संखुवासभा — नेपाल राष्ट्रिय कर्मचारी संगठनले नेपाल विद्युत् प्राधिकरण कार्यालय खाँदबारी वितरण केन्द्रअन्तर्गत मादीका इन्चार्जसहित कर्मचारीमाथि कुटपिट भएकामा आपत्ति जनाएको छ । विद्युत् महसुल नतिरेपछि लाइन काटिएको र लाइन जोड्न धम्की दिँदै साउन १५ मा कर्मचारीमाथि कुटपिट भएको हो ।
संगठनका अध्यक्ष भोलामान राईले सोमबार विज्ञप्ति निकालेर कामको सिलसिलामा राजकुमार राई र ओटेजीमा खटिएका विद्यार्थी प्रदीप जिमीमाथि कुटपिट भएकामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन् । विद्युत् महसुल नतिरेर लाइन काटिएको विषयमा विवाद हुँदा राई र जिमीमाथि गालीगलौज, हातपात तथा कुटपिट भएको थियो ।
कुटपिट गरेको आरोपमा मादी नगरपालिका–४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बूविरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा मुद्दा दर्ता भइसकेको छ । उनीहरु विरुद्ध अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । उजुरीलगत्तै उनीहरु फरार छन् ।
स्थानीय लिङ्थेपको क्रसर उद्योगले ६ लाख ४० बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको थियो । कर्मचारीमाथि कुटपिट भएपछि मादीस्थित शाखा कार्यालय गत साउन १५ देखि बन्द छ । कर्मचारीमाथि कुटपिट भएपछि अन्य कर्मचारीसमेत डरत्रासले कार्यालय बन्द गरेर सदरमुकाम आएका छन् ।
प्रकाशित : श्रावण २१, २०८१ १६:०६