कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सदरमुकामको आकर्षण घट्यो

अमन कोइराला

सर्लाही — स्थानीय तहको निर्वाचनपछि सर्लाहीको सदरमुकाम मलंगवाको आकर्षण घटेको छ । बजारमा खासै चहलपहल छैन । जग्गाको भाउ समेत घटेको छ ।

सदरमुकामको आकर्षण घट्यो

सबै काम स्थानीय तहबाट हुने भएपछि सदरमुकामको आकर्षण घटेको हो । जिल्लामा रहेको २० स्थानीय तहमध्ये सदरमुकामबाहेक अधिकांश ठाउँमा जग्गाको मूल्य बढेको छ । नयाँ बनेका स्थानीय तहमा विकासले तीव्र गति लिएकाले सर्वसाधारणको आकर्षण बढेको हो । सबैभन्दा पुरानो नगरपालिका मलंगवामा भने विकास शून्यजस्तै छ ।

जिल्ला समन्वय समितिका प्रमुख एवं मलंगवावासी मेथुर चौधरीले चुनाव लगत्तै सदरमुकाम उराठ भएको बताए । उनले भने, ‘सदरमुकाममा कोही आउन चाहेको देखिँदैन । जग्गाको किनबेच बन्द भएकाले भाउ निकै तल झरेको छ ।’ उनले जमिनको भाउ कम्तीमा २५ प्रतिशत घटेको बताए । ‘पहिला सदरमुकाममा घर बनाउने लक्ष्य धेरैको हुन्थ्यो,’ उनले भने, ‘अहिले जग्गाको भाउ घटाएर राख्दा पनि किन्ने मान्छे पाइँदैन ।’

सदरमुकाममा रहेका अधिकांश सरकारी कार्यालय खारेज भई स्थानीय तहमा गएको, अव्यवस्थित सहरीकरण, पूर्वपश्चिम राजमार्गसँग जोड्ने सडकको दुरावस्था, सहरका सबैजसो गल्ली हिलाम्ये जस्ता कारणले मलंगवामा बसोबास गर्न चाहने घटदै गएको स्थानीय बताउँछन् । मलंगवा नगरको मेयरमा उम्मेदवारी दिएर पराजित भएका देवेन्द्र यादव सदरमुकामलाई केन्द्र बनाएर भएका विभिन्न आन्दोलनमा एउटा समुदाय विस्थापित हुनु पनि चलहपहल घट्नुको कारण भएको बताउँछन् ।

‘कुनै पनि ठाउँ समाबेसी भयो भने प्रगतितर्फ अघि बढिरहन्छ,’ उनले भने, ‘मलंगवा समावेसी थियो तर अब रहेन । मलंगवामा कोही आउन नमान्नुको अर्काे कारण भनेको विकासमा ज्यादै पछाडि पर्नु पनि हो । अझै पनि विकास हुने कुनै लक्षण देखिएको छैन । नेतृत्वको सोच ठाउँ बनाउनेभन्दा पनि आफूमात्र बन्ने भएकाले जनताले आशा गर्न छाडिसके । यस्तै अवस्था रहे सदरमुकाम अझै खस्कँदै जान्छ ।’ उनले पूर्वपश्चिम राजमार्गसँग सदरमुकाम जोड्ने सडकको जीर्ण अवस्थाले पनि मलंगवा पछाडि परेको उल्लेख गरे । पूर्व–पश्चिम राजमार्गको नवलपुरबाट मलंगवा जोड्ने २६ किलोमिटर सडक जीर्ण भएको १० वर्ष भइसक्यो । आठवर्षअघि पिच गर्न ठेक्का लागेको उक्त सडक अझै बनेको छैन ।

सदरमुकाममा रहेका कार्यालय सर्नुले मात्र मलंगवा पछाडि नपरेको उनको जिकिर छ । सबै स्थानीय तहमा भन्दा सदमुकाममा बढी कार्यालय छन् । जिल्ला प्रशासन, जिल्ला प्रहरी, अदालत, भन्सार, जिल्ला अस्पताल सदरमुकाममै छन् । ‘स्थानीय तहले दिने सबै सेवाका अतिरिक्त जिल्लाका मुख्य कार्यालय सदरमुकाममै छ,’ उनले भने, ‘केही सरकारी सेवा स्थानीय तहमा पुगेको हो । त्यही कारणले अन्यत्र जग्गाको भाउ र बसोबास बढेको छ । तीबाहेक थप सुविधा रहेको मलंगवामा मात्र सबैथोक घट्नुमा सहरको समाबेसी चरित्र नहुनु र विकासे बजेटको चरम दुरुपयोग नै मुख्य कारण हो ।’ मलंगवा नगरपालिकाका मेयर निर्सल साहले सदरमुकाम भएर पनि चरम बेवास्तामा परेकाले स्थानीय तहको गठनपछि आकर्षण घटेको बताए । ‘पहिले जिल्लाभरिको विकासका काम जिविसबाट हुने भएकाले भीड लाग्थ्यो,’ उनले भने, ‘अब सबै तहले आफैं गर्छ ।

अन्य कार्यालय पनि स्थानीय तहमा गए । सदरमुकाम आउजाउ गर्नुपर्ने खासै आवश्यकता हुँदैन । त्यसमाथि सदरमुकामलाई अन्य ठाउँसँग जोड्ने सबै धुले सडकमात्र छन् । सदरमुकाम जतिवेला पनि धूलोले छोपिएको हुन्छ । यस्तो ठाउँमा कोही आउन नचाहने भएकाले जग्गाको भाउ पनि दिनप्रतिदिन घट्दै गएको छ ।’ उनले सदरमुकामको आकर्षण बढाउन नगर क्षेत्रलाई विकसित पार्दै सबै सडक पिच बनाएर मात्र सम्भव हुने बताए ।

प्रकाशित : असार २२, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?