कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

लालुपाते सहकारी ठगी प्रकरण : बचतकर्ताको रकम फिर्तापछि अदालतमै मिलापत्र

डम्बरसिं राई

खोटाङ — लालुपाते बहुउद्देश्यीय सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको रकम अपचलन गरी बचत डुबेको भन्दै परेको उजुरीमा मिलापत्र भएको छ । अदालतमा बचतकर्ताहरूलाई सहकारीले रकम फिर्ता गरेको भनी कागजात गरेपछि बुधबार मुद्दा मिलापत्र भएको हो ।

लालुपाते सहकारी ठगी प्रकरण : बचतकर्ताको रकम फिर्तापछि अदालतमै मिलापत्र

मिलापत्रपछि पक्राउ परेका चार जना छुटेका छन् । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीका भाइ सुनिल जोशी, उनकी श्रीमती रविना जोशी (श्रेष्ठ), प्रबन्धक रुकु जोशी र जसुदा पौडेल छुटेका हुन् ।

सौर्य एयरलायन्सका क्याप्टेनसमेत रहेका सुनिल, उनकी श्रीमती रविना, प्रबन्धक जोशी र ऋणी जसुदा पौडेल जिल्ला अदालत खोटाङका तत्कालीन न्यायाधीश सुभाषबाबु गिरीको आदेशमा २०८० मंसिर २१ गते पुर्पक्षका लागि कारागार चलान भएका थिए । उनीहरूलाई बुधबारै छाडिएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

उनीहरूमध्ये सुनिल र उनकी श्रीमती रविनालाई २०८० असोज १३ गते काठमाडौंस्थित घरबाट पक्राउ गरिएको थियो । सुनिलले सहकारीको रकममा खरिद गरिएको जग्गा आफ्नो नाममा पास गरेको तथा रविनाले दुई करोड ३५ लाख बचतकर्ताको रकम अपचलन गरेको, तत्कालीन अध्यक्ष जोशीको मिलेमतोमा सहकारीबाट लाखाैँ ऋण लगेको तर फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी जसुदालाई २०८० कातिक १५ गते चितवनबाट र प्रबन्धक जोशीलाई २०८० असोज १७ गते काठमाडौंबाट पक्राउ गरिएको थियो ।

तत्कालीन अध्यक्ष जोशीको मिलेमतोमा सहकारीको रकम अपचलन गरी बचत डुबाएको भन्दै सहकारी सञ्चालक समितिले २०८० फागुन २ गते प्रहरीमा उजुरी दिएको थियो । त्यसैको आधारमा उनीहरू पक्राउ परेका हुन् ।

सहकारीका तत्कालीन अध्यक्ष जोशीको कोभिड १९ को सङ्क्रमणका कारण २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो । उनको निधनपछि निक्षेपकर्ताहरू निक्षेप रकम फिर्ता माग्न जाादा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि बचत अपचलन भएको विषय खुलासा भएको थियो ।

तत्कालीन अध्यक्ष जोशीले आफूखुशी सहकारीबाट ऋणीलाई २५ हजारदेखि ९९ लाखसम्म ऋण दिइएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । यो प्रकरणमा पक्राउ परेका सहित २६ जना विरुद्धको मुद्दासमेत मिलापत्रमा टुङ्याइएको जिल्ला अदालत खोटाङका श्रेस्तेदार सीताराम खड्काले बताए ।

यो प्रकरणमा २०८० कातिक १२ गते पक्राउ परेका सहकारीका लेखा समिति संयोजक प्रितम श्रेष्ठ र कोषाध्यक्ष रमा शाक्य दश/दश लाख, उपाध्यक्ष अर्जुन चौलागााई र सचिव मनोज राईलाई पाँच-पाँच लाख धरौटीमा गत मंसिर २१ गते छुटेका थिए । उक्त मुद्दामा अदालतबाट दश लाख धरौटी तोकिए पनि बुझाउन नसक्दा कारागार चलान भएकी लेखापाल सुमना राईले चार महिनापछि अदालतले तोकेको धरौटी रकम बुझाएर छुटेकी थिइन् ।

सहकारीको नाममा हलेसीमा ४८ लाखमा खरिद गरिएको छ रोपनी तीन आना एक पैसा एक दाम जग्गा तत्कालीन अध्यक्ष जोशीको भाइ क्याप्टेन सुनिलको नाममा पास गरेको पाइएको प्रहरी अनुसन्धानले देखाएको छ । सहकारीको नाममा जग्गा किन्ने निर्णय गरेको तत्कालीन अध्यक्ष जोशीको मिलेमतोमा व्यक्तिको नाममा पास गरेको पाइएको हो ।

तत्कालीन अध्यक्षको मिलेमतोमा तत्कालीन व्यवस्थापक जोशीको नाममा खरिद गरिएको बाम्राङको १६ रोपनी जग्गा सहकारीको नाममा ल्याइएको छ ।

प्रहरीको प्रतिवेदन अनुसार बचतकर्ताले जम्मा गरेको चार करोड ९० लाख ९७ हजार तीन सय ९३ रुपैयाँ सञ्चालक समितिले फिर्ता गर्नु पर्ने देखिएको थियो । सहकारी ठगी प्रकरणमा प्रहरीले चलाएको मुद्दाले पीडितले न्याय पाएको प्रहरी नायव उपरीक्षक खड्काको भनाई छ ।

प्रकाशित : असार २७, २०८१ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×