कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

काभ्रेपानीमा भक्तजनको घुइँचो

भरत जर्घामगर

सिरहा — लहान नगरपालिका १६ स्थित रमणीय चुरेको फेदीमा अवस्थित काभ्रे कप्लेश्वर महादेवस्थानमा साउनको अन्तिम सोमबार जल चढाउने भक्तजनको घुइँचो लागेको छ ।

काभ्रेपानीमा भक्तजनको घुइँचो

धार्मिक पर्यटनका लागि आगन्तुकहरू बाह्रैमास घुम्न आइरहने यस धार्मिक स्थलमा साउन महिनाभर गेरुवस्त्रधारी धर्मावलम्वीको घुइँचो लाग्यो । साउनको अन्तिम सोमबार महादेवस्थानमा जल चढाउनेको घुइँचो लागेको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानदेखि करिब १२ किलोमिटर उतर चुरे जंगलको फेदीमा अवस्थित महादेव स्थानमा विशेष गरी साउन महिनाभर भक्तजन र आगन्तुकको घुइँचो बढी हुन्छ । तरेगनाबाट उकालो पैदल यात्राबाट पुगिने काभ्रेपानी महादेव स्थानमा चुरे क्षेत्रमा हराउँदै गएका वनस्पतिका रूख भएको रमणीय वन क्षेत्रको अवलोकन गर्न र मनोरञ्जन लिन आगन्तुकहरूको आगमन हुने गरेको छ । चुरे क्षेत्रको झन्डै चार घण्टाको पैदल यात्रापछि नोकर–मालिक, धनी–गरिब तथा छुवाछूत यी सवै प्रकारको भेदभाव मेटिने धर्मावलम्वीहरू बताउँछन् ।

उनले कतिपय आगन्तुक र भक्तजन भाकल गरेअनुरूप बोलबम भन्दै कावर यात्रामै सहभागी हुने गरेको सुनाए । सन्तान नहुनेहरू सन्तान प्राप्तिका लागि, रोगव्याधी निकोलगायत मनोकांक्षा पूरा भएपछि भक्तजनहरूले साउन महिनाभर सुनचाँदीको गहना, चॉदीको पैसा, त्रिशूल, लडडु र कसैले मन्दिर परिसरमा सन्तानको कपाल काट्ने गर्छन् ।

सिरहा, सप्तरी, धनुषा, महोतरी र भारतका विहार प्रदेशबाट समेत आउने भक्तजनहरूले उत्तरायणी भएर बहेको खुट्टी खोलाबाट जल भरेर लग्ने गर्छन् । स्थानीय गोपाल थापाका अनुसार काभ्रे कप्लेश्वर महादेव स्थान घुम्न बाह्रैमास आगन्तुकहरू आइरहे पनि पर्यटकीय स्थलका लागि भौतिक सुविधाहरू पर्याप्त नभएको सुनाए ।

‘साउन महिनामा आगन्तुकहरूको चापलाई व्यवस्थित गर्न समस्या हुन्छ,’ उनले भने, ‘व्यवस्थित धर्मशालाको अभावमा आगन्तुकहरू मन्दिर क्षेत्रको रमणियतामा बस्ने चाहाना गरे पनि त्यो सुविधा दिन सकिएको छैन ।’ धार्मिक पर्यटन प्रवद्र्धनका लागि होमस्टेको पर्याप्त सम्भावना रहेकाले यसतर्फ योजना बनाएर अघि बढ्ने तयारी गरिएको छ ।

‘होमस्टेको पूर्वाधार तयारी भएको भए मगर समुदायको घना बस्ती रहेको यस क्षेत्रमा मगर संस्कृति, भेषभूषा, नाचगान, खानपानको आगन्तुकहरूले भरपुर मजा लिनसक्थे,’ उनले भने, ‘तर, सरोकारवालाको वेवास्ताको कारण यो क्षेत्र उपेक्षित हुनपुगेको छ, यद्यपि यसक्षेत्रका बासिन्दा लागि परेका छौं ।’

गेरुवस्त्रमय शिवालय
साउनको अन्तिम सोमबार सिरहाका विभिन्न शिवालयहरूमा जल चढाउने भक्तजनहरूको भीड लागेको छ । जिल्लाको बन्दीपुर, सारश्वर, सिरहा, लहान, गोलवजार लगायतका महादेव स्थलहरूमा सोमबार बिहानैदेखि भीड लागेको छ । आइतबार बिहानदेखि बन्दीपुर र काभ्रे पुगेका भक्तजनहरू रातभरि पैदल यात्रा गरी सोमबार चल चढाउँछन् ।

आइतबार नै बन्दीपुर पुगेका भक्तजनहरूले दिनमा ननमोहरी पहाडको फेदीमा रहेको नन्द बाबाको मन्दिरमा जल चढाएका छन् । कावर यात्रामा सबैले एक अर्कालाई बमको नामबाट सम्बोधन गर्छन् ।

प्रकाशित : श्रावण २९, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?