कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

औद्योगिक क्षेत्रमा पनि प्रचुर सम्भावना

काठमाडौँ — कृषिसँगै औद्योगिक क्षेत्रका लागि पनि यो प्रदेश अग्रणी छ । मुलुकको प्रमुख औद्योगिक क्षेत्रमध्येको एक वीरगन्ज–पथलैया औद्योगिक करिडोर प्रदेश २ मै पर्छ । भारतको कोलकाता बन्दरगाहसँगको छोटो दूरी र नेपालको मध्य भागमा पर्ने भएकाले वीरगन्जमा उद्योग व्यापार फस्टाउने क्रममा छ ।

औद्योगिक क्षेत्रमा पनि प्रचुर सम्भावना

फलाम, सिमेन्ट, जस्तापाता, कुखुराको दाना, खाद्यान्न, चकलेट, बिस्कुट, मदिरा, चुरोट, लगायतका उद्योग सञ्चालनमा छन् । सबैभन्दा बढी चिनी मिल पनि यही प्रदेशमा छन् । औद्योगिक विकास तीव्र रूपमा हुन सक्ने सम्भावना प्रचुर छ । पछिल्लो मधेस आन्दोलन र भारतीय नाकाबन्दीपछि अहिले वीरगन्ज–पथलैया औद्योगिक क्षेत्रमा नयाँ उद्योग थपिने क्रम जारी छ । विगत जस्तो ऊर्जा संकटको अवस्था पनि छैन ।

वीरगन्ज–पथलैया सडक ६ लेन विस्तार, अमलेखगन्ज–मोतीहारी पाइपलाइन, बाराको सिमरामा निर्माणाधीन गार्मेन्ट प्रोसेसिङ जोन, वीरगन्जको अलौमा हालै उद्घाटन भएको एकीकृत भन्सार चौकी, बारामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं जोड्ने द्रुतमार्ग लगायतका पूर्वाधारहरू प्रदेश २ को आर्थिक समृद्धिको ढोका खोल्ने आधार बन्न सक्छन् । एक उद्योगीका अनुसार उद्योग स्थापना गरेर नागरिकलाई रोजगार दिई राजस्व उठाउनुभन्दा पनि मालवस्तु आयात गरी कर उठाउने नीतिलाई निरुत्साहित गर्न आवश्यक छ । ‘औद्योगिक वातावरण निर्माण र लगानी भित्र्याउन सरकारले स्पष्ट नीति ल्याउन आवश्यक छ,’ ती उद्योगीले भने, ‘भ्रष्टाचार र कालोबजारीले उद्योग क्षेत्र धराशायी बन्दै गएको छ, दर्ता प्रक्रियादेखि नै बेथिति झेल्नुपरेको छ ।’

पोलिटेक्निक कलेज नहुँदा दक्ष कामदार अभाव चुलिएको छ । रुग्ण उद्योगलाई आर्थिक प्रोत्साहन नीति ल्याउन आवश्यक छ । मुलुकको अर्थतन्त्रको रक्तसञ्चार मानिने निजी क्षेत्रको आर्थिक गतिविधि सबल बनाउन बन्द र हडताललाई सधैँका लागि अन्त गर्न जरुरी छ । छिमेकी भारतको ठूलो बजार नजिकै भएकाले यहाँ निर्यातमुखी कृषिजन्य उद्योगको राम्रो सम्भावना छ । सीमावर्ती रक्सौल सहरमा भारतका विभिन्न राज्य जोड्ने रेल्वे सेवा उपलब्ध छ । रेलमार्गबाट जोडिएको एकमात्र सुक्खा बन्दरगाहसमेत यही प्रदेशमा परेको छ । शिक्षा र स्वास्थ्यका लागि पनि आधारभूत संरचना छन् । सीमावर्ती भारतको विहारका बासिन्दा आँखा उपचारका लागि सीमासँग जोडिएका नेपाली आँखा अस्पतालमा निर्भर छन् । वीरगन्जस्थित केडिया आँखा अस्पताल र सिरहाको आँखा अस्पतालमा उपचार गराउने भारतीय बिरामीको भीड लाग्ने गरेको छ । वीरगन्जमा एक निजी मेडिकल कलेज पनि सञ्चालनमा छ ।

यस्तै, पर्सा राष्ट्रिय निकुञ्जमा पाटे बाघे तथा ३ सय ३३ प्रजातिका चराचुरुंगी पाइन्छन् । पर्सा र बारासम्म फैलिएको यो निकुञ्जलाई पनि पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिन्छ । यसले पनि प्रदेशको अर्थतन्त्रमा टेवा पुर्‍याउँछ । धार्मिक पर्यटनमा पनि यस प्रदेशको बलियो सम्भावना छ । जनकपुरको जानकी मन्दिर, बाराको गढिमाई, सिम्रौनगढ, सप्तरीको छिन्नमस्ता, पर्साको गहवामाई, विन्ध्यवासिनी, रामभौरीभाटा, दुग्धेश्वरनाथलगायत धार्मिक स्थललाई व्यवस्थित गरी प्रचारप्रसारको माध्यमले धार्मिक पर्यटक आकर्षित गर्न सकिन्छ ।

प्रकाशित : वैशाख १, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?