धनकुटा — उच्च अदालत विराटनगरको धनकुटा इजलासले कार्यसम्पादनमा विगत पाँच वर्षयताकै सबैभन्दा उल्लेखनीय प्रगति हासिल गरेको छ । धनकुटासहित चार जिल्लाको कार्यक्षेत्र रहेको उक्त इजलासमा यसवर्ष ८३ दशमलव ८४ प्रतिशत मुद्दा फर्छ्यौट गरेर विगतको रेकर्डलाई उछिनेको अदालतले जनाएको छ ।
आर्थिक वर्ष ०७६/०७७ मा ८१ दशमलव २७ प्रतिशत मुद्दा फर्छ्योट गरेकोमा त्यसयता कमी आएको थियो । अदालतका रजिष्टार राजकुमार दाहालका अनुसार पाँच वर्षे मुद्दाको तुलनात्मक अवस्थामा सबैभन्दा उल्लेख्य प्रगति यस वर्ष भएको हो।
इजलासले सोमबार पत्रकार सम्मेलन गर्दै मुद्दा फर्छ्योटको अवस्था तथा प्रगतिबारे जानकारी दिएको हो । ०७६/०७७ मा चार सय ७० लगत मध्ये तीन सय ८२ फर्छ्योट गरेको थियो । इजलास अन्तर्गत धनकुटा, तेह्रथम, संखुवासभा र भोजपुर जिल्ला कार्यक्षेत्र छन् । पाँच वर्षको अवधिमा सबैभन्दा कम फर्छ्योट ०७७/०७८ मा रहेको थियो । उक्त अवधिमा तीन सय १४ मुद्दा दर्ता भए मध्ये एक सय ५२ फर्छ्योट भएको थियो । जुन ४८ दशमलव ४० प्रतिशत मात्र प्रगति थियो । त्यस अवधिमा कोरोना भाइरसको महामारीका कारण प्रगति कमी भएको रजिष्टार दाहालको भनाई छ ।
०७८/०७९ मा चार सय १४ मुद्दा दर्ता भएकोमा दुई सय ८९ मुद्दा छिनिएको थियो । जुन ६९ दशमलव ८ प्रतिशत प्रगति हो । यस्तै, अदालतमा ०७९/०८० मा चार सय ६४ मध्ये तीन सय ३५ फर्छ्योट गरी ७२ दशमलव १९ प्रतिशत प्रगति रहेको थियो । यसरी विगतको तुलनामा यस वर्ष उल्लेख्य प्रगति हुनुमा मातहतका जिल्लाबाट मिसिल लगायतका कार्यमा सहज र समन्वयकारी भुमिका रहेको रजिष्टार दाहालले बताए ।
‘मातहतका अदालतबाट मिसिल समयमा पठाउने कार्य प्रभावकारी भएकोले मुद्दा फैसलामा सहज हुन पुग्यो’, उनले भने, ‘इजलासले एक वर्षे मुद्दा नील गर्ने प्रयासमा लाग्दा पनि प्रगतिमा सुधार आएको हो ।’
पञ्चवर्षीय रणनीतिक योजना अन्तर्गत छिटोछरितो रुपमा न्याय प्रदान गर्ने प्रयासमा रहेको इजलासका मुख्य न्यायाधिश गणेश बरालले बताए । जनतामा सचेतना अभिवृद्धि भएका कारण न्यायका लागि अदालतमा जानेक्रम बढेको उनले जनाए । विगतको तुलनामा जबरजस्ती करणी लगायतका मुद्दा उल्लेख्य बढेको अदालतले जनाएको छ ।
आर्थिक वर्ष२०८०/८१ मा उक्त इजलासमा अघिल्लो वर्षको सरेर आएको एक सय ३२ र नयाँ दर्ता तीन सय २० गरी चार सय ५२ मध्ये तीन सय ७९ थान फर्छ्योट भएको छ । मुद्दा फर्छ्योटका आधारमा जिल्लागत अवस्था अनुसार सबैभन्दा बढि भोजपुर जिल्ला अदालतले पाँच सय ३९ मध्ये चार सय ५६ फर्छ्यौट गरि ७९ दशमलव ४४ प्रतिशत प्रगति गरेको छ । सबैभन्दा कम तेह्रथुम जिल्ला अदालत रहेको छ । उक्त अदालतले चार सय २ मध्ये दुई सय ७४ फर्छ्यौट गरि ६८ दशमलव १५ प्रतिशत मात्र प्रगति हात पारेको छ ।
यसैगरी, संखुवासभा जिल्ला अदालतमा पाँच सय ३९ थान मुद्दामा चार सय १४ अर्थात् ७६ दशमलव ८० फर्छ्योट गरेको छ । धनकुटा अदालतले भने ६ सय ६७ मध्ये पाँच सय १० अर्थात् ७६ दशमलव ४६ मुद्दा फर्छ्योट गरेको उच्च अदालत विराटनगर धनकुटा इजलासका सुचना अधिकारी शम्भु भुजेलले जानकारी दिए । इजलासमा देवानी प्रकृतिका ८२ मध्ये ५७ फर्छ्योट रहेको छ ।
सरकारवादी फौजदारी २ सय ८८ मध्ये २ सय ५५ तथा दुनियावादी फौजदारी २७ मध्ये २२ थान फर्छ्योट भएको छ । यस्तै, रिट निवेदन ५५ मध्ये ४५ फर्छ्योट भएको सुचना अधिकारी भुजेले बताए । पत्रकार भेलामा धनकुटा इजलासले गरेका कार्य र आगामी योजनाबारे समेत जानकारी दिइएको थियो ।
प्रकाशित : श्रावण २१, २०८१ १८:३४