कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

हावाहुरीसहितको वर्षाले मकै बालीमा क्षति

श्रावण २०, २०८१
हावाहुरीसहितको वर्षाले मकै बालीमा क्षति

पाँचथर — हावाहुरीसहितको वर्षाले पाँचथरको फालेलुङ र मिक्लाजुङका किसानले लगाएको मकै बालीमा क्षति पुगेको छ । साउन १७ देखि १९ सम्म आएको वर्षाले मिक्लाजुङ गाउँपालिका–२ र ५ सँगै फालेलुङ–५ का किसानले लगाएको मकै बालीमा क्षति पुगेको हो ।

हावाहुरीसहित आएकाे वर्षाले भर्खरै घोगा लागेका मकैका बोट भाँचेर सत्यानाश गरेको मिक्लाजुङ–५ की उर्मिला राईले जानकारी दिइन् । उनका अनुसार जमिनमा ढलेका मकैका बोट पानी–माटोमा लत्पतिएपछि कामै नलाग्ने अवस्थामा पुगेका छन् । आफूले ७ रोपनी जमिनमा लगाएको मकै पूरै ढलेको उनको भनाइ छ । मकैसहितका बालीमा पुगेको क्षतिको विवरण संकलन गरेर पीडित किसानलाई राहत दिन राईले माग गरेकी छिन् ।

मिक्लाजुङ–५ को रवि र वडा २ को सराङडाँडा क्षेत्रमा हावाहुरीले मकै बालीमा अधिक क्षति पुगेको गाउँपालिका उपाध्यक्ष सन्तकुमार सेर्मा (सन्तोष)ले बताए । वर्षाले पुर्‍याएको क्षतिको विवरण कृषि शाखामार्फत संकलन भइरहेको पनि उनले जनाए ।

यता फालेलुङ गाउँपालिका–५ प्राङबुङको माथिल्ला भू भागमा पनि हावाहुरीले मकै बालीमा क्षति पुगेको छ । अवल क्षेत्रमा ढेडु र बाँदरले दुःख दिइरहेका बेला लेकाली किसानलाई हावाहुरीसहित परेले वर्षाले थप पिरोलेको फालेलुङ–५ का वडाध्यक्ष भरतकुमार खपाङ्गीको भनाइ छ ।

प्रकाशित : श्रावण २०, २०८१ १८:२१
x
×