कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

धरान खानेपानी व्यवस्थापन बोर्डको कार्यालयमा तालाबन्दी 

श्रावण २०, २०८१
धरान खानेपानी व्यवस्थापन बोर्डको कार्यालयमा तालाबन्दी 

Highlights

  • नगरप्रमुख साम्पाङको राजीनामा माग

सुनसरी — धरानमा खानेपानी महशुल तथा अन्य शुल्कमा अत्यधिक वृद्धि भएपछि अन्दोलित बनेका राजनीतिक दल र उपभोक्ताहरुले खानेपानी व्यवस्थापन बोर्डको कार्यालयमा तालाबन्दी गरेका छन् । 

धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको शुल्क र महशुलमा वृद्धि गरेको विरोधमा एकसातादेखि आन्दोलित उनीहरुले आइतबार दिनभर बोर्डको कार्यालय घेराउ गर्दै तालाबन्दी गरेका हुन् । तालाबन्दीमा सहभागीहरूले खानेपानीको समस्या समाधान गर्न नसकेको र उल्टै शुल्क र महशुल बढाएको भन्दै नगरप्रमुख हर्क साम्पाङको राजीनामा माग गरेका छन् ।

खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख साम्पाङले आफूखुसी खानेपानीको शुल्क र महशुल वृद्धि गरेको विरोधमा धरानमा एक सातादेखि दैनिक आन्दोलन भइरहेको छ ।

धरानमा खानेपानीको समस्या समाधान गर्ने एजेण्डासहित चुनावमा उत्रिएका साम्पाङ नगरप्रमुख भएपछि धरानमा ९ हजार ९ सय प्रतिशतसम्म खानेपानी जडान लगायतका शुल्कमा वृद्धि गरिएको छ । साउन १ गतेबाट लागू हुने गरी शुल्क र महशुलमा वृद्धि गरिएपछि राजनीतिक दल तथा नागरिक समाजले पूरानै शुल्क र महशुल कायम गर्न माग राख्दै आन्दोलनका कार्यक्रम सुरु गरेका हुन् ।

नगरप्रमुख भएपछि साम्पाङले खानेपानी व्यवस्थापन बोर्ड उपमहानगरको मातहतमा ल्याउँदै नगरप्रमुख नै अध्यक्ष हुने व्यवस्था गरेका थिए । खानेपानीको मुद्दा बोकेर निर्वाचित भएपछि कसैसँग सल्लाह नगरी शुल्क र महशुल वृद्धि गरेपछि धरानमा साम्पाङको चर्को आलोचना हुँदै आएको छ ।

खानेपानी महसुल वृद्धि गरिएकोबारे उपप्रमुख अइन्द्रबिक्रम बेघासहित वडाअध्यक्षहरुले आइतबार नै खानेपानी बोर्डका अध्यक्ष रहेका साम्पाङलाई ज्ञापनपत्र बुझाएका छन् । साबिककै शुल्क र महशुल कायम गर्नुपर्ने भन्दै आन्दोलनरत १० राजनीतिक दलहरूले शुक्रबार सबै वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

नगरवासी र स्थानीय राजनीतिक दलको चर्को विरोधसँगै आन्दोलन चर्किएपछि उपप्रमुखसहित वडाध्यक्षहरुले साम्पाङलाई ज्ञापनपत्र बुझाएका हुन् । नगरप्रमुख साम्पाङले भने ५६ करोड एडीबीको ऋण अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुले लिएकाले त्यो ऋण तिर्न महशुल बढाउन परेको बताउँदै आएका छन् ।

प्रकाशित : श्रावण २०, २०८१ २०:४०
x
×