कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाया खायो

श्रावण २३, २०८१
खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाया खायो

खोटाङ — बाघले पशुचौपाया खान थालेपछि किसान आतंकित बनेका छन् । जिल्लाका विभिन्न ठाउँमा गरी दुई दर्जन पशुचौपाया खाएपछि किसान आतंकित बनेका हुन् । सोमबार राति बाराहापोखरी गाउँपालिका–१ का हाकिमध्वज राईको घर छेउको गोठमा एउटा खसी मार्नुका साथै गोठबाट लगेर करिब पाँच सय मिटर पश्चिममा लगेर आधा खाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

त्यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाडाँगाउँका कृष्ण कार्कीको दुई वटा बाख्रा र एउटा खसी सामेबार दिउँसो मारेको तथा एउटा खसी घाइते बनाएको कार्कीले बताए ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका भीममायाा चौहानको घर बाहिर बाँधेको कुकुर साउन १९ गते मारेको थियो । त्यसै दिन उक्त गाउँकै पशुपति भण्डारीको खोरमा बाँधिराखेको एउटा खसी मारेको र साउन १८ गते दिउँसो चराउन जङ्गल लगेको बेला त्यही गाउँका देवीबहादुर कार्कीको एउटा बोका खाएको प्रहरीले जनाएको छ ।

केपिलासगढी गाउँपालिका–२ खार्तम्छा मामतिममा सबैभन्दा बढी पशुचौपाया क्षति गरेको छ । वडाध्यक्ष मिलन राईका अनुसार समला राईको एउटा बाख्रा, रञ्जीत राईको दुई वटा बाख्रा, देवराज राईको दुई वटा बाख्रा, मिनालक्ष्मी राईको एउटा बाख्रा, भरत विष्टको एउटा बाख्रा, हर्काश खड्काको दुई वटा बाख्रा, कुमारी खड्काको दुई वटा बाख्रा, बुद्धिराज राईको चार वटा सुगुर खाएको छ ।

‘निगाले चितुवाले एउटै टोलमा यत्ति धेरै पशुचौपाया नष्ट गरेको छ,’ वडाअध्यक्ष राईले भने, ‘हिउँदमा पनि धनबहादुर राईको एउटा बलेग्रो (भेडाको बोका) खाएको थियो, बर्खामा त टोलकै सखाप पारिदियो ।’

उक्त टोलमा मारेको पशुचौपाया गाउँपालिकाको राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत अनुदानबाट वितरण गरिएको वडाध्यक्ष राईको भनाई छ । जिल्लामा पशुचौपाया मार्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरीले डिभिजन वन कार्यालय खोटाङलाई पत्र मार्फत आग्रह गरेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

डिभिजन वन कार्यालय खोटाङका प्रमुख पशुपति दाहालले पशुचौपाया क्षति नियन्त्रणका लागि मातहतका वन कार्यालयहरूलाई पत्राचार गरिएको र क्षतिपूर्तिका लागि पहल सुरु गरेको बताए ।

प्रकाशित : श्रावण २३, २०८१ २०:४५
x
×