१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘आरकेस्ट्रा’ र ‘डिजे’ बन्द गराउँदै जनप्रतिनिधि

लक्ष्मी साह

बारा — मधेसको गाउँ–सहरमा बढ्दो डीजे बाजा, आरकेस्ट्रा र अश्लील भोजपुरी गीतमाथि निगरानी बढाइएको छ । बिहेबारधीको सिजनमा मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रममार्फत बजाइने डीजे बाजा र अश्लील गीत तथा नचाइने आरकेस्ट्राले सामाजिक विकृति बढेपछि रोक लगाउन थालिएको हो ।

‘आरकेस्ट्रा’ र ‘डिजे’ बन्द गराउँदै जनप्रतिनिधि

६ वर्षअघि स्थानीय प्रशासनले समेत यस्तो विकृति रोक्न जिल्ला सुरक्षा समितिबाट निर्णय गरी प्रतिबन्ध लगाएको थियो । उल्लंघन गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिइएको थियो । स्थानीय प्रशासनको निर्देशनमा प्रहरीले ती नाचको विरुद्धमा सबैतिर निगरानी बढाउन मातहतका प्रहरी पोस्टलाई उर्दी जारी गरेको थियो । तर यो प्रवृत्ति झन् बढ्दै गएपछि अब स्थानीय तहका जनप्रतिनिधिहरूले त्यसविरुद्ध चासो देखाउन थालेका हुन् ।

कलैया उपमहानगरपालिकाले यस्तो प्रवृत्ति जारी राख्नेलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको वडाअध्यक्ष मिश्री सहनीले बताए । ‘गीत बजाउन पाइन्छ । तर अश्लील होइन,’ उनले भने, ‘डीजे बाजाको चर्को आवाजले ध्वनि प्रदूषणसँगै वातावरण र मानवीय स्वास्थ्यमा असर पर्छ । त्यसैले सर्वसाधारणको भावना बुझेर यस्तो निर्णय गरेका हौं ।’ उनले अश्लील गीत बजाउँदा सामाजिक वातावरण खलबलिने र त्यस्ता गीत, बाजा र आरकेस्ट्रा नै यौन हिंसासम्बन्धी घटनाको कारक बन्ने गरेको बताए ।


सिम्रौनगढ नगरपालिकाको वडा नं ८ कचोर्वामा समेत जनप्रतिनिधिले यस्तो बाजामा महिलालाई ननाच्न, अश्लील गीत नबजाउन र बिहेबारीमा गाउँलेलाई डीजे बाजाको साथमा ननाच्न उर्दी जारी गरेका हुन् । साथै केटा र केटीको विवाहमा माइब्रह्म पुज्ने र दुलधधहालाई घरबाट निकाल्ने क्रममा महिलालाई नाच्न एक सातादेखि प्रतिबन्ध लगाइएको वडा अध्यक्ष दामोदरलाल साहले बताए ।

‘महिलाले घरमा विवाहको क्रममा डोमकच खेलून्, तर सार्वजनिक स्थलमा ननाचून् भन्ने हाम्रो चाहना हो । मौलिक संस्कृतिलाई जोगाउँदै विकृति नबढ्ने खालका वातावरणमा मनोरञ्जन गरियोस्,’ उनले भने, ‘डीजे बाजा, आरकेस्ट्रा र अश्लील गीतले विद्यार्थी, युवा–युवतीमा नकारात्मक असर परिरहेकाले रोक लगाइएको छ ।’

निर्णय विरुद्धमा कसैले काम गरे ११ हजार जरिवाना तोकिएको उनले जानकारी दिए । एक सातादेखि लगाइएको प्रतिबन्धले सुधार हुन थालेको उनले बताए । प्रसौनीमा गाउँपालिकाको बेलहियामासमेत यस्तो रोक लगाइएको वडाअध्यक्ष बजृकिशोरप्रसाद कुसवाहाले बताए । यसविरुद्ध कडा रूपमा प्रस्तुत हुन स्थानीय प्रशासनलाई समेत ज्ञापन पत्र दिइएको उनले बताए । यस्तै जिल्लाका कतिपय स्थानीय तहमा जनप्रतिनिधिले डिजे बाजा, आरकेस्ट्रा र अश्लिल गीतमाथि निगरानी बढाएका हुन् । मेला र विवाहको जन्तीसहित स्थानीयको मनोरञ्जनका लागि सट्टापट्टा गरी नचाइने भारतीय नाच आरकेस्ट्रा नृत्यमा महिला नाच्ने गरेका छन् ।


उनीहरूसँगै गाउँका युवा रक्सी खाएर नाच्ने गरेकाले त्यसबाट समाजमा कोलाहल फैलिने गरेका पाइएको छ । जसले सामाजिक पञ्चायती गर्ने जनप्रतिनिधि र सुरक्षा दिने प्रहरीलाई समेत हम्मेहम्मे पर्ने गरेको छ । केटी सहितको सहभागितामा गरिने त्यस्ता नाचगानलाई स्थानीय भाषामा आरकेस्ट्रा भनिने चलन छ ।

‘मौलिकतामा आधारित नाचगान गर्न भने पाइन्छ,’ उनले भने । मौलिक संस्कृतिविरुद्धका यस्ता नाचले विकृति फैलाउने सम्भावना बढी रहने गरेको उनको भनाइ छ । यस्ता आरकेस्ट्रा नचाउन सम्बन्धित सरोकारवालाले एक दिनका लागि ३० हजारदेखि १ लाखसम्म खर्चिने गरेका छन् । ‘यो परम्पराले समाजमा विकृति फैलाउने गरेकाले रोक लगाइएको हो’ सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले भने, ‘सामाजिक विकृति र विसंगतिविरुद्ध जनप्रतिनिधिको प्रयास सराहनीय छ ।’

प्रकाशित : वैशाख २६, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?