३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हत्या आरोपी ८ वर्षपछि पक्राउ

सन्तोष सिंह

धनुषा — धनुषा प्रहरीले एकै परिवार तीन जनालाई महिला हत्या अभियोगमा पक्राउ गरेको छ । २०६७ माघ १० गते धनुषाको धनुषाधाम–१ की बविताकुमारी कापरको हत्या अभियोगमा दोषी ठहर भएका एकै परिवारका तीन जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो । 

हत्या आरोपी ८ वर्षपछि पक्राउ

महिलालाई विष सेवन गराई हत्या गरेको अभियोगमा धनुषा जिल्ला अदालतले धनुषाधाम–१ का कारी यादव, हरिदेव यादव र नवल यादवलाई दोषी ठहर गरेको थियो । उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


हत्या अभियोगमा अदालतबाट दोषी ठहर भएपछि फरार रहेका तीनै जनालाई ८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो । दोषी ठहर भएका कुञ्जीलाल यादव र राजकिशोर यादव भने अझै फरार छन् ।


मृतक बविताकुमारी कापर र हरिदेव मण्डलबीच प्रेमविवाह भएको थियो । विवाहका कारण असन्तुष्ट भएका घरका अन्य व्यक्तिको उक्साहटमा हरिदेवले बवितालाई दिनहुँ कुटपिट गरी यातना दिएका थिए । त्यसक्रममा ०६७ माघ १४ गते विष खुवाई मार्ने परिवारको सल्लाहअनुसार मृतक बविताका श्रीमान् हरिदेवले विष खुवाएर हत्या गरेको अदालतको बयान पत्रमा उल्लेख छ ।


मतृकका ससुरा कारी यादवको निर्देशनमा सनेत्तरी यादव र नवल यादवले हातखुट्टा समाती हरिदेवले गिलासमा राखेर विष खुवाएको अदालतको बयानमा उल्लेख छ ।


टोलटोलमा प्रहरी

धनुषा प्रहरीले टोल–टोलमा प्रहरी अभियान सुरुवात गरेको छ । टोलटोलमा सामुदायिक प्रहरी गठन गरी समाजमा व्याप्त रहेको समस्या न्यूनीकरणका लागि नगर प्रहरी कार्यक्रम सञ्चालन गरेको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।


जिल्ला प्रहरी कार्यालय धनुषामा शनिबार आयोजित पत्रकार भेटघाटमा प्रहरी उपरीक्षक थपलियाले धनुषा प्रहरीको एक महिने प्रगति विवरणसमेत जानकारी गराए । पछिल्लो एक महिनामा कर्तव्य मुद्दाको ४ जना, जबरजस्ती करणी मुद्दाका १, लागूऔषध मुद्दाका १, ठगी तथा संगठित अपराध मुद्दाका १, सार्वजनिक अपराध मुद्दामा १, बिगो मुद्दाको २ र लेनदेन मुद्दाको १ गरी ११ जनालाई पक्राउ गरिएको उनले बताए ।


भन्सार चोरीनिकासी सम्बन्धमा प्रहरीले ४० लाख ६८ हजार ८ सय २२ मूल्य बराबरका समान, मोटरसाइकल १४ थान र ट्रयाक्टर २ थान बरामद भएको उनले बताए । भन्सार चोरी निकासीमा संलग्न रहेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरी कारबाही गरेको छ ।


राती अबेरसम्म मदिरा बिक्री गर्ने २३ जना भट्टी सञ्चालक, मापसे गरेर सवारी चलाउनेसमेत ८५ जनालाई पक्राउ गरी प्रकृति अनुसारको मुद्दा चर्लाएको छ । एक महिनामा लागूऔषधमा संलग्न ८१ लाई पक्राउ गरिएकोमध्ये २१ जना कारागार चलान भएको र ४८ जना धरौटीमा छुटेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ३, २०७५ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?