पाॅचथर — सेताम्मे केञ्जो फूलेपछि पाँचथर र ताप्लेजुङको सीमावर्ती तिम्बुङ पोखरी क्षेत्र मनमोहक बनेको छ । साउन दोस्रो सातादेखि फुल्न थालेको केञ्जो यतिखेर वयस्क भइसकेको स्थानीय बताउँछन् ।
पदमचाल नामले चिनिने केञ्जो हेर्नमा आकर्षकसँगै औषधीय गुणयुक्त मानिन्छ । यो वनस्पति भदौ पहिलो साताभित्र फुलिसक्ने स्थानीय बताउँछन् । पाँचथरको याङवरक र ताप्लेजुङको सिदिङ्मा गाउँपालिकाको सीमानामा पर्ने तिम्बुङ पोखरी क्षेत्र केञ्जो धेरै फूल्ने स्थानमा पर्छ ।
४ हजार ३ सय ८० मिटर उचाइमा अवस्थित तिम्वुङ पोखरी क्षेत्रमा केञ्जो फूलेसॅगै पर्यटक आउने क्रम पनि बाक्लिएको स्थानीय कृष्ण प्याकुरेलले बताए । विशेषतः नाग पञ्चमीदेखि रक्षा बन्धनसम्म यो स्थानमा आन्तरिक र धार्मिक पर्यटकको भीड लाग्छ ।
तिम्वुङ छेउछाउ शिव पोखरी, सूर्य कुण्ड, दुध कुण्ड, हाँस पोखरी मयुरपोखरी, नीरपोखरी लगायतका अठार वटा पोखरी छन् । तिम्बुङ क्षेत्र ऐतिहासिक, धार्मिक, जैविक विविधताले सम्पन्न मानिन्छ । यहाँ पाँचथर सदरमुकाम फिदिमबाट मेची राजमार्ग र निर्माणाधीन मध्यपहाडी लोकमार्ग प्रयोग गरेर च्याङथापुको बाटो भएर पुग्न सकिन्छ ।
योसँगै झापाबाट इलामको फिक्कल पशुपतिनगर, सन्दकपुर र फालौट भएर पनि यहाँ पुग्न सकिन्छ । यस क्षेत्रमा हरेक वर्ष जेठदेखि असोज सम्म,स्वदेशी तथा विदेशी पर्यटक आइपुग्छन साउन र भदौ महिना यस स्थानको भ्रमणका लागि सर्वोत्तम मानिन्छ । पर्यटकको सुविधाका लागि होम स्टे र चौंरी गोठ व्यवसायीले सेवा गर्छन् ।
यहाॅ जाने पर्यटकले याकलाई भारी बोकाएर लैजाने सुविधा पनि छ । तिम्बुङ पोखरीमा असोज देखि वैशाख महिनासम्म हिउँ पर्ने गरेकाले त्यो सिजनमा खासै आउजाउ हुॅदैन । मौसम सफा भएका बेला यहाँबाट कन्चनजंघा र कुम्भकर्णसहित विभिन्न हिम श्रृखंलाको मनमोहक दृष्य, अग्ला पहाडका थुम्का हुँदै भारत र सिक्किमका विभिन्न ठाउँदेख्न सकिन्छ ।
यस क्षेत्रमा केञ्जोसॅगै विभिन्न प्रजातीका गुराॅस चिमल, माइकोपिला, सुनाखरी, पाॅचऔले, हड्चुर, कालो र सेतो विख्मा कुड्की पाखनबेत बुढोओखती, भैरुङ्पाती, सुनपाती, सिक्पा जस्ता वनस्पती, भालु कस्तुरी, बनभेडा, बॅदेल, रेडपाण्डा र हिम चितुवा आदि दुर्लभ प्रजातीका बन्यजन्तु पाइने अध्ययनहरुले देखाएको छ ।
यस क्षेत्रको विकासका लागि ताप्लेजुङ र पाँचथरदुवै तर्फबाट प्रयास भइरहेका छन् । पोखरी सम्म पुग्ने घोडेटो बाटो निर्माण भएको छ । दुवै स्थानीय तहको पहलमा एकिकृत विकास योजना बनाउने तयारी भइरहेको याङवरक गाउॅपालिका अध्यक्ष भिमबहादुर योङ्याले बताए ।
प्रकाशित : श्रावण २३, २०८१ २०:४०