खोटाङ — जालपा–सप्तेश्वर–बाक्सिला–बहाने पर्यटन सडक निर्माण अलपत्र परेको छ । सनफ्लावर कन्ट्रक्सन एण्ड सप्लायर्सले ठेक्का लिएर अपूरै छाडेपछि सडक निर्माण अलपत्र परेको हो ।
२०८१ असार १० गतेभित्र सक्ने गरी २०८० माघ १० गते संझौता गरेको थियो । तापखोलादेखि बाक्सिलासम्मको सडक स्तरोन्नतिका लागि ५५ लाख ४७ हजार १९ रुपैयाँको लागतमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । तर भौतिक प्रगति भने ४५ प्रतिशत मात्र सकिएको केपिलासगढी गाउँपालिकाका इन्जिनियर उत्सव राईले बताए ।
उनका अनुसार कामको मुल्याङको आधारमा २७ लाख रुपैयाँ भुक्तानी भएको छ । उक्त सडक खण्डमा सडक फराकिलो बनाउाने, ग्याबिन जाली लगाउने, ग्राबेलिङ तथा सब–बेस बिच्छ्याउने कामका लागि २०८० मङ्सिर ६ गते ठेक्का लागेको थियो ।
उक्त सडक स्तरोन्नतिको एक करोड ४५ लाख रुपैयाँको लागत स्टिमेटको आधारमा ठेक्का लगाइए पनि करिब ६० प्रतिशत कममा उक्त निर्माण कम्पनीले ठेक्का लिएको हो । निर्माणमा संलग्न सन्तवीर तामाङले भने स्थानीयको अवरोधका कारण काम सक्न नपाएको बताए ।
‘खेतीयोग्य जमीन, घर भएको ठाउँमा सडक खन्नै दिएनन्, त्यही भएर काम सक्न नपाएको हो,’ तामाङले भने, ‘खन्न दिएको ठाउँमा मात्र सडक बनाइयो ।’ निर्माण अवधि थपका लागि गाउँपालिकामा पेश गरिए पनि थप नभएको तामाङले सुनाए । तर काम गरेजत्तिको भुक्तानी भने भइसकेको तामाङको भनाई छ ।
उक्त सडक स्तरोन्नति गर्दा सावधानी नअपनाई खनिएकाले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको चिउरीखर्कका गणेशभक्त राई र चतुभक्त राईको घर पहिरोको जोखिममा परेको छ । घरमुनि सडक फराकिलो बनाएर ग्याबिन जाली नलगाई दिँदा पहिरोले घरको पेटीसम्म तानेको चतुरभक्त राईले बताए । असार २७ र साउन १५ गते गएको पहिरोले घरको पेटीसम्म तानेको राईले सुनाए ।
‘विकास निर्माण गर्दा त्यसले पुर्याउने क्षतिको बारेमा पनि ध्यान दिनु पर्ने हुन्छ,’ राईले भने, ‘तर सावधानी नअपनाई सडक फराकिलो बनाइयो, घरलाई असर गर्छ भनेर जान्दा–जान्दै ग्याबिन जालीसम्म लगाइएन, ठेकेदारको हेलचेक्राइाले पहिरोले घरको पेटीसम्म क्षति पुर्याएको छ ।’
घरको पेटीसम्म पहिरोले क्षति पुर्याएपछि प्रहरी मुचुल्का सहित गाउँपालिकामा निवेदन गरेको तर बेवास्ता गरिएको राईको भनाइ छ । गाउँपालिका अध्यक्ष समीर राईले भने पहिरो रोकथामका लागि ग्याबिन जाली हाल्न थालिएको राई सुनाए ।
निर्माणमा संलग्न सन्तवीर तामाङले भने पहिरो गएको क्षेत्रमा सडक फराकिलो नबनाएको बताए । ‘पहिरो गएकोपट्टी छुँदै नछुएको, त्यसको तल्लोपट्टी चाँहि ६० घन मिटरको जाली लगाएर सडक बढाइएको हो,' तामाङले भने ।
प्रकाशित : श्रावण २१, २०८१ १७:०८