कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

नाकामा सीसी क्यामेरासहित उच्च सुरक्षा सतर्कता अपनाउने निर्णय

श्रावण २३, २०८१
नाकामा सीसी क्यामेरासहित उच्च सुरक्षा सतर्कता अपनाउने निर्णय

धनकुटा — कोशी प्रदेशका विभिन्न पहाडी जिल्ला जोड्ने नाका तथा संवेदनशील स्थानमा उच्च सुरक्षा सतर्कता अपनाउने निर्णय भएको छ । कोशी प्रदेशका तीन जिल्लाको संयुक्त सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

धनकुटाको पाख्रीबासस्थित संसारी सिमसारस्थानमा बुधवार बसेको धनकुटा, भोजपुर र संखुवासभाको संयुक्त सुरक्षा समितिको बैठकले राजमार्गबाट विभिन्न जिल्ला नाका तथा संवेदनशील ठहर्‍याएका स्थानमा सुरक्षा सतर्कता बढाउने निर्णय भएको हो ।

पछिल्लो समय ती स्थानबाट लागूऔषध ओसारपसार तथा अवाञ्चित गतिविधिमा सम्लग्न समूह वा व्यक्तिको आवतजावत बढेको भन्दै नाकामा सुरक्षा कडाइ पारिने भएको बैठकपछि जानकारी दिइएको हो । धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार गाँजा लगायत लागूऔषधको ओसारपसारमा समेत ती नाका प्रयोग हुनेक्रम बढेको भन्दै सुरक्षा व्यवस्था कडाइ पारिने भएको छ ।

‘जिल्ला जोड्ने स्थानलाई प्राथमिकतामा राखेर सुरक्षा प्रबन्धमा कडाइ गरिने बैठकबाट निर्णय गरिएको छ’, उनले भने, ‘सडक सञ्जालले जोड्ने नाका तथा नदी घाटस्थलमा सीसी क्यामेरा जडान गरिने छ ।’ यसैगरी, विभिन्न जातीय समूहबाट हुन सक्ने द्वन्द्वको अनुमान गरेर त्यसतर्फ पनि सुरक्षा प्रबन्ध मजबूत पारिने जनाईएको छ ।

वर्तमान अवस्थामा जटिलता नभएपनि जातीय समुहबाट हुनसक्ने द्वन्द्वको अनुमान गरेर त्यसतर्फ सतर्कता अपनाइने पौडेलले जनाए । संकास्पद व्यक्ति वा समुह उपर जिल्लागत समन्वय गरिने भएको छ । बढ्दो गाँजा उत्पादन नियन्त्रणमा अधिकतम प्रयास भइरहेको भन्दै उनले तालुक निकायसंग समन्वय गरेर गाँजा निरुत्साहित गर्न अघि बढ्ने बताए ।

‘लागूऔषधको उत्पादन, ओसारपसार र दुर्व्यवसनलाई तीनै जिल्लाको तहबाट सुरक्षा गम्भीरता बढाइने छ’, उनले भने, ‘सुचना सम्प्रेषणमा जिल्लागत समन्वय प्रभावकारी बनाइने छ ।’ गाँजा उत्पादन तथा प्रशोधन उच्च रुपमा बढ्दै गएको बैठकको निष्कर्ष छ । तर, गाँजा नियन्त्रणमा कडाइ गर्दा राजनीतिक रुपमा दवाव आउने गरेको एक सहभागी अधिकारीले बताए ।

यसैगरी, उक्त बैठक बाढि पहिरो तथा विपद्मा केन्द्रीत भएको छ । विपद्जन्य घटना हुना साथ जुन जिल्लाको पहुँच पुग्छ, त्यसै जिल्लाले उद्धारमा पहिलो प्राथमिकता दिइने बैठकको निष्कर्ष छ ।

बैठक आकस्मिक रुपमा आयोजना गरिएको र यसलाई नियमित रुपमा राखिने समेत बताइएको छ । उक्त बैठकमा प्रमुख जिल्ला अधिकारीहश्र धनकुटाका पुण्यविक्रम पौडेल, संखुवासभाका ध्रुबबहादुर खड्का र भोजपुरका नरबहादुर थापा लगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु सहभागी थिए । बैठकको समन्वय जिल्ला प्रशासन कार्यालय धनकुटाले गरेको थियो ।

प्रकाशित : श्रावण २३, २०८१ १७:५६
x
×