कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सुनसरीका एमाले अध्यक्ष निलम खनालको निधन

अर्जुन सुवेदी

सुनसरी — सुनसरीका नेकपा एमाले अध्यक्ष निलम खनालको उपचारका लागि भारतको हैदराबाद लैजाने क्रममा निधन भएको छ ।  लामो समयदेखि प्याङ्क्रियाजसम्बन्धी रोगका कारण बिरामी परेका खनाल १५ दिनअघि मात्रै एमाले सुनसरीको अध्यक्षमा निर्वाचित भएका थिए । 

सुनसरीका एमाले अध्यक्ष निलम खनालको निधन

अध्यक्ष खनाललाई परिवारका सदस्यहरूले उपचारका लागि हैदरावाद लैजाने क्रममा रेलभित्र बिहीबार बिहान २ बजे निधन भएको एमाले सुनसरीका सचिव राम कोइरालाले जानकारी दिए । उनको हैदराबाद लैजाने क्रममा तेलंगना राज्यको कागजनगर पुगेपछि निधन भएको जनाइएको छ ।

खनाल जेठ ५ देखि ७ सम्म आयोजित एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेदवार बनेर प्रतिस्पर्धामा उत्रिएका थिए । उनले अध्यक्षका अर्का उम्मेदवार खेमराज पोखरेललाई ९६ मतले पराजित गरेका थिए । खनालले ३८३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । पोखरेलले २ सय ८७ मत मात्र ल्याएका थिए ।

बिरामी अवस्थामै जिल्ला अधिवेशनमा सहभागी भएका खनाल अध्यक्षमा निर्वाचित भएपछि झन बिरामी परेका थिए । उनलाई उपचारका क्रममा मंगलबार उपचारका लागि हैदरावाद लगिएको थियो । यसअघि पनि उनको उपचार हैदराबादमै हुँदै आएको जनाइएको छ । एमाले सुनसरीको अध्यक्षमा निर्वाचित हुनुअघि खनाल उपाध्यक्ष थिए । उनी यसअघि सुनसरीकै बराहक्षेत्र नगरपालिकाको मेयर पनि हुन् ।

प्रकाशित : जेष्ठ २४, २०८१ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×