विराटनगर — जनताको गुनासो सुनेर तत्काल सम्बोधन गर्ने उद्देश्य राखेर कोशी प्रदेश सरकारले 'हेल्लो सीएम' सेवा सुरु गरेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार 'हेलो सीएम' सेवाको सुरुवात गरेका हुन् । प्रदेश सुशासन ऐन, २०७६ अनुसार यो सेवा सुरु गरिएको हो ।
२४ घण्टा जनताको गुनासो सुन्न सक्ने गरी व्यवस्थापन गरिएको छ । मुख्यमन्त्री कार्कीले यसले शासकीय सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 'सरकारका विभिन्न सेवा र निकायका काम-कारबाहीलाई प्रभावकारी बनाउन 'हेलो सीएम' कार्यक्रम महत्वपूर्ण हुने विश्वास छ,' मुख्यमन्त्री कार्कीले भने ।
प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले वर्तमान सरकारले शासकीय सुधारमा उल्लेख्य काम गरेको जनाए ।
प्रकाशित : श्रावण ३१, २०८१ १४:०७