३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘मधेसको सपना बल्ल पूरा’

प्रदेशसभा पहिलो बैठक

काठमाडौँ — , र
जनकपुरधाम– प्रदेशसभाको पहिलो बैठक सुरु भएसँगै मधेसी जनताको ६५ वर्षदेखिको सपना पूरा भएको मधेस केन्द्रित दलका नेताहरूले बताएका छन् । उनीहरूले संघीयतालाई संस्थागत गर्न आर्थिक विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

‘मधेसको सपना बल्ल पूरा’

प्रदेश २ को आइतबार भएको पहिलो बैठकमा नेताहरूले मधेसी जनताको अधिकार, विकास र आर्थिक समृद्धिलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता जनाएका हुन् । राज्यको विभेदकारी नीतिका कारण यो क्षेत्र धेरै पछाडि परेको उल्लेख गर्दै उनीहरूले यसलाई खाद्य भण्डार र औद्योगिक प्रदेशका रूपमा विकास गर्ने प्रणसमेत गरे ।

‘राज्यको नीति विभेदकारी नभएको भए यो अन्न भण्डार आर्थिक रूपमा यति कमाजोर हुने थिएन । संघीयतालाई संस्थागत गरेर आर्थिक रूपमा यस प्रदेशलाई अघि बढाउन हामीबीच ठूला चुनौती छन् । तिनलाई अवसरका रूपमा लिएर अघि बढ्नुपर्छ, जसको दायित्व आज हाम्रो काँधमा आएको छ,’ प्रदेशसभाको ठूलो दल संघीय समाजवादी फोरमका नेता लालबाबु राउतले भने, ‘हामी परीक्षणको घडीमा छौं । मधेसको आन्दोलनले रोपेको यो प्रदेशलाई समृद्ध बनाएर छाड्छौं ।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मधेसी जनताले संविधान संशोधनको मुद्दालाई अनुमोदन गरेको बताउँदै उनले राजनीतिक अधिकारको मुद्दा अझै जीवित रहेको बताए । समृद्धिका लागि यस प्रदेशको प्रमुख आधार कृषि र उद्योग रहेको धारणा राख्दै राउतले सीमित स्रोत साधनको उच्चतम प्रयोगबाटै अघि बढ्न सकिने उल्लेख गरे । राजपा नेता जितेन्द्र सोनलले सहिदको बलिदानबाट संघीयता संस्थागत भएको यो घडीलाई स्वर्णिम अवसरका रूपमा लिनुपर्ने बताए । ‘मधेसी जनताले ६५ वर्षदेखि उठाएको माग आज भएर पूरा भएको छ,’ उनले भने, ‘हामीले जन्माएको यो संघीयताको बच्चालाई सभ्य र योग्य बनाउने जिम्मेवारी हाम्रै काँधमा छ ।’ प्रदेश २ अन्तर्गत पर्ने ८ मध्ये ५ जिल्लामा अझै शुद्ध खानेपानीसम्म जनताले नपाएको उदाहरण दिँदै उनले आर्थिक समृद्धिको दिशामा अघि बढ्न थुप्रै चुनौती रहेको बताए । ‘सिँचाइ छैन । जनकपुर चुरोट कारखाना समाप्त भयो । कृषि व्यवसाय धराशायी छ,’ उनले भने, ‘यसलाई अघि बढाएर यो प्रदेशलाई आर्थिक सम्पन्न बनाउने काम हाम्रै काँधमा छ ।’ मधेसको सपना साकार पार्न सानो दिल नलिन पनि उनले सबै दलका नेता तथा सांसदहरूलाई आग्रह गरे । ‘ठूलो दिलले उच्च शिखर चुम्न सकिन्छ,’ उनले भने, ‘मधेस संघीयता र गणतन्त्रको जननी हो । मधेसका नेता रामराजाप्रसाद र दुर्गानन्द झाले धेरैअघिदेखि नै गणतन्त्रको बिउ यसै भूमिमा रोपेका थिए । अब यसलाई अघि बढाउने र संस्थागत गर्ने दायित्वलाई हामीले कुशलतापूर्वक पूरा गर्नुपर्छ ।’

