९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

खोटाङको हलेसी लगायतका तीर्थस्थलमा बालाचतुर्दशी मेला

डम्बरसिं राई

खोटाङ — बालाचतुर्दशीको अवसरमा हलेसी लगायतका जिल्लाका विभिन्न धार्मिक स्थलहरुमा मेला लागेको छ । हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढीस्थित बुद्धेश्वर गुफा, कालिका भगवती, खोटेहाङ गाउँपालिकाको सोलढुङ्गा, रावाबेसी गाउँपालिकाको जडीमा मेला लागेको हो ।

खोटाङको हलेसी लगायतका तीर्थस्थलमा बालाचतुर्दशी मेला

हलेसीमा आइतबार बेलुकीदेखि नै तीर्थालुको भिड लागेको छ । सोमबार बिहान साढे सात बजे नै शिवलिंगमा गहना पहिराइएको हलेसी विकास समितिका निर्देशक सम्मरबहादुर भुजेलले बताए । तीर्थालुहरु लाइन लागेर पूजाआजामा व्यस्त छन् । भुजेलकाअनुसार काठमाडौं, मोरङ, सुनसरी, झापा, सप्तरी, सिरहा लगायत नेपालका विभिन्न ठाउँका तीर्थालु हलेसी आएका छन् । यसबाहेक भारतको सिक्किम, दार्जिलिङ तथा अन्य सहरहरु तथा भुटानका तीर्थालु समेत आएको भुजेलले बताए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढीस्थित बुद्धेश्वर गुफा र कालिका भगवतीको दर्शनका लागि पनि तीर्थालु सोमबार बिहानैदेखि भिड लागेका छन् । यहाँ पूजा आराधना गरे चिताएको विश्वासमा तीर्थालु आउने गरेका छन् ।

खोटेहाङ गाउँपालिका–४ बडकादियालेस्थित सोलढुंगामा तीर्थालुको भिड लागेको छ । उक्त धार्मिकस्थलमा आइतबार बेलुकीदेखि नै तीर्थालु आएको स्थानीय अज्ञान राईले बताए । रावाबेंसी गाउँपालिका–६ हौचुरको जुडीमा पनि तीर्थालुको भिड लागेको छ । बालाचतुर्दशीको अवसरमा जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ र रावाबेसी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । स्थानीय तह मातहतका कार्यालयहरु, सामुदायिक विद्यालय, स्वास्थ्य संस्थाहरु बन्द छन् ।

प्रकाशित : मंसिर २५, २०८० १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?