कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकास पर्खाइमा सदरमुकाम

अमन कोइराला

सर्लाही — सदरमुकाम रहेको जिल्लाकै सबैभन्दा पुरानो मलंगवा नगरपालिकाभन्दा पछि बनेका स्थानीय तह विकासमा अघि देखिएका छन् । केही वर्षअघि मात्र नगरपालिका बनेका हरिवन, लालबन्दी, ईश्वरपुरमा देखिने गरी विकास भइरहँदा मलंगवा भने निकै पछाडि छ । साँघुरो सडकले मलंगवालाई कुरुप बनाएको छ ।

विकास पर्खाइमा सदरमुकाम

उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष हरिशंकरप्रसाद साहले जनप्रतिनिधि आएपछि विकासको लक्षण देखिए पनि सुरुदेखि नै अव्यवस्थित बसोबास भएकाले नगर कुरुप बनेको बताए । ‘मुख्य सडक धूलो र हिलो छ,’ उनले भने, ‘सहरका गल्ली मिचिएर निकै साना भएका छन् ।’

सहरको विकास नहुनुमा जनप्रतिनिधिको भूमिका मुख्य रहेको स्थानीय बताउँछन् । ठूलो रकम खर्चेर जितेका जनप्रतिनिधि कमाउ धन्दामा लागेका कारण नगरलाई बेवास्ता गरेको उनीहरूको आरोप छ ।मलंगवाका देवेन्द्र राय जनप्रतिनिधि कताबाट पैसा आउँछ भन्ने धुनमा रहेका कारण सहरको दुरबस्था भएको बताउँछन् । ‘पारदर्शिता नहुनु नै नगर विकास नहुनुको कारण हो,’ उनले भने, ‘करोडौं विकास बजेट, सडक बोर्डको पैसा, स्र्माट सिटीको रकम र सीमा विकास कार्यक्रमको बजेट खर्च हुँदा पनि सहरको अवस्था जस्ताको तस्तै छ । यत्रो पैसा केमा खर्च भएर सकियो ?’

उनले नजिकका अन्य स्थानीय तह धमाधम विकासमा अघि बढदा मलंगवा भने कमजोर अवस्थामा रहेको उल्लेख गरे । विकास हुन नसकेकै कारण सदरमुकामको आकर्षण घटदै गएको छ । जग्गाको भाउ समेत आधा घटेको उनले बताए । मलंगवा नगरपालिकाका प्रमुख निर्सल साहले सडकको जग्गा मिचेर संरचना बनाइएकाले काम गर्न असहज भएको जनाए ।

विकास बजेट शतप्रतिशत सदुपयोग भइरहेको दाबी गर्दै उनले सहरको मुहार फेर्न जनप्रतिनिधिले डटेर काम गरेको उल्लेख गरे । ‘नक्सामा बाटो ९ मिटर भए पनि मिचेर १३ फिट बनाइएको छ,’ साहले भने, ‘भत्काउन जाँदा मुद्दा हालेर रोकिदिन्छन् । बाटो चौडा बनाउन विभिन्न बाधा परिरहेको छ । त्यसले गर्दा पनि सहर राम्रो नदेखिएको हो ।’ उनले नगरपालिका र जनप्रतिनिधिसँग अपेक्षा गर्ने तर स्थानीयले कुनै सहयोग नगर्ने प्रवृत्ति हुन्जेल सहरको मुहार फेर्न कठिन हुने बताए ।

नगरपालिकामा बेथिति
जनप्रतिनिधि चुनिएपछि आफू निकटलाई जागिर र विकासे योजनाको उपभोक्ता समितिमा राख्ने होडले बेथिति चुलिएको छ । मलंगवा नगरप्रमुख साहले चुनाव जितेपछि आफ्नो प्लाइ फ्याक्ट्रीमा काम गर्ने गजेन्द्रप्रसाद साहलाई नायव सुब्बा नियुक्त गरे ।

सुरुमा निश्चित योजनाको ‘कन्टिन्जेन्सी’ बाट तलब खाने गरी नियुक्त भएका साहलाई पछि करारमा राखियो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले साहलाई ‘कन्टिन्जेन्सी’ को रकमबाट तलब पाउने गरी योजना अवधिका लागि मात्र नियुक्त गरिएको बताए । ‘काम सकिएपछि अवकास हुन्छ,’ उनले भने । एक जना नायव सुब्बाले अवकास पाएपछि साहलाई सोही रिक्त दरबन्दीमा रहने गरी करारमा राखिएको नगरपालिका स्रोतले जनाएको छ ।

प्रक्रिया समेत नपुर्‍याई आफू निकटलाई सीधै भर्ना गरिएको भन्दै केही विरोध भए पनि मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा नियम मिचेर नियुक्ति दिइएको स्रोतको भनाइ छ । नगरप्रमुख साहले भने धेरै काम हेर्नुपर्ने भएकाले आफू निकटको मान्छे राख्दा सहज हुने बताए । त्यसैगरी नगरपालिकाले वडाध्यक्ष सबैलाई पल्सर मोटरसाइकल र ३० हजार बराबरको मोबाइलसमेत दिएको छ । वडाध्यक्षले लिएपछि सदस्यले पनि माग राखेका छन् ।

आगामी वर्षको नगरसभा चलिराखेकाले सदस्यलाई मनाउन १५ हजारको मोबाइल र एउटा साइकल दिने तयारी भइरहेको स्रोतले बतायो । ‘नगर सभा सफल पार्नका लागि पनि सदस्यलाई केही न केही वितरण हुन्छ,’ स्रोतले भन्यो ।

प्रकाशित : असार २५, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?