एमालेका सत्यनारायण मण्डलले प्रदेश सरकारलाई आफ्नो पार्टीले गुण र दोषका आधारमा रचनात्मक सहयोग गर्ने बताए । पहिलो बैठकमै एमालेभित्र कसले बोल्ने भन्नेमा ठूलो विवाद भएको थियो । विवाद नमिलेपछि पार्टीका लागि छुट्याइएको १० मिनेट समय मण्डल र अर्का नेता शत्रुघन महतोले ५/५ मिनेट बाँडेर उपयोग गरेका थिए । प्रदेशसभामा पहिलो दिन दलीय हैसियतमा बोल्नेले दलको नेता पाउन सक्ने समभावना भएपछि विवाद खडा भएको एमालेका एक सांसदले बताए । एमाले प्रदेश २ मा प्रमुख विपक्षी दलको भूमिकामा रहने सम्भावना छ । संघीय समाजवादी फोरम र राजपाको गठबन्धनमा सरकार निर्माण भएमा एमाले प्रमुख विपक्षी दल बन्नेछ ।

कांग्रेसका रामसरोज यादवले सिंहदरबारको अधिकार जनताको घरदैलोमा आएको यस क्षणलाई लिएर सबैले गौरव मान्नुपर्ने बताए । उनले प्रदेश २ लाई कृषि, पर्यटन र उद्योगको विकासबाट नै अघि बढाउन सकिने बताए । उनले सुनकोसी–कमला डाइभर्सनमार्फत यस क्षेत्रमा कृषिक्रान्ति ल्याउन सकिने दाबी गरे । ‘अहिले हाम्रो अर्को चुनौती नै चुरे संरक्षण हो, चुरेको असीमित दोहन र कटानले मधेस मरुभूमीकरण हुने खतरामा छ,’ यसलाई संरक्षण गरेर सिँचाइ सुविधासँगै सतहमुनिको पानीको तलस्तरसमेत उकास्न सकिने उनले भने ।

माओवादी केन्द्रका नेता भरत साहले यो प्रदेशलाई नेपालकै अन्न भण्डारका रूपमा विकास गर्न सकिने बताए । ‘मधेसका जनताले शुद्ध होइन, सामान्य पानी पनि पिउन पाएका छैनन्, चुरे विनाशले सबै नदीनाला सुकेका छन् । यी समस्याबीच पनि यो प्रदेशले सिंगै नेपाललाई धान्न सक्ने खाद्यान्न उत्पादन गर्न सक्छ । यसैबाट हामी अघि बढ्न सक्छौ,’ उनले भने । नेपाल संघीय समाजवादी पार्टीकी सावित्रीदेवी साह र स्वतन्त्र सांसद शेख अब्बदुल कलामले लामो संघर्षपछिको उपलब्धिका रूपमा संघीयता स्थापित भएको भन्दै खुसी प्रकट गरेका थिए ।

बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ७५ वर्षीय लगनलाल चौधरीले गरेका थिए । बैठकले संसदको अन्तरिम कार्यविधि पारित गर्नुका साथै सभामुखको निर्वाचन फागुन २ मा तोकेको छ । सभामुखको निर्वाचनअघि माघ २९ मै अर्को बैठक बस्ने भएको छ । बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न पाँच जना अध्यक्षमण्डलका सदस्यहरूको नाम अनुमोदन गरेको छ । बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य चौधरीले नेपालीमा सम्बोधन गरे पनि अन्य नेताहरूले मैथिली र हिन्दीमा बोलेका थिए । प्रदेश सरकार निर्माण भइनसकेका कारण कुन दललाई कता राख्ने भन्ने अन्योल यहाँ पनि देखियो । सर्वदलीय बैठकको सहमतिअनुसार ठूलो दललाई दायाँबाट क्रमश: राख्ने व्यवस्था गरिएको थियो ।

प्रकाशित : माघ २२, २०७४ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?