१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खर्चिलो बन्दै होली

रङको उल्लास
कान्तिपुर टिम

काठमाडौँ — मधेसमा उत्साहले मनाइने होली खर्चिलो बन्दै गएको छ । दसैंमा जस्तै नयाँ कपडा, मासु, मदिरा, मिठाई र मिष्ठान्न भोजनमा हुने खर्च अनुमानभन्दा बढी हुन थालेको छ ।

खर्चिलो बन्दै होली

यसपटकको होलीमा सर्लाहीका व्यवसायी सञ्जय पासवानले होलीका लागि भनेर ५० हजार बजेट छुट्याएका थिए । त्यत्ति बजेटले नपुगेर थप्नुपर्‍यो । उनले होलीमा कति खर्च हुन्छ भन्ने अनुमान गर्नै नसकिने बताए ।


गरिबले पनि होलीमा सकिनसकी खर्च गर्छन् । तराईको होलमिा मांसाहारीका लागि होलीमा माछा, मासु अनिवार्य छ । साकाहारीले पनि मिष्ठान्न भोजनमा धेरै खर्च गर्छन् । रङ लगाएर मनाइने होलीका लागि सेतो वस्त्र लगाउने चलन छ । सेतो वस्त्रमा सजिएका पुरुषलाई पत्नीले सुरुमै रङ हाल्दिन्छन् । राम सिताले होली खेलेकोलाई आदर्श मानेर पति पत्नीबीच रङ हाल्ने चलनलाई मधेसमा निरन्तरता दिइएको छ ।


हरेक जसो गाउँमा मान्ने गरिएको ब्रह्मदेव बाबाको मठबाट होलीको गीत गाउँदै रङ दल्न सुरु गर्ने चलन छ । शिक्षक तथा सामाजिक अभियन्ता रजनीकान्त झाले रोगव्याधि र प्राकृतिक प्रकोपबाट बच्न हरेक गाउँमा स्थापना गरिने ब्रह्म बाबाको मठबाट होली गीत गाएर रङको सुरुवात हुने गरेको बताए । ‘मुख्य गरी राम–सीताकै गीतबाट होली सुरु हुन्छ,’ उनले भने, ‘पति, पत्नी, देवर, भाउजू, भिनाजु, सालीबीच होली खेल्ने परम्परा छ ।’


पहाडमा भन्दा एक दिनपछि खेलिने होली वर्षभरिको मनको मैला फाल्ने चाडका रूपमा पनि मधेसमा स्थापित भएको छ । मनमुटाव र बोलचाल बन्द हुनेबीच पनि होलीका बेला रङ दलादल हुन्छ । होली गीत गाउँदै आसपासका हरेक घरमा पुगेर रङ दल्दै खानपिन गर्नै चलन छ । आधुनिकतासँगै होलीलाई खाने पिउने पर्वका रूपमा लिन थालिएको झाले बताए । उनका अनुसार तीन पुस्ताबीच फरक होली हुन थालेको छ ।


बालबालिका पिचकारीमा, युवा खानपानमा र वयस्कले रङ दलेर होली मनाउने गरेका छन् । होलीका बेला सानाले ठूलाको खुट्टामा अबिर राखेर आशीर्वाद थाप्ने गर्छन् । ठूलाले सानालाई रङ दल्छन् । सांस्कृतिक मर्यादालाई कायम राख्दै होली मनाउने चलन परम्परादेखि नै रहेको झाले बताए । रामायणकालकै कथाका गीत होलीमा गाउँछन् । युवापुस्ताले परम्परागत होली बिर्सिंदै गएका छन् । पासवानले होली मनमुटाव बिर्सिएर रमाइलो गर्ने चाडका रूपमा बुझेको बताए । ‘वर्षभरि अनेक कारणले हुने मनमुटाव होलीका बेला खत्तम हुन्छ,’ उनले भने, ‘शरीरको मात्र नभएर मनको मैलो पनि होलीका बेला छुट्छ ।’


रङ लगाएपछि खानपान अनिवार्य मानिन्छ । खाना नखाएसम्म रङ दलेको पूर्ण नहुने मान्यता छ । पासवानले मदिरा र मासुमै बढी खर्च हुने गरेको बताए । ‘ऋण गरेर पनि महँगा मदिरा र ठूलो खसी काट्ने चलन छ,’ उनले भने, ‘मित्र मिलन र आफन्तको जमघट हुने अवसर भएकाले हरेकले मन खोलेर खर्च गर्छन् ।’


