कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

एक वर्षमा पनि आएन कार्गो रेल

विनोद भण्डारी

विराटनगर — गत वर्षको जेठ १८ गते उद्घाटनको अवसरमा एउटा कार्गो रेल आएयता विराटनगरको बुधनगरमा रेल फर्किएर आएको छैन । कलकत्ता बन्दरगाहबाट आउने चार प्रकारको समान मात्र कार्गो रेलबाट ल्याउन अनुमति छ । ती सामान विराटनगर नाकाबाट आयात शुन्य प्राय रहेकाले पनि कार्गो रेलले निरन्तरता नपाएको उद्योगीको भनाइ छ ।

एक वर्षमा पनि आएन कार्गो रेल

सरकारले भारतसँग कलकत्ता बन्दरगाहबाट आउने सिमेन्ट, क्लिङ्कर, रासायनिक मल र कोइला मात्र बुधनगर यार्डसम्म ल्याउन पाउने सम्झौता गरेको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले सम्झौतामा उल्लेख भएका औद्योगिक कच्चा पदार्थमा आधारित उद्योग सुनसरी मोरङ करिडोरमा छैनन् । त्यसैलेपनि ती सामान उद्योगीले आयात नगर्दा कार्गोरेल आउन नसकेको हो ।

सिमेन्टमा आन्मनिर्भर भएका कारण आयात नै ठप्प छ । चुनढुङ्गामा आधारित ठूला सिमेन्ट उद्योग सञ्चालनमा आएपछि क्लिङ्कर ल्याएर सिमेन्ट उत्पादन गर्ने सिमेन्ट उद्योग प्रायः बन्द भइसकेका छन् ।

'रासायनिक मल सरकारले नै आयात गर्छ । ल्याउन पाउने अर्को समान कोइला मात्र हो,' सुरानाले भने, 'कोइला ज्यादै कम आउने र रेल्वे यार्ड प्रयोग गरे वापत महँगो सेवा शुल्क बुझाउनु पर्ने भएकोले रेलबाट ल्याउन नसकिएको हो ।'

कलकत्ता बन्दरगाहबाट आउने सबै खालका समान ल्याउन पाउने व्यवस्था र गोदाम, पार्किङ लगायतको व्यवस्थापन गर्ने ट्रान्स नेपाल फ्रेड सर्भिसेज प्राइवेट लिमिटेडले आफ्नो सेवा शुल्क नघटाएसम्म कार्गो रेल ल्याउन नसकिने उद्योगी व्वसायीहरूको तर्क छ । उनीहरुका अनुसार भारतीय यार्डको तुलनामा ट्रान्स नेपाल फ्रेड सर्भिसेजले महंगो गोदाम र पार्किङ शुल्क तोकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा गत वर्षको जेठ १८ गते, भारतको बथनाहदेखि विराटनगरको बुधनगरसम्मको रेल सेवा उद्घाटन गरेका थिए । त्यसदिन दुई हजार चार सय मेट्रिक टन औद्योगिक कच्चा पदार्थ बोकेको कार्गो रेल भारतको बथनाहबाट बुधनगर स्थित भन्सारको एकीकृत जाँच चौकीसम्म आएको थियो । त्यसयता रेल फर्किएर आएको छैन् ।

रेल सेवा सञ्चालन भएको अवस्थामा ढुवानी भाडा किलोको पाँच रूपैयाा सस्तो पर्ने र समय पनि कम लाग्ने भएकाले औद्योगिक र व्यवसायिक क्षेत्रको विकासमा यो रेल सेवा कोसेढुङ्गा साबित हुने भन्दै उद्योगी व्यवसायीले रेल सञ्चालनको माग गर्दै आएका थिए । तर बथनाहाबाट ट्रकमा सामान ल्याउादा भन्दा रेलबाट ल्याउँदा महंगो पर्ने मोरङ व्यापार संघका वरिष्ट उपाध्यक्ष अनिल साहको भनाई छ ।

सरकार वीचको सम्झौता परिवर्तन गरेर अन्य सामानपनि कार्गो रेलवाट ल्याउने व्यवस्था गर्दै ट्रान्स नेपाल फ्रेड सर्भिसेजले पार्किङ र गोदा भाँडा घटाएमात्र कार्गो रेलले निरन्तरता पाउन सक्ने साहको तर्क छ ।

सुनसरी मोरङ औद्योगिक करिडोरमा आउने ९० प्रतिशत कच्चा पदार्थ भारतको कलकत्ता बन्दरगाहबाट आउछ । औद्योगिक र व्यवसायिक सामान लिएर विराटनगर नाकाबाट दैनिक सरदर तीन सय ट्रक नेपाल भित्रिन्छन् । त्यसमध्ये एक सय ५० भन्दा बढी ट्रकका सामग्री कार्गोका सामग्री हुन् । विशाखापट्नम बन्दरगाहबाट आउने सबै समान ल्याउन पाउने भएपनि उक्त बन्दरगाहबाट खासै समान नआउने उद्योगी व्यवसायी बताउँछन् ।

प्रकाशित : जेष्ठ ३०, २०८१ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×