२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

धनकुटा बजारसँगै रहेको सल्लेरी वनमा डढेलो

डढेलो लगाएको आशंकामा दुई जना पक्राउ

धनकुटा — धनकुटा बजारसंगै रहेको सल्लेरी राष्ट्रिय वनमा बुधवार दिउँसो लागेको डढेलो नियन्त्रणमा आएको छ । धनकुटा नगरपालिका-६ स्थित उक्त वनको आँखा अस्पताल नजिकबाट दिउँसो अढाइ बजेदेखि लागेको डढेलो दुई घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

धनकुटा बजारसँगै रहेको सल्लेरी वनमा डढेलो

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा स्थानीयबासी र धनकुटा नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रण आएको हो ।

उक्त वनको बीच भागमा कोशी राजमार्ग समेत रहेकोले डढेलो अवधिभर उक्त सडक भएर चल्ने यातायातका साधन समेत सञ्चालनमा आउन सकेनन् । घटनामा सम्लग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक अनिल साहले जानकारी दिए ।

'घटनास्थल नजिकबाट नियन्त्रणमा लिइएको छ,' उनले भने, 'सोधपुछ तथा अनुसन्धान कार्य जारी रहेको छ । नियन्त्रणमा लिएको व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन ।'

डढेलो सयौँ रोपनी क्षेत्रफलमा फैलिएको थियो । उद्योग वाणिज्य संघ, ६ नं. वडा कार्यालय, कवर्ड हल, आँखा अस्पताल तथा नजिकको सल्लेरी ब्यारेक क्षेत्र समेत जोखिममा रहेपनि पूर्ण रुपमा नियन्त्रणमा आएको जनाइएको छ ।

यसैबीच कचिंडे नजिक समेत उक्त वनमा अपरान्ह करिब ४ बजे डढेलो सल्किएको थियो । उक्त डढेलो धनकुटा नगरपालिकाको दमकल र सुरक्षाकर्मीले निभाएका थिए । आगलाीबाट मानविय क्षती नभएपनि वन क्षेत्रका रहेका सल्ला लगायतका वोटविरुवा क्षती पुगेको छ । पछिल्लो एक हप्तादेखि वर्षात् नहुँदा सुख्खापन बढेसंगै डढेलोको जोखिम पुनः सुरु भएको छ ।

प्रकाशित : जेष्ठ १६, २०८१ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?