१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चिनी मिल सञ्चालक सम्पर्कविहीन

अमन कोइराला

सर्लाही — उखुको रकम भुक्तानी दिन बाँकी राखेर चिनी मिल सञ्चालक सम्पर्कविहीन भएका छन् । सञ्चालकलाई बोलाई छलफल गरेर भुक्तानीको व्यवस्था मिलाउन जिल्ला प्रशासनले पत्र काटे पनि काम अघि बढेको छैन ।

चिनी मिल सञ्चालक सम्पर्कविहीन

उखु खरिद बापत किसानलाई एक पैसा नदिएको धनकौलस्थित अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्री प्रालिका सञ्चालक राकेश अग्रवाल र ज्ञानप्रसाद भट्टर्राईसँग सम्पर्क हुन नसकेको प्रशासनले जनाएको छ ।

उद्योग सर्लाहीमा भए पनि दुबै सञ्चालक काठमाडौंमा बस्छन् । फोन बन्द भएकाले झिकाउन नसकिएको प्रशासनका अधिकारीले बताएका छन् । अन्नपूर्णले किसानलाई चालु वर्षको मात्र करिब ५० करोड भुक्तानी दिनुपर्ने बाँकी छ । विगतका वर्षमा पनि भुक्तानी नदिएको किसानले बताएका छन् । वर्षभरिको उत्पादन मिललाई दिएका किसान भुक्तानी नपाएपछि बिचल्लीमा छन् । उखुकै पैसा लिएर दैनिक घर व्यवहार चलाउनुपर्ने किसान धेरै छन् ।

चिनी मिलले स्थानीय अगुवा र नेतालाई हातमा लिएर गरिब किसानको पैसा रोक्ने गरेको हो । नेताका आफन्त र दलालको मात्र भुक्तानी दिने गरेको स्थानीय बताउँछन् । जनप्रतिनिधिले आफ्ना समस्यालाई ध्यान नदिएको आरोप किसानले लगाए । ‘गरिब किसानको पक्षमा कुनै दल, नेता, सांसद, स्थानीय तहको प्रमुखले बोल्दैनन्,’ उनले भने, ‘किसानको कुरा न प्रशासनले सुन्छ न सरकारले । उद्योगपतिले पैसाको बलमा ठूलाबडालाई हातमा लिएर हामीजस्ता गरिब किसानलाई थिचोमिचो गरिरहेको छ ।’

चिनी मिलले धेरै उखु दलालमार्फत किनेको थियो । दलालमार्फत सस्तोमा किनेको उखुलाई नगद दिएर किसानसँग लिएकोलाई भने पैसा नदिएको हो । किसानलाई भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई कडा कारबाही गर्नुपर्ने किसानको माग छ ।छलफल गरी भुक्तानी नदिए कारबाहीका लागि सात दिनभित्र राय दिन मन्त्रालयले जिल्ला प्रशासनलाई पत्र लेखेको छ । सहायक प्रमुख जिल्ला अधिकारी किशोर चौधरीले छलफलको तयारीमा लागेको बताए ।

प्रकाशित : असार १२, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?