१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

टिप्ताला भञ्ज्याङमा ‘ब्रेक थ्रु’, चीनसँग सडक सञ्जालले जोडियो कोशी प्रदेश

तमोर नदीको उद्धगमस्थल टिप्ताला भञ्ज्याङ क्षेत्रबाट धनकुटाको मुलघाटसम्म तमोरकै किनारै किनार बनेको सडक भारतसँगको नाका रानीसम्म पुग्दा करिब तीन सय किलोमिटर छ ।
आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङ सदरमुकाम फुङलिङबाट चीनसँगको सिमावर्ती क्षेत्र टिप्ताला भञ्ज्याङ जोडिने सडक ‘ब्रेक थ्रु’ भएको छ । उत्तर दक्षिण (मुलघाट–दोभान–ओलाङचुङगोला) सडक योजना अन्तर्गत सञ्चालित सडकको ट्रयाक खोल्ने काम सकिएको हो ।

टिप्ताला भञ्ज्याङमा ‘ब्रेक थ्रु’, चीनसँग सडक सञ्जालले जोडियो कोशी प्रदेश

यो सडक निर्माणको काम काठमाडौंको एसबीए एलाईट जेभी कम्पनीले गरेको थियो । फुङलिङ–गोला–टिप्ताला सडक निर्माण योजनाका प्रमुख ठेकेदार पेम्बा ठिले शेर्पाले मंगलबार बेलुका ‘ब्रेक थ्रु’ भएको बताए ।

कपुरकोट-२ केलुखोला सल्यान घरभएका चालक कुलवहादुर घर्ती मगरले चलाएको मेशिनले नयाँ ट्रयाक पुरानो ट्रयाकमा लगेर जोडेको प्रोजेक्ट म्यानेजर राजीव लामिछानेले जानकारी दिए ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ मात्रै नभएर यो सडकको ट्रयाक खुलेसँगै कोशी प्रदेश उत्तरतर्फको छिमेकी देश चीनसँग सडक सञ्जालले जोडिएको छ । कोशी प्रदेशका १४ मध्ये ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु चीनसँगका सिमावर्ती जिल्ला हुन् । ताप्लेजुङ र संखुवासभा जिल्ला सदरमुकामबाट चीनसँगको सिमानासम्मका सडक निर्माणाधीन छन् । चीन जोड्ने संखुवासभाको सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । टिप्ताला भञ्ज्याङ सडक भने ठेकदारले नै खनेर जोडेका हुन् । संखुवासभाको किमाथांका र ताप्लेजुङको टिप्तालाभञ्ज्याङ चीनसँग मानिस आवत जावत गर्ने तथा व्यापारिक नाका हुन् ।

उत्तर दक्षिण सडक योजनाका तत्कालीन आयोजना प्रमुख (सडक विभागका सहसचिव) कुवेर नेपाली तुलनात्मक रुपमा कम लागतमा निर्माण गरिएको, चीनबाटपनि मेसिन ल्याएर खनिएको र छोटो दुरीको सडक भएको बताउँछन् । तमोर नदीको उद्धगमस्थल टिप्ताला भञ्ज्याङ क्षेत्रबाट धनकुटाको मुलघाटसम्म तमोरकै नजिक भएर बनेको सडक भारतसँगको भन्सार नाका रानी पुग्दा करिब तीन सय किलोमिटर हुन्छ ।

नेपाल, भारत र चीन जोड्ने भएकाले यस्लाई त्रिदेशीय मार्गपनि भन्ने गरिएको छ । चीनबाट मेसिन ल्याएर उत्तर तर्फका सडक खनिएको यो पहिलो अभ्यास भएको पनि नेपालीले बताए ।

२०६६ सालमा सुकेटारदेखि ट्रयाक सुरु भएर गढी, तावा, छिरुवा, लेलेप हुँदै ओलाङचुङगोला पुगेको सडकको जम्मा लागत एक अर्ब हाराहारी भएको कार्यालयले जनाएको छ ।

एसवि एलाइटले तापेथोकदेखि ओलाङचुङगोला सम्मको ट्रयाक ओपनको जिम्मा ४४ करोडमा लिएको थियो । ‘उहाँ पेम्वा दाई (ठेकेदार) ताप्लेजुङकै भएको उपलब्धि पनि हो,’ नेपालीले भने, ‘धेरै ठेकदारले काम छोड्छन्, उहाँले मेरो जिल्ला हो मैले गर्नुपर्छ भनेर नछोडीकन काम गर्नुभयो ।’ पेम्वा फक्ताङलुङ गाउँपालिका ६ लेलेप (सडक निर्माण क्षेत्र) का हुन् । विभिन्न बाधा व्यवधानका बावजुद निर्माणको क्रममा ओलाङचुङगोलामा जन्मिएका सन्दुक रुइत, तेञ्जीङ उक्याव लगायत र स्थानीयबाट राम्रो सहयोग पाएको पेम्बाले बताए ।

