पाँचथर — अग्ला डाँडामा टावर बनाउने अनि डोजर लगाएर वन र जलसम्पदा दोहन गर्ने क्रम देशभर नै बढिरहेका बेला पाँचथरको फिदिम नगरपालिका–१३ जेभालेमास्थित हुक्मा डाँडामा भने पर्यटकलाई अकर्षित गर्न ढुंगामा राष्ट्रिय विभूति र झण्डासहित हिन्दु, बौद्व र किराँत धर्मसँग सम्बन्धित मूर्ति बनाइएको छ ।
पहाडको टाकुरामा रहेका ठुल्ठुला ढुङ्गा कुँदेर बनाइएका मूर्तिहरूमा रंगरोगन गरेर अन्तिम रुप दिइएको छ । हुक्माको चुचुरोमा परैबाट देख्न सक्ने गरी किराँतका अराध्यदेव सुम्निमा र पारुहाङ र किराँत झण्डा, भगवान गौतम बुद्ध, नेपालको राष्ट्रिय झण्डा, नेपालका १६ औं विभूति महागुरु फाल्गुनानन्द र हिन्दु धर्मावलम्बीका आराध्य देवता महादेवका मूर्ति बनाइएका छन् । त्यहाँ कुदिएका प्रत्येक मूर्तिको औसत उचाई ८ फुट रहेको हुक्मा डाँडाको पर्यटन अभियन्ता गजेन्द्र राईले बताए ।
चट्टानी पहाडको चुचुरा माथि आकर्षक बाटिका निर्माणसँगै मूर्तिहरू पनि राखिएपछि त्यहाँ पर्यटकको भिड लाग्न थालेको छ । ढुंगा काटेर मूर्ति बनाउन र पार्क निर्माण गर्न देशविदेशमा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । फेसबुकमार्फत गरिएको आव्हानमा जोडिएकाहरू हालसम्म १२ लाख रुपैयाँ हाराहारी सहयोग गरेको पनि राईले बताए ।
ढुंगामा मूर्ति कुँदेर रंग लगाउने काम मूर्तिकार विमल राईले गरेका हुन् । उनले करिब डेढ महिनामा सबै मूर्ति निर्माण गरेका हुन् ।
सदरमुकाम फिदिमदेखि २४ किलोमिटर पूर्वोत्तरमा रहेको यो स्थानलाई पर्यटकीय स्वरुप दिन नगरपालिका र प्रदेश सरकारले पनि लगानी गरेका छन् । हुक्मा डाँडाको पर्यटकीयस्थलसम्म पुग्न फिदिम नगरपालिकाले पदमार्ग निर्माण गरेको छ भने प्रदेश सरकार र स्थानीयको साझेदारीमा खेल मैदान, शौचालय र चेन्जिङ रुम जस्ता संरचना बनेका छन् । यसलाई अन्तिम रुप दिन बाँकी नै रहेको बताइएको छ ।
संरचना निर्माण भइ नसक्दै यो क्षेत्रमा आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । यहाँ दैनिक एकदेखि डेढसयसम्म नागरिक घुम्न पुग्ने गरेका छन् । शनिबार र सार्वजनिक बिदाका दिन सदरमुकाम फिदिम र छिमेकी तेह्रथुमसँगै अन्यत्रबाट पनि आन्तरिक पर्यटक आउने गरेको स्थानीय बताँउछन् ।
‘पर्यटन प्रवर्द्धनका नाममा पछिल्लो समय सुन्दर र प्राकृतिक स्रोत साधन सम्पन्न स्थानमा कंक्रिटका संरचना निर्माण गर्ने क्रम बढिरहेका बखत चट्टानी पहाडका ढुंगा सजाएर आकर्षक स्वरुप दिन खोज्नु निकै नै सिर्जनात्मक लाग्यो,’ हिलिहाङ–७ का दुर्गा पोखरेलले भने ।
तस्बिरहरु : लक्ष्मी गौतम/कान्तिपुर