८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

पाथीभरामा केवलकार निर्माणको प्रक्रिया अघि बढाउने तयारी

आनन्द गौतम

ताप्लेजुङ — पाथीभरामा केवलकार निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । सोमबार भएको सर्वदलीय, सर्वपक्षीय छलफल निष्कर्षविहीन भएपछि संवाद र छलफललाई कायमै राख्दै निर्माण कम्पनीले केवलकार निर्माणको काम अघि बढाउने निष्कर्षमा पुगेको हो । 

पाथीभरामा केवलकार निर्माणको प्रक्रिया अघि बढाउने तयारी

पाथीभरा (मुक्कुमलुङ) केवलकार प्रालिका प्रतिनिधि रुद्रराज पौडेलले भने, ‘जिल्ला समन्वय समिति प्रमुख, फुङलिङ नगरपालिका प्रमुख ज्यूहरुको उपस्थितिमा छलफल भयो, सबैले आ–आफ्नो कुरा गर्नुभयो, अहिले सहमतिको बातावरण बनेको छैन । तर अब छलफल पनि जारी राख्छौं र कामपनि बढाउँछौं, उहाँहरुबाट पनि त्यही सल्लाह प्राप्त भएको छ ।’

केवलकार खारेजी संघर्ष समिति सहितका छ राजनीतिक दलले भने हिंसा ननिम्त्याउन आग्रह गरेका छन् । जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, लिम्वूवान क्रान्तिकारी, लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा र वैज्ञानिक समाजवादी पार्टीले पत्रकार सम्मेलन नै गरेर यस्तो आग्रह गरे ।

‘काम अगाडि बढाएर सहजीकरण हुन सक्तैन,’ जसपाका सुर्य तमुले भने, ‘हाम्रो चाहना र कामना हिंसा नहोस् भन्ने हो, निर्माण सुरु गरेर वार्ता गर्छु भन्नु उचित होइन ।’ उनीहरुले कुनै हालतमा निर्माण गर्न नदिने अडान देखाए ।

सर्वपक्षीय छलफलमा पनि छ दलको तर्फबाट प्रकासित बिज्ञप्ति पढेर सुनाइएको थियो । तर फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले आफू निर्बाचित हुनुभन्दा अगाडिनै नगरपालिकाले अनुमति दिएको र आफू निर्बाचित भएपछि मन्दिर क्षेत्रमा कुनैपनि संरचना नबनाउने गरी कागजात परिवर्तन गरी दोश्रो पटक अनुमति दिएको बताए ।

नबनाउन दवाव दिएका दलहरुले भने ७ लाख २० हजारमा खरिद गरेको जग्गा केवलकार कम्पनीलाई २९ करोड ८५ लाखमा बिक्री गरेर कम्पनीले अनियमितता गरेको, ब्यापारिक संस्थाको उक्साहटमा सरकारले पाथीभराको क्षेत्र विस्तार गरेको आरोप लगाएका छन् । केवलकार प्रालिका प्रतिनिधि पौडेलले आफूहरुलेपनि अर्कै कम्पनीबाट लिएकाले विगतको विषयमा जानकार नभएको बताए । अहिले यसको जिम्मा उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले लिएका छन्।

छ राजनीतिक दलले धार्मिक स्थलमा प्रहरी राखेर धार्मिक, सांस्कृतिक झगडाको बिउ नरोप्नपनि आग्रह गरेका छन् । ‘कुनैपनि तिर्थयात्री स्थानीय जनता मुन्धुमका संरक्षकहरुले शान्ति सुरक्षाको माग नगरेको अवस्थामा मुन्धुमी स्थल समाप्त गर्ने प्रपञ्च स्वरुप सशस्त्र प्रहरी वेस क्याम्प राख्नु धार्मिक सांस्कृतिक झगडाको विउ रोप्नु हो’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले केवलकार निर्माण गर्ने स्थान काफ्लेपाटीमा सशस्त्र प्रहरीको क्याम्प राख्ने तयारी गरेको छ । कम्पनीले सम्पूर्ण कागजी प्रक्रिया पुरा भएको र निर्माणको चरणमा जाने समय भएको जनाएको छ ।

माथिल्लो फेदीदेखि मन्दिर सम्मका रुख कटानको चरणमा पुगेको कम्पनीले जनाएको छ । रुख कटानको जिम्मा स्थानीय सामुदायिक वन उपभोत्ता समितिलाई दिइएको छ । यसअघि रुख कटानको लागि गएको टोलीलाई छलफल गर्ने भन्दै स्थानीय प्रशासनले फर्काएको थियो ।

प्रकाशित : माघ २९, २०८० १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महासमिति बैठकमा नागरिकका मुद्दा छाडी सत्ताबारे मात्रै बहस गर्ने कांग्रेसी नेताबारे तपाईंको के टिप्पणी छ ?