मधेसमा होलीका दिन सवारीसाधन निकै कम चल्छन् । हरेक व्यक्ति होली मान्न व्यस्त हुने गरेकाले सार्वजनिक सवारी लगभग बन्द नै हुन्छ । युवा उद्यमी सुरेन्द्र पासवानले होलीका बेला कसैले मधेस बन्द आह्वान गरे सफल हुने बताए । ‘निजी सवारी पनि चलाउने चालक पाइँदैन,’ उनले भने, ‘सबैभन्दा बढी रमाउने चाड नै होली बनेको छ ।’


मिश्रित बसोबास भएको ठाउँमा पहाड र मधेसको दुवै होली मनाउने चलन छ । सुरेन्द्रले दुवै दिन होली खेलेको बताए । ‘यसलाई अवसरका रूपमा लिनुपर्छ,’ उनले भने, ‘दुई दिन होली मनाउन माउने विरलैमा हामी पर्छौं ।’ पहाडी समुदाय पनि मधेसको होलीमा उत्तिकै रमेको हुन्छ । उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष सुशील चालिसेले मधेसको होली बढी रमाइलो हुने गरेको बताए ।


जोगिरा गाउँदै मारवाडी युवा

होली पर्वको बेला गाइने लोपोन्मुख जोगिरालाई जीवन्त राख्न लहानका मारवाडी युवाहरू सक्रिय भएका छन् । होली पर्वको आगमनसँगै गाइने जोगिरा गीत लोपोन्मुख हुन थालेपछि मारवाडी युवाहरूले शुक्रबार लहानका घरदैलोमा पुगी जोगिरा गाउँदै मृदङ्गको तालमा नाचेर मनाएका छन् ।


मिथिला संस्कृतिमा होली पर्वका बेला गाइने मौलिक जोगिरा गीतमा पाइने मिठासलाई विशेष मनोरञ्जनका रूपमा लिइन्छ । ‘हामीले जोगिराको सम्पूर्ण रूपले वाचन गर्न त सक्दैनौं तर यस्तो बेला हराइरहेको होलीको मौलिकतालाई पुन: फर्काउन सकिन्छ भन्ने सन्देश भने दिन खोजिरहेका छौ’ं, मारवाडी युवा मञ्चका अध्यक्ष विकास सारडाले भने, ‘आगामी होलीका बेला जोगिराको प्रतियोगिता नै गराउने योजना मञ्चको छ ।’


तराई–मधेसमा प्रचलित होलीमा गाइने मौलिक गीत ‘जोगिरा सररर’ लोप हुँदै गएपछि यसको संरक्षणमा लागिपरेको उनले बताए । ‘बाहिर पढ्न गएको बेला क्याम्पसमा साथीसंगीले जोगिराको बारेमा सोध्छन् तर आफूलाई यसबारेमा धेरै कुरा थाहा नहुँदा उनीहरूसँग पञ्छिनुपर्ने बाध्यता आइपर्छ,’ जोगिराको टिममा रमाइरहेका मारवाडी युवा सोनु खेतानले भने, ‘त्यसैले यसपालिको होलीदेखि जोगिराको संरक्षण गर्न र मिथिला संस्कृतिलाई केही मात्रामा भए पनि टेवा दिने प्रयास गरेका हौं ।’


होली पौराणिक कथा र ऐतिहासिक सन्दर्भहरूसँग गाँसिएको रातो रङको बाहुल्य भएको पर्व हो । रातो रङलाई मानिसको उल्लास, खुसियाली र विजयको प्रतिकका रूपमा लिइन्छ । यो रङप्रतिको मानिसको आकर्षण नैसर्गिक मानिन्छ । हिमाल, पहाड, तराईका विभिन्न ठाउँ र जातिमा फरकफरक तरिकाले हर्षोल्लासपूर्वक मनाइने होली पर्व ऐतिहासिकअभिलेखमा लिच्छविकालदेखि सुरु भएको पाइन्छ । होली खेल्ने अबिर र विभिन्न फूल तथा जडीबुटीबाट बनेका रस र रङले चर्मरोग निवारण र शीतकालमा उत्पन्न हुने सामान्य रोग निको पार्ने, होली खेलपछि साँझमा बालिने विभिन्न दाउराको आगोको रापले वातावरणमा भएका कीटाणु नाश हुने हुँदा स्वास्थ्य रक्षामा धेरै उपयोगी मानिन्थ्यो ।


