धनकुटा — नागपञ्चमी पर्वको अवसरमा धनकुटाको पर्यटकीयस्थल हिलेमा रहेको बक्रकुण्ड धाममा शुक्रबार विशेष मेला लागेको छ । वक्रकुण्ड पञ्चेश्वर धार्मिक तथा पर्यटन विकास समिति हिलेको आयोजनामा वक्रकुण्ड धाममा नागपञ्चमीका अवसरमा प्रत्येक वर्ष मेला लाग्ने गर्दछ ।
त्यसस्थानमा रहेको पाथीभरा, वक्रकुण्डलगायत दर्जन बढी देवालयको पूजा गर्न तथा गुफा नियाल्न धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभालगायत जिल्लाबाट सर्वसाधारण पुग्ने गरेको समितिका अध्यक्ष लालचन्द्र गोङ्बाले जानकारी दिए ।
उक्त अवसरमा विभिन्न समूहबीच भजन तथा नृत्य प्रतियोगिता पनि आयोजना गरिएको गोङ्बाले बताए । वक्रकुण्ड थुम्कीबाट मनोरम दृश्यावलोकन गर्न सकिने भएकोले पर्यटकीय दृष्टिले पनि उक्त स्थानमा सर्वसाधारणको जमघट हुने गरेको छ । वक्रकुण्ड थुम्कीबाट पूर्वका तीन वटा राष्ट्रिय निकुञ्ज कञ्चनजंगा, मकालु वरुण र कोसी टप्पु वन्यजन्तु आरक्षण नियाल्न सकिन्छ । त्यहाँस्थित १ सय ८ सीढी उक्लिएर मौसम सफा रहेको बखत ती स्थान नियाल्न सकिने स्थानीयले बताए ।
अरुण उपत्यका, मकालु हिमशृंखला र वरिपरी चियाबारीको हरियालीले सर्वसाधारणलाई लोभ्याउने गरेको स्थानीयवासी उमेश घिमिरेले बताए । मेलास्थलमा संगीनी गीत नृत्यको प्रतियोगितासमेत आयोजना गरिएको आयोजकले जनाएको छ । उक्त स्थानमा १४ वर्ष पहिलेदेखि नागपञ्चमीको दिन विशेष पूजा तथा मेला लाग्ने गर्दछ ।