धनकुटा — अविरल वर्षासँगै पहिरो जाँदा धनकुटाको महालक्ष्मी नगरपालिका ७ ढोडेमा दुई घरमा क्षति पुगेको छ । स्थानीय डम्बर विश्वकर्मा र जमुना घलेको घर पहिरोले पुरेको प्रहरीले जनाएको छ ।
विश्वकर्माको घर पहिराले पुर्दा पूर्ण रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । ढुंगामाटोको गारो र जस्तापाताले छाएको उक्त घर पुर्दा परिवारका सदस्यलाई उद्धार गरिएको छ भने त्यहाँ रहेको सम्पूर्ण सामग्री पहिरोले पुरेको छ ।
स्थानीय जमुना घलेको पसल रहेको घरसमेत पहिरोले क्षति पुर्याएको महर्जनले बताए । घलेको जुत्ता चप्पल पसल रहेको घर माथिबाट खसेको पहिरोले आधा भाग पुरेको छ । दुवै घटनामा अनुमानित १५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । स्थानीय डम्बर विश्वकर्माको घरसमेत पहिरोको उच्च जोखिममा रहेको छ ।
पहिरोबाट प्रभावित परिवारलाई प्रहरी तथा स्थानीयबासीले उद्धार गरेका छन् । प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
प्रकाशित : श्रावण २५, २०८१ १८:२५