कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

यात्रु पाए निगमले बुधबारदेखि काठमाडौं–ताप्लेजुङ उडान गर्ने 

श्रावण २९, २०८१
यात्रु पाए निगमले बुधबारदेखि काठमाडौं–ताप्लेजुङ उडान गर्ने 

ताप्लेजुङ — गत जेठ ११ गतेदेखि उडान हुन नसकेको ताप्लेजुङको सुकेटार विमानस्थलमा बुधबार (भोलि) देखि उडान सुरु हुने भएको छ । नेपाल वायुसेवा निगमले उडान तालिका राखेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

निगम यतिबेला बुधबारका लागि यात्रुको खोजीमा रहेको छ । यात्रु भए र मौसमले साथ दिए उडान निश्चित भएको पौडेलले बताए । निगमले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्दै आएको छ । जेठ ११ गते अन्तिम उडान गरेको निगमले त्यसपछि सातामा एकदिन तालिका राखेपनि उडान भने गरेको छैन ।

यसअघि सोमबार, बुधबार र शनिबार गरी साताको तीन उडान गर्दै आएको थियो । मौसममा सुधार आएसँगै उडान गर्न सकिने वातावरण भएपछि तालिका राखिएको निगमको दाबी छ । गतवर्ष पनि असारदेखि स्थगित भएको उडान भदौदेखि सुरु गरेको थियो । लामो समय उडान नभएकाले काठमाडौंदेखि ताप्लेजुङ आउने र ताप्लेजुङदेखि काठमाडौं जाने यात्रु नभएको ताप्लेजुङ स्टेसनका कुमार गुरुङ बताउँछन् ।

प्रकाशित : श्रावण २९, २०८१ ११:१४
x
×