ताप्लेजुङ — आइतबार रातिको वर्षाले मैवाखोला गाउँपालिका-१ ढुङ्गेसाँघु तेल्लाबुङकी ६४ वर्षीय भोटेनी लिम्बुनीको घर भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुंगेलीका अनुसार घरमा एक्लै बस्दै आएकी महिला भने भाग्न सफल भएकी छन् । गाउँपालिका अध्यक्ष विजय पैकाश वनेमका अनुसार विद्युत् प्राधिकरणले निर्माण गरिरहेको ढुङ्गेसाँघु सब-स्टेसनबाट निकास भएको पानी पसेर घरमा क्षति पुर्याएको हो । यहाँको पानी पधेरे खोल्सा हुँदै गएको र घरतिर पसेको वनेमले बताएका छन् ।
वर्षाले यो क्षेत्रको मोटरबाटोमा समेत अवरोध पुर्याएको छ । पञ्चमी डाँडा क्षेत्रको सडक जोखिमपूर्ण रहेकाले यात्रुहरूलाई पिपल चोक तेम्वे लेकुवाको बाटो प्रयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ । विस्थापित महिलालाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।