संखुवासभा — नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्यता रहेको पूर्वका संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुंग, धनकुटा लगायतका जिल्लामा शुक्रबारबाट लाखे नाच सुरु भएको छ ।
नेवार संस्कृति र परम्परा अनुसार भीमसेन मन्दिरमा पूजाआजा र सगुन खुवाएर नाग पञ्चमीबाट लाखे निकालिन्छ । संखुवासभामा खाँदबारी र चैनपुरमा रहेको भिमसेन मन्दिरबाट विधिवत रुपमा लाखेनाच सुरु गरिएको हो । नेवा देय दबु संखुवासभाको नेतृत्वमा सदाझैं यो वर्ष पनि खाँदबारी, चैनपुर, सिभुवा, तुम्लिडटार लगायतका व्यापारिक केन्द्रमा लाखेनाच सुरु भएको हो । लाखे कृष्णजन्माष्टमीको दिन भिमसेन मन्दिरमा नाच प्रदर्शन गरेपछि सकिन्छ । यो वर्ष नेवा देय दबुले सूचीकृत गरेरमात्रै लाखे नाच्न दिने व्यवस्था मिलाइएको छ ।
संखुवासभामा बसोबास गर्ने नेवार समुदायका समूह र संस्था वा व्यक्तिहरुलाई मात्रै लाखेनाचमा सहभागी हुन आग्रह पनि गरेको छ । खाँदबारी नगर अध्यक्ष पुष्पबहादुर श्रेष्ठका अनुसार लाखे नाच्न अनिवार्य रुपमा नेवा देय दबुमा सूचीकृत हुनुपर्ने छ । 'लाखे नाचमा मादक पदार्थ सेवन गरी हुलहुज्जत गर्न पाइँदैन,' उनले भने, 'यातायातका साधन, पैदलयात्री र घरघरमा गएर जथाभावी रकम असुल्न पाइने छैन ।'
'लाखे नेवार समुदायको संस्कृतिसँग जोडिएको छ,' नेवा देय दबु संखुवासभाका अध्यक्ष सीता शाक्य भन्छिन्, 'अन्य वर्ग वा समुदायबाट लाखेनाच प्रस्तुत गर्न पाइने छैन ।'
'नेवार जातिको संस्कृति र पहिचानको रुपमा मनाइने जात्रा पर्वको हो,' उनले भनिन्, 'नेवा देय दबुले विशेष परिस्थितिबाहेक समय अवसर वा अन्य कार्यमा लाखेनाचलाई प्रस्तुत गर्न पूर्ण बन्देज गरेको छ ।'
प्रकाशित : श्रावण २५, २०८१ १८:५४