तर अहिले त्यस्तो अवस्था रहेन । बजारमा अनेक थरी हानिकारक केमिकल प्रयोग गरी रङ खेलिन्छ त्यसले शरीरलाई हानि गरेको पाइन्छ । ‘अचेल होली विकृत रूपको मनोरञ्जनात्मक पर्वका रूपमा मनाउने चलन विकसित हुँदै गएको छ, जसले गर्दा होलीको मौलिकता, पौराणिकता मेटिने खतरा बढ्दो छ,’ समूहमा होलीमा रमाएका सौरभ अग्रवालले भने, ‘होली पर्वको मौलिकता जोगाउन प्रत्येक घर घरमा समूहमा जोगिरा गाउँदै सभ्य तरिकाले होली खेलेर यसको तत्त्व र विशेषतालाई निरन्तरता दिनै प्रयास गरेका छौं ।


फागुको पीडादायक पक्षलाई उन्मूलन गरी फागुलाई लतपत्याएर होइन, राम्रोसँग शृंगार गरी होली पर्व मनाउनुपर्छ ।’ मारवाडी युवाहरूको जोगिरा संरक्षणको अभियानलाई लहानका प्रबुद्ध वर्गले सराहना गरेका छन् । समाजशास्त्रीहरूका अनुसार संस्कार, संस्कृति, इतिहास, पुराण बोकेको यो पर्व भावनात्मक हुन सकेको छैन । एक दशक अघिसम्म यो भावनात्मक पर्वको रूपमा लिइन्थ्यो ।


लहान क्याम्पसका समाजशास्त्र एवं मानवशास्त्रका उपप्राध्यापक सोभितलाल चौधरी सत्य, त्रेता, द्वापर र कलियुगका पौराणिक पक्ष र विभिन्न ऐतिहासिक चरण तथा पाटासँग आबद्ध यो पर्वको व्यापकताले होलीको महत्त्वलाई प्रस्ट्याउने बताउँछन् । ‘तर युवापुस्तामा आएको विचलनले यसको मौलिकतामाथि प्रहार हुँदै गएको छ, यो गम्भीर चिन्ताको विषय हो,’ उनले भने, ‘होली विकृत र कुरूप बनाइनुहुन्न यस पर्वलाई भावनात्मक बनाउनैपर्छ, मारवाडी युवाको सक्रियता सराहनीय छ ।’ उनका अनुसार होली पर्व भक्त प्रल्हादको कथासँग पनि जोडिएको छ । मूलत: मिथक नै भए पनि भक्त प्रह्लादजस्तै चरित्र र दृढविश्वास भएका युगपुरुष नेपालको राजनीतिक क्षेत्रमा खाँचो देखिन्छ । मट्का फोड र जोगिरा होली पर्वको सांस्कृतिक धरोहरहरू भएकाले मिथिला संस्कृतिमा जोगिराबिना होली पर्वको रौनकता नझल्कने भएकाले यसको जगेर्नाका लागि पनि यसपटक सक्रिय भएको मारवाडी युवा राहुल शर्माले बताए ।


वर्तमान समयमा होली अथवा फागुपर्वको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वप्रति आँखा चिम्लिएर विकृत रूपको मनोरञ्जनात्मक पर्वका रुपमा मनाउने चलन क्रमश : विकसित हुँदै गइरहेकाले पनि आफूहरू यसको मौलिकतालाई जोगाउन जोगिरा संरक्षण अभियानमा सक्रिय भएको उनले बताए । एक–अर्काप्रति आत्मीयता प्रदर्शन गरेर रङ दल्दै मनोरञ्जन गर्ने पर्व हिजोआज अरूलाई दु:ख र पीडा दिएर आम्तसन्तुष्टि लिने परपीडक पर्वमा परिणत हुँदै गएको प्रति मारवाडी युवाहरूले यसपटक जोगिरा सररर गाएर नयाँ सन्देश दिएका छन्, ‘जोगिरा सररर...’

कौन तालपर ढोलक बजे, कौन ताल मृदंग

कौन तालपर गौरिया नाचे, कौन तालपर हम

‘जोगिरा सररर...’

प्रकाशित : फाल्गुन १९, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?