कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

शिक्षकको बिदाइमा विद्यालयमा रुवाबासी

श्रावण ३१, २०८१
शिक्षकको बिदाइमा विद्यालयमा रुवाबासी

Highlights

  • अनि, चल्यो विद्यालयको प्रार्थनासभामै रुवावासी...

पाँचथर — विज्ञान शिक्षक दुर्गाप्रसाद शर्मा बरालले २० महिना च्याङ्थापुस्थित विष्णु माध्यमिक विद्यालयमा शिक्षण गरे । शिक्षण अवधिभर उनी कक्षाकोठामा मात्रै सीमित रहेनन् । बिहान १० बजेअघि र साँझ ४ बजेपछि विद्यार्थीका घर–घर पुगेर पनि पढाउने गर्थे ।

सार्वजनिक बिदाका दिन उनी विद्यालयदेखि टाढाबाट धाउने विद्यार्थीका घर पुग्थे । हिँड्दा हिँड्दै भेटेर सोध्दा होस् वा फोन गर्दा नझर्कीकन विद्यार्थीको समस्या समाधानमा केन्द्रित हुन्थे । यो अवधिमा उनले कुनै विद्यार्थीलाई गाली गरेनन्, बरु मनोविज्ञान बुझेर त्यहीअनुरूप समस्या समाधान गरिदिन्थे । उनी विद्यार्थी र शिक्षक स्टाफसँगै अभिभावकका पनि प्रिय थिए ।

सदैव विद्यार्थीलाई केन्द्रबिन्दुमा राखेर अध्यापन गर्ने र च्याङ्थापु बासिन्दाका प्रिय उनै बराल सरको अहिले झापाको गडीगाउँ माध्यमिक विद्यालयमा सरुवा भएको छ । बराल सरको सरुवाको खबरले प्रायः विद्यार्थी भावुक भए । बिहीबार बिहान १० बजे प्रार्थना समयमा विद्यार्थी लाइन लागे । यही बेला उनको बिदाइको घोषणा भयो । शिक्षक स्टाफले अबिर र माला लगाउन थाले । एकाएक माहौल परिवर्तन भयो ।

एकपछि अर्को गर्दै सबै विद्यार्थी डाँको छोडेर रुन थाले । विद्यालय परिसरमा कोकोहोलो मच्चियो । माध्यमिक तहका विद्यार्थी रुन थालेपछि आधारभूत तहका नानीबाबुहरू रुनु स्वाभाविकै थियो । एकपछि अर्को गर्दै शिक्षक/शिक्षिका र स्टाफ पनि रोए । माहौल सम्हाल्न हम्मेहम्मे पर्‍यो । शिक्षक र विद्यार्थी मात्रै होइन, भेला भएका अभिभावक पनि डाँको छोडेर रुन थाले । ‘स्कुलमा अप्रिय घटना पो भयो कि भनेर हेर्न जाँदा बराल सरको बिदाइ रहेछ, त्यहाँ पुगेपछि आफैंलाई सम्हालिन गाह्रो भयो,’ स्थानीय देउकुमार राईले भने ।

माहौल शान्त नहुने देखेपछि उद्घोषकको भूमिकामा रहेका शिक्षक तिलचन अधिकारीले बिदाइ हुनु भनेको फेरि भेट हुनु पनि हो, सरले चकलेट लिएर आउनु भएको छ, कक्षा १२ का भाइबहिनीले सबैलाई बाँडिदेऊ, मुख मिठा गरेपछि सरसँग चाँडै भेट हुन्छ भन्दै सान्त्वना दिन खोजे । त्यसपछि पनि माहौल शान्त भएन । विद्यार्थी, शिक्षक र अभिभावकको रुवाबासी देख्दा बराल सर झनै भावुक भए । सम्हालिनै नसक्ने अवस्थामा पुगेपछि उद्घोषकले कार्यक्रम छोट्याए । बराल सरलाई विद्यालय परिसरबाट बाहिर लगियो । डेरामा आएर मोटरसाइकल स्टार्ट गर्दै नयाँ गन्तव्यतर्फ अघि बढे ।

‘उहाँको बिदाइमा भावुक भएका विद्यार्थी कक्षाकोठा गएर पनि पढ्न सकेनन् । दिनभरजसो डाँको छोडेर रोइरहे, आखिर हामी शिक्षकले कमाउने यही नै रहेछ,’ अंग्रेजी शिक्षक पुष्पप्रसाद सेढाईले भने ।

गाउँका विद्यालयमा विज्ञान पढाउने शिक्षक पाउनै मुस्किल हुन्छ । शिक्षकका रूपमा बराल यहाँ आउनुअघि लामो समय विद्यालयमा दरबन्दी रिक्त थियो, हाजिर भएका दिनदेखि उनी कहिल्यै गयल भएनन् । ‘स्कुल बिदा हुने दिन अन्तिम समयसम्म विद्यालयमै रहनुहुन्थ्यो, बिदापछि स्कुल लागेकै दिन आइपुग्नु हुन्थ्यो, कमजोर विद्यार्थीको मनोविज्ञान बुझेर पढाउनुहुन्थ्यो, घरघरमै धाएर सिकाउनु हुन्थ्यो, यी र यस्तै कारण उहाँको बिदाइ भावुक हुन पुग्यो,’ व्यवस्थापन समिति अध्यक्ष सन्तकुमार बेघाले भने, ‘प्रविधिमैत्री पनि हुनुहुन्थ्यो, उहाँ शिक्षक मात्रै होइन, हाम्रो असल अभिभावक र साथी पनि हुनुहुन्थ्यो, यत्तिका समय रहँदा कसैलाई ठूलो स्वरले कराउनु भएन, इन्टरनेट र प्रयोगशालाको भरपूर उपयोग गर्दै सिकाउनुभयो ।’ उनले स्कुलमा मात्रै सीमित नभएर घरघर धाएर पनि पढाएको बेघाले बताए ।

‘बराल सरले कसैलाई होचो अर्घेलो गर्नुभएन, उहाँ कक्षामा आएपछि ४५ मिनेट बितेको थाहै पाइन्नथ्यो, गल्ती गरिहाले पनि गाली गर्नुभएन, बरु फेरि गल्ती नदोहोर्‍याउन अर्ती उपदेश दिनुहुन्थ्यो, सरुवा भएर गए पनि हामी उहाँलाई बिर्सन सक्दैनौं,’ अर्का छात्र राकेश शंखरले भने । ‘माध्यमिक तहमा कार्यरत विज्ञान विषयका धेरै शिक्षकले कक्षा कोठामा मिहिनेत गर्नु भन्दा ट्युसन पढाउने योजना बनाउँछन् । ट्युसनबाटै कमाउने उनीहरूको ध्याउन्न हुन्छ । ‘उहाँमा कहिल्यै लोभ लालच आएन, उहाँको त्यही लगनशीलताले विज्ञान विषयमा विद्यार्थीको लगाव बढेको त छँदैछ, नतिजामा सुधार पनि आउन थालेको छ,’ प्रधानाध्यापक गंगा खरेलले भने ।

प्रकाशित : श्रावण ३१, २०८१ १८:५९
x
×