१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सिमसार संरक्षणमा स्थानीय

भरत जर्घामगर

सिरहा — चुरे फेदीको लहान–१५ ढोढनास्थित कोइरालो सामुदायिक वनभित्रको सिमसार क्षेत्र जोगाउन गाउँले जुटेका छन् । ६० हेक्टरमा फैलिएको वनमध्ये १० हेक्टर सिमसारमा पर्छ । वनक्षेत्र बहुमूल्य सालका रूखले घेरिएको छ ।

सिमसार संरक्षणमा स्थानीय

बाह्रैमास पानी रहने सिमसार क्षेत्र संरक्षण गर्न गाउँलेले ५ हजार अम्रिसो र ४ सय ५० वटा बाँसका बिरुवा रोपेका छन् । वन समितिका सचिव रुद्र नारायण चौधरीले ३ हेक्टर जग्गामा वृक्षरोपण गरिएको बताए । ‘वनमा रहेको करिब चार हेक्टर क्षेत्रफलको दहमा प्रचण्ड गर्मीमा समेत पानी सुक्दैन,’ उनले भने, ‘यस क्षेत्रलाई पर्यटकीय स्थलमा परिणत गर्न वन कार्यालयलाई आग्रह गरिएको छ ।’

सिमसार क्षेत्रमा पानी सुक्न नदिन अम्रिसो र बाँसका बिरुवा रोपिएको उनले बताए । चौधरीका अनुसार पर्यटकीयस्थल बनाउन स्थानीय सामुदायिक वन र जिल्ला वन कार्यालयको संयुक्त लगानीमा आन्तरिक पर्यटन प्रवद्र्धनको तयारी सुरु गरिएको छ । त्यसका लागि स्थानीय वन उपभोक्ता समितिको प्रत्यक्ष रेखदेखमा वन कार्यालयले २५ लाख रुपैयाँ लगानी गरेको उनले जानकारी दिए । ढोढनाकै प्रसिद्ध राजदेवी मन्दिरदेखि एक किमि पूर्वमा पर्ने उक्त सिमसार क्षेत्रलाई पर्यटकीय स्थल बनाउन आर्थिक वर्ष ०७४/७५ देखि लगानी थालिएको हो ।

‘चार हेक्टर जलाशयलाई सफा गरी त्यहाँ बोटिङ चलाउने तयारी गरिएको छ,’ उनले भने, ‘वन क्षेत्रभित्र बोटिङबाहेक पर्यटकका लागि गर्मी छल्न गोलघर, उद्यान तथा पार्क निर्माण गर्छौं ।’ वडाध्यक्ष तेजनारायण चौधरीले पर्यटकीय पूर्वाधार सम्पन्न भएपछि कोइरालो वन र राजदेवी मन्दिरलाई जोड्ने सडक निर्माण गरी ती दुवै स्थललाई टुरिज्म सर्कलभित्र गाभ्ने योजना रहेको जानकारी दिए । प्रत्येक वैशाख पूर्णिमामा ठूलो संख्यामा बलिपूजा हुने राजदेवी मन्दिरमा प्रत्येक शनिबार घुइँचो लाग्छ ।

‘धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका ती दुवै स्थललाई जोड्न सके यहाँको विकासमा प्रशस्त टेवा पुग्ने भएकाले कोइरालो वनलाई पर्यटकीय सिमसार क्षेत्रमा रुपान्तरण गर्न खोजेका हौं,’ जिल्ला वन अधिकृत सुनिलकुमार सिंहले भने, ‘चालु आवमा पूरै सिमसार क्षेत्रलाई जलाशयमा परिवर्तन गरी र्‍याफ्टिङ चलाउने तयारी गर्दैछौं ।’

प्रकाशित : श्रावण ८, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?