कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

चोरीका घटनामा वृद्धि

धनकुटा — धनकुटामा पछिल्लो समय साप्ताहिक हाटबजारमा किनमेल गर्न जाने सर्वसाधारणको गहना तथा नगद चोरी हुने क्रम बढेको छ । चोरी कार्यमा संगठित समूह परिचालन भएको प्रहरीको भनाइ छ । धनकुटा नगरपालिका-५ स्थित साप्ताहिक बिहीबारे हाटमा हप्तैपिच्छे चोरीका घटना हुन थालेपछि स्थानीयले सुरक्षाको माग समेत गरेका छन् ।

चोरीका घटनामा वृद्धि

बिहीबारे हाट रहेको क्षेत्रस्थित कोप्चे टोलबस्ती संगठनका अध्यक्ष तथा धनकुटा नगरपालिका-५ का वडा सदस्य गोविन्द राईका अनुसार विगत एक दशक यता बिहीबारे हाटबाट ५० तोला बढीका गरगहना चोरी भएको छ ।

‘अधिकांश गहनाका चोरी हुने घटना छन्,' उनले भने, 'क्रमशः यस्ता घटना बढ्दै गएकोले स्थानीयले असुरक्षाको महशुस गरेका छन् ।' हालसम्म हाटमा किनमेल गर्न आउने ग्राहकको गरगहना तथा नगद चोरी गर्ने सात जनालाई आफूहरुले पक्रेर प्रहरीको जिम्मा लगाएको राईले बताए ।

चोरी कार्यमा सम्लग्न भएका अधिकांश बालक रहेका छन् । ठुला उमेरका व्यक्तिहरुले बालबालिकालाई परिचालन गरेको हुनसक्ने जिल्ला प्रहरी प्रमुख (एसपी) श्यामसिं चौधरीले बताए । 'पक्राउ परेकाको आधारमा बालबालिका प्रयोग गरिएको देखिन्छ,' उनले भने, 'स्थानीयबासीको गुनासो तथा सुझावका आधारमा चोरी कार्य नियन्त्रणका लागि सुरक्षालाई कडाइ गरिने छ ।'

जिल्लास्थित अधिकांश हाटबजारमा समेत यसप्रकारका चोरी कार्य हुने गरेको गुनासो बढेको छ । जिल्लाका सात पालिकामा विभिन्न दिन साप्ताहिक हाटबजार लाग्ने गर्दछ । यसैबीच, चोरीका घटना बढेसंगै जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बिहीबारे हाट क्षेत्रमा सशस्त्र प्रहरी बलको युनिटको स्थायी पोष्ट राखिने बताए ।

पौडेलको संयोजकत्वमा बिहीबारे हाट क्षेत्रमा सुरक्षा निकाय, जनप्रतिनिधि, पत्रकार तथा स्थानीयबासीको भेलाले उक्त निर्णय गरेको हो । यसका लागि बिहीबारे हाटसंगै रहेको धनकुटा नगरपालिका-५ वडा कार्यालय हातामा पोष्टको संरचना बनाइने वडा अध्यक्ष धनबहादुर राईले बताए ।

सर्वसाधारणको सुरक्षाका लागि युनिट राख्नेबारे प्रक्रिया अघि बढाइने सशस्त्र प्रहरी बल नं ६ गुल्म हेडक्वाटरका प्रमुख सुदन भारतीले बताए । बजार क्षेत्रमा सीसी क्यामेरा समेत जडान गरिने भएको छ । साप्ताहिक हाटबजार सहित व्यक्तिका घर, पसलबाट समेत नगद, गहना तथा सवारी साधन चोरी हुने गरेको प्रहरीको भनाई छ ।

प्रकाशित : असार २७, २०८१ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×