निर्माणका दौरान निकै चुनौती व्योहोरेका मेशिनका अगुवा चालक कुलबहादुर पहिरो झरेर मेशिन लडाउँदापनि आफू भनें बाँच्न सफल भएको स्मरण गर्छन् । स्थानीयले आफ्नै अगाडि अप्ठेरो छ कुनै हालतमा जोड्नै सक्दैन भन्दापनि हरेश नखाएका उनले आफैंले चलाएको मेसिनले जोड्दा औधि खुसी भएको सुनाए । उनलाई ओलाङचुङगोलाका बासिन्दाले बोकेर गाउँ घुमाउने वचन दिएका छन् ।

संविधानसभा सदस्य डम्बरध्वज तुम्वाहाम्फे र सञ्चपाल मादेन सरकारको अती कम प्राथमिकतामा परेको सडक बताउँछन् । ‘गौरवको आयोजनामा राखिदिनुहोस भनेर मन्त्री, प्रधानमन्त्रीका ढोका त कती चाहार्यौं तर राखिदिएनन्,’ तुम्वाहाम्फेले भने ।

प्रोजेक्ट म्यानेजर लामिछानेका अनुसार ओलाङचुङगोलाको बस्ती हुँदै टिप्ताला भञ्ज्याङ सम्मको सडक पन्छाउन अब दुई महिनाजति लाग्छ । ३४ किलोमिटर सडक पन्छाउनुपर्ने उनले बताए ।

ओलाङचुङगोलासम्म यसै महिनाको मसान्तसम्म गाडी पुग्ने बनाउने उनको हिम्मत छ । ओलाङचुङगोलामा जन्मेर देशविदेसमा रहेका वालुङहरुले रकम संकलन गरेर टिप्ताला भञ्ज्याङदेखि ओलाङचुङगोलाको बस्तिसम्म २४ किलोमिटर ट्रयाक खोलेका थिए ।

चीनवाट मेसिन र पेट्रोल ल्याउन सरकारले समन्वय गरिदिएको थियो । तिब्बतका साना सवारी (जीप) ओलाङचुङगोलासम्म दुईवर्ष चलेपनि । ओलाङचुङगोलाबाट सदरमुकाम फुङलिङ तर्फको पाटीभन्ने स्थानसम्म १० किलोमिटर चीनबाटै मेशिन र तेल ल्याएर खनिएको हो । कोरोना संक्रमणपछि चिनियाँ कामदार फर्किए र सदरमुकाम फुङलिङ तर्फबाटमात्रै बिस्तार गर्नुपर्यो ।

तापेथोकबाट काम थालेको ठीक छ वर्षमा ट्रयाक खोल्ने काम सम्पन्न गरेको राजीव बताउँछन् । २०७४ सालको फागुन महिनामा नै एलाइटले काम थालेको थियो । ‘अब छ वटा मेशिन लगाएर टिप्ताला भञ्ज्याङ सम्मको सडक पन्छाउँछौं,’ राजीवले थपे, ‘नयाँवर्ष चाहिँ चीनसँगको सिमानामा मनाएर ताप्लेजुङबाट विदाई हुन्छौं ।’ यो सडक ताप्लेजुङको टिप्तालाभञ्ज्याङ–ओलाङचुङगोला–लेलेप–तापेथोक–सिंवा हुँदै सदरमुकाम फुङलिङ वा वहानन्देमा जोडिन्छ । यहाँबाट मेची राजमार्गको बहानन्दे–कावेली भएर पाँचथरको अमरपुर–भालुचोक हुँदै माझीटारमा जोडिन्छ । माझीटारबा६ धनकुटाको मुलघाट–भेडेटारवाट हुँदै धरान जोडिन्छ ।

रानी (जोगवनी) मुलघाट ८३ किलोमिटर पक्की सडक छ । मूलघाट–सुभाङखोला ९५ किलोमिटर पक्की हुने क्रममा छ । सुभाङखोला देखि टिप्ताला भञ्ज्याङको दूरी १ सय २१ किलोमिटर छ । ताप्लेजुङ खण्डमा पुलको आवश्यकता धेरै भएकाले आफ्नो तर्फबाट सरकारसँग अनुरोध गरिरहेको प्रतिनिधिसभाका सांसद योगेश भट्टराई बताउँछन् ।

हान्द्रुङ, सुकेपानी, जोङगीन र गोलाको बस्ती नजिकै गरी चार ठाउँमा तमोर नदी तरेर मात्रै गोलाको बस्ती पुगिन्छ । चारमध्ये हान्द्रुङमा मात्रै पुल बनेको छ । ‘सुकेपानीको तमोर नदीमा तत्काल पुल बनाउनु पर्ने अवस्था छ,’ सडक अनुगमनमा गएर फर्किएका प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले भने, ‘स्टकमा रहेका बेलिब्रिज लगेर जोडीदिन सरकारसँग अनुरोध गर्दछु ।’ त्रिदेशीय सडक भएकाले पुल निर्माण र सडक स्तरोन्नतिका लागि सरकारले तत्काल बजेट व्यवस्था मिलाउनुपर्ने भट्टराईको माग छ ।

प्रकाशित : फाल्गुन ८, २०८० १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?