१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कर्मचारी दुर्व्यवहार प्रकरण: १० दिनपछि नगरपालिका खुल्यो

अमन कोइराला

सर्लाही — प्रदेश सांसदले प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको विरोधमा कर्मचारीले बन्द गरेको कविलासी नगरपालिका कार्यालय १० दिनपछि आइतबारदेखि खुलेको छ ।

कर्मचारी दुर्व्यवहार प्रकरण: १० दिनपछि नगरपालिका खुल्यो

गत जेठ ३ गते प्रशासकीय अधिकृत नवीन श्रीवास्तवलाई प्रदेश सांसद सञ्जयकुमार यादवले नगरपालिकाका उपमेयरको कोठामा थुनेर जबर्जस्ती कागजातमा हस्ताक्षर गर्न लगाएपछि त्यसको विरोधमा कार्यालय बन्द भएको थियो । कार्यालय बन्द रहेकै अवस्थामा ९ गते राति श्रीवास्तवलाई सदरमुकाम मलंगवामा यादवले हातपात गरेपछि विवाद चर्किएको थियो ।

जिविस चोकको एक होटलमा राति यादवसँगै गएको समुहले श्रीवास्तव र १ नम्बर वडा सचिव राजेन्द्र ठाकुरमाथि हातपात गरी झोलामा रहेको कागजातसमेत लगेका थिए । हातपातको विरोधमा सबै कर्मचारी एकजुट भए । कविलासीका मेयर कौशलकिशोर यादव पनि कर्मचारी हातपात गर्नेलाई कडा कारबाही हुनुपर्ने अडानमा थिए । उनले पहिलो घटनादेखि नै दुव्र्यवहारको विरोध गर्दै जिल्ला प्रशासन र प्रदेश सरकारलाई समेत ध्यानाकर्षण गराएका थिए ।

कर्मचारी र सांसदबीचको विवाद बढेपछि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा दुबै पक्षबीच भएको छलफलपछि सहमति भएको थियो । प्रशासनले दुबै पक्षसँग अलग–अलग र सामूहिक गरी दुई दिनसम्म लगातार छलफल गरी मिलाउने प्रयत्न गरेको थियो ।

जनप्रतिनिधिलाई कानुनी कारबाही गर्न प्रशासन हच्किएको थियो । उता कर्मचारीलाई मिलाएर कार्यालय खुलाउनुपर्ने बाध्यता थियो । प्रशासकीय अधिकृतमाथि दुव्र्यवहार हुनु गलत भएको स्वीकारेपछि सहमति बनेको हो । प्रमुख जिल्ला अधिकारी यज्ञ पोखरेलले दुबै पक्षबीच भएको छलफलपपछि गल्ती स्वीकार र कार्यालय खोल्ने लिखित सहमति भएको बताए । कार्यालय खुले पनि प्रशासकीय अधिकृत श्रीवास्तव भने गएका छैनन् । हातपात हुँदासमेत कुनै कारबाही नभएकोमा उनी असन्तुष्ट छन् । उनको मोबाइल बन्द छ ।

कविलासीका मेयर यादवले जिल्ला प्रशासनमा सहमति भए पनि प्रशासकीय अधिकृत बस्न नचाहेको बताए । ‘मैले सहमति भइसक्यो अब काम गर्नुपर्छ भनेर सम्झाएँ,’ उनले भने, ‘तर उहाँ कार्यालयमा जान चाहेजस्तो लागेन । मैले सुनेअनुसार सरुवा गराउन खोज्नुभएको छ ।’ हातपात भएकाले त्यही स्थानमा काम गर्न मनले नमानेको हुन सक्ने उनले बताए । ‘कर्मचारीले कुन मनोबलले काम गर्ने,’ उनले भने, ‘फेरि पनि दुव्र्यवहार भयो भने यस्तै सहमति नै हुने हो ।’ दुईपटक दुव्र्यवहार भएको, सांसदका मान्छेले तनाब दिने गरेको, फेरि पनि दुव्र्यवहार हुन सक्ने सम्भावना रहेकाले श्रीवास्तव बस्न नचाहेको उनी निकटका कर्मचारीले बताए । सहमति गरेकाले कार्यालयमा जान दबाब आउने भएकाले उनले मोबाइल बन्द गरेको ती कर्मचारी बताउँछन् ।

प्रकाशित : जेष्ठ १४, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?