने बारे आवश्यक गृहकार्य भइरहेको उनले बताए । ‘रामभौरीभाठामा पोस्ट पुन:स्थापना गरे त्यहाँ सधैं हात्तीको जोखिम रहिरहन्छ तर सुवर्णपुरमा नयाँ पोस्ट निर्माण गरेर भाठाका हात्ती र कर्मचारी समेतलाई राख्दा निकुञ्जको सुवर्णपुर र सोनवर्षा क्षेत्रसम्म गस्ती सम्भव छ,’ उनले भने, ‘यस सम्बन्धमा आवश्यक निर्णय भइसकेको छैन, हामी गृहकार्यमै छौं ।’

निकुञ्जका पोस्टमा एक हात्ती बराबर ३ जना कर्मचारी (एक जना माउते, पछुवा र फनैत) र उनीहरूको प्रमुख एक जना दरोगाको दरबन्दी हुने गर्छ । रामभौरीभाठा पोस्टमा यसरी १० जना निकुञ्जकर्मी परिचालन छन् ।

प्रकाशित : श्रावण २९, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?