१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

भूकम्पपीडितका लागि बनाइएका एकीकृत बस्ती अलपत्र

डम्बरसिं राई

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा भूकम्पपीडितका लागि बनाइएका घर रित्तै छन् । घरको झ्याल–ढोका लगाइएको छैन । खानेपानी, बिजुली, शौचालय, घेरबारलगायतका पूर्वाधार नबनेकाले बस्न नसकिएको पीडितहरूले गुनासो गरेका छन् ।

भूकम्पपीडितका लागि बनाइएका एकीकृत बस्ती अलपत्र

बनेका संरचना पनि गुणस्तरहीन भएकाले बस्न जोखिम भएको उनीहरुको गुनासो छ । घर र संरचनाका लागि निर्माण समितिका अध्यक्ष प्रमेश ढकालले भूकम्प पीडित र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ ओखलढुङ्गाबाट रकम लिए पनि काम अपूरो राखेको पीडितहरूको गुनासो छ ।

बस्तीका लागि आवश्यक पूर्वाधार नभएकाले बस्न नसकिएको उदयबहादुर कार्कीले बताए । ‘डिपिआरमा भएको मापदण्ड अनुसार बनाइएको छैन,’ कार्कीले भने, ‘अनि त्यस्तो ठाउँमा कसरी बस्न सकिन्छ ?’

बस्ती निर्माणमा अनियमितता भएको र यसलाई छानबिन गर्नुपर्ने भूकम्प पीडितहरूले बताएका छन् । कहााबाट कति रकम आयो भन्ने सार्वजनिक नगरिएको, कामै नसकी वडालाई हस्तान्तरण गरिएको लगायतको गुनासो गरेका हुन् । पीडितको गुनासोपछि नगर उपप्रमुख विसन राईको संयोजकत्वमा छानबिन समिति बनेको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

यसबारेमा अध्ययन भइरहेको उपप्रमुख राईले बताए । उक्त बस्ती निर्माण समितिका अध्यक्ष प्रमेशले भने उक्त बस्तीको सबै काम सकेर २०७७ असार ३० गते निवर्तमान वडाअध्यक्ष विरेन्द्र ढकाललाई बुझाएको बताए । गुणस्तरहीन भएको भन्ने बारे ल्याप परीक्षण गराएर गुणस्तर पुष्टि भएपछि वडालाई हस्तान्तरण गरिएको ढकाल बताउँछन् ।

उक्त संरचनाका लागि १९ जना भूकम्प पीडितबाट तीन लाख रुपैयाँका दरले र पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ ओखलढुङ्गाबाट आर्थिक वर्ष २०७६/७७ मा ५७ लाख ५४ हजार ९५९ सम्झौता भएको तर यसमध्ये भूकम्प पीडितबाट दुई लाख ५० हजार रुपैयाँका दरले ४५ लाख र प्राधिकरणबाट करिब ५२ लाख रुपैयाँ मात्र निकासा भएको निर्माण समिति अध्यक्ष ढकाल बताउँछन् ।

भूकम्प पीडितहरूले ५० हजार रुपैयाँका दरले रकम नदिएकाले झ्याल–ढोका लगाउन नसकिएको ढकालको भनाई छ । ‘धेरैले भ्रष्टाचार भयो भनेर हावा लगाएका छन्,’ ढकालले भने, ‘पीडितहरूले नै पैसा नदिएपछि कसरी झ्याल–ढोका लगाउन सकिन ।’

यसबाहेक दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट पनि एक लाख ९४ हजार उक्त बस्तीमा खर्च भएको छ । बस्ती मुनिको क्षेत्रमा पहिरो नियन्त्रणका लागि उक्त रकम दिएको प्रमेश बताउँछन् । ‘बस्ती निर्माणका लागि फाउण्डेसन बनाउन अघिनै नगरले दिएको हो,’ उनले भने, ‘फाउण्डेसन सम्याउनका लागि पनि नगरले जेसिबी दिएको हो ।’

ओमप्रकाश घिमिरे, रोहित वास्तोला, चन्द्रमायाा ढकाल, हिरामायाा पौडेल, रमेश खनाल, जुजुमायाा श्रेष्ठ, रणबहादुर भुजेल, हेमसागर ढकाल, मिना ढकाल, हरि ढकाल, खेमराज ढकाल, रामबहादुर राई, प्रल्हाद ढुङ्गाना, उदयबहादुर कार्की, इश्वरचन्द्र ढकाल, महाप्रसाद खनाल, पुण्यप्रसाद खनाल, फडिन्द्र खनाल र सारदाप्रसाद ढकाल गरी १९ जनाको नाममा घर बनाइएको थियो ।

यसमध्ये हेमसागर ढकाल सुन्दर हरैचाको गछिया र खेमराज ढकाल उदयपुरको गाइघाट बसाइा सरिसकेको स्थानीय सारदाप्रसाद ढकालले बताए । हरि ढकाल भने भूकम्प पीडितका लागि बनाइएको निजी आवासमा बस्छन् । सारदाप्रसाद ढकालले निजी आवासको रूपमा बनाइएको घरलाई मतानको रूपमा प्रयोग गर्दै आएका छन् ।

उक्त एकीकृत बस्तीका लागि आवश्यक जग्गा सारदाप्रसाद र उनकी श्रीमती कृष्णकुमारी ढकालले निःशुल्क उपलब्ध गराएका हुन् । अहिलेसम्म १८ मध्ये चार जनाले पास गर्न नआएको सारदा बताउँछन् । उनका अनुसार प्रल्हाद ढुङ्गाना, उदयबहादुर कार्की, इश्वरप्रसाद खनाल र हेमसागर ढकालले पास लिएका छैनन् । पासका लागि बोलाए पनि नआएकाले रहेको उनको भनाइ छ ।

हजुरबुवा रामनाथको नामबाट ‘रामनाथ एकीकृत बस्ती’को नामाङ्कन गर्ने गरी जग्गा दान गरेको सारदा बताउँछन् । तर बस्तीमा सम्बन्धित भूकम्प पीडित नबसेपछि आफूलाई खल्लो लागेको उनी सुनाउँछन् । प्रमेश सारदाकै छोरा हुन् ।

प्रकाशित : चैत्र १९, २०८० २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?