१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वीरगन्ज–रक्सौल नाकामा आउजाउ सहज

शंकर आचार्य

पर्सा — रक्सौल किनमेल गर्न जाने नेपालीको मानपसटलमा यहाँस्थित नेपाल–भारत नाकामा हुने परम्परागत जामको दृश्य आउँछ ।

वीरगन्ज–रक्सौल नाकामा आउजाउ सहज

वीरगन्जको रजतजयन्ती चोकदेखि सीमापारि रक्सौल बजारसम्मै लाग्ने जामलाई छिचोल्दै दैनिक धेरै नेपालीहरू रक्सौलमा किनमेल गर्न पुग्छन् । अनि फर्केर आएपछि भन्थे, ‘बेकार गइएछ, धूवाँ, धूलो, जाम सहेर यति दु:ख गर्नु भन्दा स्वदेशमै किनमेल गरेको जाति ।’

रक्सौल बजार वीरगन्ज र आसपासका सहरका बासिन्दाका लागि मात्र नभई राजधानी देखिका उपभोक्ताको पनि किनमेल गर्ने परम्परागत बजार हो । काम विशेषले वीरगन्ज आउने वीरगन्ज बाहिरका नेपालीहरू वीरगन्ज आइसकेपछि रक्सौल पुगेर किनमेल गर्न रुचाउँछन् । घरमा बिहेवारी, भोजभतेर आदि हुँदा झनै सस्तोमा मालसामान पाउने लोभमा अझै पनि टाढाटाढाबाट नेपालीहरू रक्सौल बजारमा किनमेल गर्न आउने चलन कायमै छ । नाकामा हुने भीडभाड र जामले यसरी रक्सौल किनमेल गर्न आउने उपभोक्तालाई चर्को सास्ती हुँदै आएको थियो ।

तर २ साता यताको नाकाको दृश्य भने फेरिएको छ । जामका लागि बदनाम यो नाकामा अचेल वर्षौं पुरानो ‘जाम परम्परा’ तोडिएको छ । सधैं मालवाहक सवारीको भीडभाड रहने यो नाकामा अचेल भीडभाड स्वात्तै घटेको छ । टाँगा, इ–रिक्सा र टेम्पुमा मात्र नभई साइकल र मोटरसाइकलमा रक्सौल आउजाउ गर्ने नेपालीलाई अहिले हाइसन्चो भएको छ ।

रजतजयन्ती चोकदेखि मितेरी पुलसम्म देखिने सवारी साधनको लर्को छोटिएको छ भने सधैं भरिभराउ रहने वीरगन्ज भन्सार कार्यालयको यार्ड पनि झन्डै आधा खाली भइसकेको छ । यो परिवर्तन वीरगन्जकै एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) सञ्चालनमा आएपछि भएको हो । २ सातायता आईसीपीबाट यो नाकाबाट भित्रिने आधाभन्दा बढी मालवाहक सवारीसाधन जाँचपास हुन थालेपछि मुलुकको मुख्य नाकाको भीडभाड र जामको समस्या सधैंका लागि अन्त्य भएको हो ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेल २ साता यताको वीरगन्ज नाकाको दृश्य फेरिएको बताउछन् । ‘नाकामा बर्षौ देखि लाग्दै आएको भिडभाड र जाम अहिले देख्न पाइदैन,’ उनले भने, ‘दुई मुलुक आउजाउ गर्ने सर्वसाधारणलाई मात्र नभई हामी कर्मचारीलाई पनि हाइ सन्चो भएको छ, वातावरण र ध्वनि प्रदूषण पनि कम भएको छ ।’

हाल वीरगन्ज नाकाबाट भित्रिरहेको कार्गोमध्ये झन्डै आधा आईसीपी नाकाबाट भित्रिन थालेको उनले बताए । ‘रक्सौलमा रेलबाट आउने रेल कार्गो, रक्सौलमा आईओसीको डिपोमा इन्धन भर्ने एनओसीका ट्यांकर मात्र वीरगन्ज रक्सौल नाकाबाट भित्रिन्छन्,’ उनले भने, ‘बाँकी भारत तथा तेस्रो मुलुकबाट आउने कन्टेनर, ट्रक/लरी तथा भारतकै बरौनीबाट इन्धन लिएर आउने ट्यांकर पनि आईसीपी नाकाबाटै भित्रिइरहेका छन् ।’

रक्सौल रेल–वे स्टेसनमा हाल पनि नेपाली सिमेन्ट उद्योगका कोइला तथा जिप्सम ठूलो परिमाणमा आउँछन् । यसरी कोइला र जिप्सम बोकेका मालवाहक सवारी दैनिक १ सयदेखि १ सय ५० को संख्यामा हुन्छन् । त्यसैगरी सीमामै रहेको आईओसीको डिपोमा दैनिक २ सय देखि २ सय ५० नेपाली ट्यांकर इन्धन भर्न जान्छन् । यी वस्तु ढुवानी गर्ने मालवाहक सवारी आईसीपी नाकाबाट भित्रिन करिब ७ किमि घुमाउरो बाटोमा रक्सौल बजार हुँदै यात्रा गर्नुपर्ने भएकाले तत्काललाई पुरानै नाकाबाट यी मालवाहक सवारी साधन भित्र्याइँदै छ ।

‘रक्सौलपारि लक्ष्मीपुर बाइपासदेखि नेपाल भित्रिने सबै मालवाहक सवारी साधन भारतीय आईसीपी हुँदै नेपाल भित्रिँदै छन्,’ पोखरेलले भने, ‘लक्ष्मीपुर बाइपासदेखि उत्तरतर्फका आईओसी र रेल–वे स्टेसनबाट लोड हुने सवारी र ट्यांकरहरू पुरानै नाकाबाट भित्रिँदै छन् ।’भारतीय पक्षले रक्सौल बजार र आईसीपीको दूरी छोट्याउन पूर्व–पश्चिम ‘एप्रोच सडक’ निर्माण गर्ने तयारी गरेको उनले बताए । यो सडक निर्माण भएपछि हाल वीरगन्ज रक्सौल नाकाबाट भित्रिरहेका ट्यांकर र कोइला/जिप्सम बोकेका सवारी पनि आईसीपी नाकाबाट भित्रिन्छन् ।

आईसीपी सञ्चालक इन्टरमोडल यातायात विकास समितिका वीरगन्ज प्रमुख हेमेन्द्रमोहन शाही आईसीपीलाई पूर्ण क्षमतामा सञ्चालनको प्रयास भइरहेको बताउँछन् । ‘हामी आईसीपीलाई सक्दो चाँडो पूर्ण क्षमतामा सञ्चालनको प्रयासमा लागिपरेका छौं,’ उनले भने, ‘नयाँ भएकाले सबै कुरा व्यवस्थित गर्न केही समय लाग्छ ।’

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादव हाल वीरगन्ज भन्सार कार्यालयबाटै आफूहरू आईसीपी भन्सार कार्यालयमा आएर दैनिक कामकाज गरिरहेको बताउँछन् । ‘हामी दैनिक वीरगन्ज भन्सारबाट आएर यहाँको आयात–निर्यात प्रक्रियालाई सहज बनाइरहेका छौं,’ उनले भने, ‘कामको चाप बिस्तारै बढ्दै गएको छ ।’

प्रकाशित : जेष्ठ २४, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?