कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

फरार अभियुक्त खोज्दै प्रहरी

थमन विक हत्या प्रकरण
कान्तिपुर संवाददाता

जनकपुर — महोत्तरी प्रहरीले सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपितको खोजी सुरु गरेको छ । उच्च अदालत जनकपुरले आरोपी पक्राउ गर्न परमादेश दिएपछि खोजी थालेको हो ।

फरार अभियुक्त खोज्दै प्रहरी

विक हत्यामा प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मा, जलेश्वरका मेयर रामशंकर मिश्र (शंकर शाही) र प्रदेशसभा सांसद कौशल राय यादवसहित २८ जना मुछिएका छन् ।

प्रहरीले खोजी थालेपछि जलेश्वरका मेयर मिश्र ‘सम्पर्कविहीन’ भएका छन् । उनी बिहीबारदेखि नै नगरपालिकाको कार्यालय जान छाडेका छन् । उनको मोबाइल स्विच अफ छ । हत्याका अर्का आरोपी सामाजिक विकास राज्यमन्त्री शर्मा शनिबार अपराह्न काठमाडौं पुगेका छन् ।

उनको दल राष्ट्रिय जनता पार्टी (राजपा) स्रोतका अनुसार राज्यमन्त्री शर्मा अदालतको परमादेशपछि के गर्ने भन्ने निक्र्योल गर्न काठमाडौं पुगेका हुन् । सांसद यादव भने केही समयदेखि प्रदेशसभाको बैठक र सार्वजनिक कार्यक्रममा पनि उपस्थित हुन छाडेका छन् ।

विक हत्याका आरोपीले आन्दोलन क्रममा भएको घटनामा मुछेर राज्यले राजनीतिक प्रतिशोध साध्न खोजेको आरोप लगाएका छन् । ‘अदालतको परमादेश पाएलगत्तै महोत्तरी प्रहरीले विक हत्याका आरोपीको खोजतलास सुरु गरेको छ,’ संघीय प्रहरी एकाइ, जनकपुरका प्रमुख एसएसपी शेखर कोइरालाले कान्तिपुरसँग भने, ‘हत्याका फरार २५ जना आरोपीलाई पक्राउ गर्न महोत्तरी प्रहरी आइतबारदेखि टोली नै खटाएको छ ।’

एसएसपी कोइरालाले विक हत्या आरोपीलाई ‘फेला परे पक्राउ गरेर बुझाउन’ सबै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिने बताए । महोत्तरीका एसपी कुवेर कडायतले अदालतको परमादेशलाई कार्यान्वयन गरिने बताए । तर उनको सरुवा भइसकेको छ । उनका ठाउँमा प्रहरी प्रधान कार्यालयबाट एसपी ईश्वर कार्की आउँदै छन् ।

प्रकाशित : श्रावण २१, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?