कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

सुनसरी-मोरङ उद्योगीको प्रश्न : प्रर्दशनीस्थल र औद्योगिक ग्राम नभएको प्रदेश कसरी औद्योगिक क्षेत्र बन्छ ?  

विनोद भण्डारी

विराटनगर — अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–८२ को बजेटलाई सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले सन्तुलित देखिएपनि परम्पराको निरन्तरता भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले सबै क्षेत्रमा कनिका छरेको बजेट सार्वजनिक भएको भन्दै कार्यान्वय पक्षमा निर्भर हुने टिप्पणी गरेका छन् ।

सुनसरी-मोरङ उद्योगीको प्रश्न : प्रर्दशनीस्थल र औद्योगिक ग्राम नभएको प्रदेश कसरी औद्योगिक क्षेत्र बन्छ ?  

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बजेटले कोशी प्रदेशलाई औद्योगिक सहरका रुपमा विकास गर्ने घोषणालाई हचुवाको संज्ञा दिए । 'प्रदेशभरी एउटापनि प्रर्दशनीस्थल र औद्योगिक ग्राम छैन,' उनले भने,' तर बजेटले प्रदेशलाई औद्योगिक सहर बनाउने घोषणा गर्नु आफैंमा हास्यास्पद छ ।

समग्रमा बजेट राम्रो छ, तर कार्यान्वयन पक्षमा शंका छ । राठीले भने कृषि, पर्यटन, उत्पादन मुलक क्षेत्र, सेवा प्रविधि र विद्युत् उत्पादनमा बजेट केन्द्रित हुनु राम्रो पक्ष हो । कृषिदशक घोषणा गर्नु, लगानी बढाउने लक्ष्य बजेटको राम्रो पक्ष भएपनि कार्यान्वयन पक्षमा बजेटको मर्म निर्भर रहने उनको प्रतिक्रिया थियो ।

औषधि उत्पादनका लागि गाँजा खेती गर्ने कुरालाई यसपालीको बजेटले पनि प्राथामिकतामा राखेको छ । राठीले भने गतवर्ष पनि यसलाई प्राथामिकतामा राखिएको थियो । अहिलेसम्म कार्यविधि समेत बन्न नसकेको उनको प्रतिक्रिया थियो ।

केही नयाँ योजनासहित बजेट सन्तुलित रहेको उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतको प्रतिक्रिया छ । 'सरसर्ती हेर्दा बजेट सन्तुलित छ,'राउतले भने,'तर राजश्व असुली पक्ष चुनौतीपूर्ण छ । चालु वर्ष विनियोजित बजेट खर्च हुन सकेन । लक्ष्यअनुसारको राजश्व असुलीमा पनि सरकार असफल रह्यो ।' उनले यस्तो अवस्थामा बजेटको आकार बढाउनु र राजश्व संकलनको लक्ष्य पनि १२ खर्ब राख्नु चुनौतीपूर्ण भएको बताए ।

कृषि लगानीमा १० दशक घोषणा, आर्थिक सुधार सुझाव आयोग, आइटीको विकासमा स्वदेश सफ्टवेयरलाई प्राथामिकता दिने र पर्यटकीय गन्तव्यको प्रोफाइल गरिने तथा जनकपुरलाई बैंकिङ हa बनाउने बजेटका सकारात्मक पक्ष रहेको राउतको बुझाई छ । उनकाअनुसार स्टार्टअप बोर्डको गठन गरी एक अर्बको कोष खडा गर्ने, वैजनाथ क्रिकेट रंगशालालाई गौरवको आयोजनामा राख्नु बजेटको राम्रो पक्ष हो । बजेटले कोशी प्रदेशलाई औधोगिक क्षेत्रका रुपमा विकास गर्ने कुरा स्वागतयोग्य भएको उनले बताए । ।

'तर यसक्षेत्रका उद्योगी व्यवसायीले दशकदेखि माग गर्दै आएको औधोगिक प्रर्दशनीस्थल समेत निर्माण हुन नसकेको अवस्थामा बजेटको उक्त घोषणा आफैंमा शंकास्पद छ', राउतले भने,' औद्योगिक प्रर्दशनीस्थलको अभाव र आईसीपी समेत सञ्चालन हुन नसकेको अवस्थामा बजेटले कोशी प्रदेशलाई औद्योगिक क्षेत्र घोषणा गर्नु झारा टराईमात्र हो ।'

बजेट कार्यान्वयन भए अहिले मुलुकमा देखिएको आर्थिक तरलता र निराशा न्यून हुने पनि उद्योगी व्यापारीहरूले बताएका छन् । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले भने उधारो कारोबारलाई नियमन गर्न बजेटले आश्वासन दिनु उद्योगी व्यवसायीका लागि राम्रो पक्ष भएको बताए । 'बजेट सबै क्षेत्रमा सन्तुलित छ । कृषि, पर्यटन, विद्युत्, स्टार्टअप, शिक्षा क्षेत्रलाई बजेटले प्राथामिकता दिएको छ,' सुरानाले भने,' तर कार्यान्वयन पक्ष शंकास्पद छ ।'

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा व्यापार संघमा निवर्तमान अध्यक्ष नविन रिजालले उद्योगीले उठाएका मुद्दा बजेटमा समावेश नभएको गुनासो गरे । 'हरेक वर्ष उद्योगी र निजी क्षेत्रसँग सरकारले बेजेटका बारेमा सुझाव लिन्छ तर कार्यान्वयन कहिल्यै गर्दैन', उनले भने,'निजी क्षेत्रका माग र समस्यालाई बजेटले बेवास्ता गरेको छ । बजेटले कोशी प्रदेशलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने भनिएको छ । तर दैनिक १८ घण्टासम्म अघोषित लोडसेडिङ गरेर कसरी औद्योगिक क्षेत्र बन्छ ।'

संघका पूर्वअध्यक्ष महेश जाजुले बजेटको राजश्व संकलन लक्ष्य हचुवाको भरमा राखिएको प्रतिक्रिया दिए । 'वैदेशिक र आन्तरिक ऋण उठाउने बजेटको महत्त्वकांक्षी योजना छ,'जाजुले भने,' यसले नागरिकलाई ऋणभार थप्ने निश्चित छ ।'

प्रकाशित : जेष्ठ १६, २०८१ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x