१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्थानीय तहमा चन्दा आतंक

अमन कोइराला

सर्लाही — वागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई जिल्ला जनपरिषद सर्लाहीले राजिनामा गर्न धम्की दिएका छन् । चैत २५ गतेको मितिमा जारी पत्रमा १५ दिनभित्र राजीनामा गर्न उनलाई धम्की दिइएको छ ।

स्थानीय तहमा चन्दा आतंक

केन्द्रीय जनपरिषद निर्माणसँगै प्रदेश, जिल्ला र नगर–गाउँस्तरमा समाजवादी सत्ता सञ्चालन गरेको जनाउ दिँदै वागमती नगरपालिका खाली गर्न उर्दी पनि जारी गरेको छ ।


पत्रलाई बेवास्ता गरे त्यसको परिणाम भोग्नुपर्ने चेतावनी पनि दिइएको छ । मेयर थापाले धम्कीपूर्ण पत्रबारे स्थानीय प्रशासनलाई जानकारी गराएको छ । थापाले भूमिगत रूपमा सक्रिय संगठनले आफूसँग चन्दा माग्दा नदिएपछि धम्की पत्र पठाएको बताए ।


‘चन्दा दिन भ्रष्टाचार र कमिशन खानुपर्छ,’ उनले भने, ‘आफू पनि एक पैसा हिनामिना गर्दिनँ, कसैलाई चन्दा पनि दिन्नँ ।’ जनताको नाममा समाजवादी सत्ता चलाउने भनेर चन्दा माग्दै जनप्रतिनिधिलाई भ्रष्टाचार गर्न हौस्याउन खोज्नु कुनै हालतमा स्वीकार नगर्ने उनले बताए । थापामात्र नभएर अन्य स्थानीय तहका प्रमुख र वडाध्यक्षलाई पनि चन्दाका लागि विभिन्न समूहबाट धम्की आउन थालेको छ । स्थानीय तहमा बजेटको आकार वृद्धि भएसँगै चन्दा माग्ने समूह सक्रिय भएको हो ।


यसअघि, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंसँग फोनबाट चन्दा मागेर धम्की दिने प्रमोद बैठालाई प्रहरीले पक्राउ गरेको छ । उनले २५ लाख माग्दै नदिए ज्यान मार्ने धम्की दिएका थिए । चन्दा धम्कीकै कारण स्थानीय तह प्रमुखले व्यक्तिगत सुरक्षाका लागि स्थानीय प्रशासनलाई आग्रह पनि गरेका छन् ।


चक्रघट्ट गाउँपालिका ४ नम्बर वडाका अध्यक्ष अब्दुल अहदले दिनहुँं चन्दा माग्दै धम्की आउने गरेको बताए । चन्दा नदिएकै कारण चैत ३ गते उनको घरमा बम विष्फोट गराइयो । ‘अहिले पनि लगातार धम्की आइरहेको छ,’ उनले भने, ‘विकास बजेटबाट चन्दा दिन सक्ने कुरा भएन । चन्दा आतंकले भ्रष्टाचार बढाउन मद्दत गर्ने मात्र हो ।’


कतिपय स्थानीय तहका प्रमुख र वडाध्यक्षले गुपचुप पैसा दिएर समस्या सल्टाएका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले पैसा उठाएर खान पल्केका समूहले राजीनामा र चन्दाका लागि धम्की दिने गरेको वताए । ‘धम्की दिएर खान पल्केका समूह मात्र हुन्,’ उनले भने, ‘सुरक्षा अवस्था राम्रो छ । कसैले डराउनुपर्ने अवस्था छैन ।’

प्रकाशित : वैशाख ६, २०७५ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?