१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११०

झापामा जातीय विभेद गरेको आरोपमा दुई पक्राउ

पर्वत पोर्तेल

झापा — जातीय विभेद गरेको आरोपमा झापा प्रहरीले दुई जनालाई करिव दुई महिनापछि मेचीनगरबाट पक्राउ गरेको छ । मेचीनगर-१० बस्ने ३६ वर्षीया रञ्जु विश्वकर्मा कडरियालाई जातीय विभेद गरेको आरोपमा प्रहरीले छिमेकी ४७ वर्षीया मैया दाहाल र ४९ वर्षीया सीता दाहाललाई मंगलबार पक्राउ गरेको हो ।

उनीहरूले जातीय भेदभावसहित अपमान गरेको भन्दै विश्वकर्माले गत असोज २४ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएकी थिइन् ।

विश्वकर्माले दिएको जाहेरी अनुसार छिमेकी सीता दाहालको घरबाट दूध किनेर खान थालेको दुई दिनपछि गत असोज २२ गते अचानक उनलाई दूध दिन छाडिएको थियो । विश्वकर्माले ‘मलाई दूध दिन किन छाड्नु भको ?’ भनी सोध्दा दाहालले ‘तँ दलितलाई दूध दिन थालेपछि मेरो गाई विरामी भई दूध दिन छाडेको र परिवारका सदस्यहरूमा पनि रगत छाद्ने रोग देखा परेको’ भन्दै आइन्दा दूध लिन नआउनु भनेकी थिइन् ।

मैया दाहालले समेत ‘दलितलाई दूध दिँदैनौं, कहाँ गएर के गर्नुपर्छ गरेर देखा’ भनेकी थिइन् ।

छिमेकीबाटै जातीय विभेद र अपमान भोगेपछि उनले असोज २४ गते प्रहरीमा जाहेरी थिइन् । जाहेरी दिनुअघि उनलाई स्थानीयवासी र जनप्रतिनिधिहरूले ‘मिल्न’ दबाब दिएका थिए । तर, उनले जातीय विभेद गर्ने विरुद्ध कानुन बमोजिम कारबाही गरि पाउँ भन्दै जाहेरी दिएकी थिइन् । उनले जाहेरी दिएको लामो समयसम्म स्थानीय र केही जनप्रतिनिधिले ‘सद्भाव बिथोलिने’ भन्दै जाहेरी फिर्ता लिन दबाब दिएका बताएकी छन् ।

प्रहरीले असोज २४ मै दाहालद्वयविरुद्ध जातीय विभेदविरुद्ध मुद्दा दर्ता भएको दाबी गरेपनि उनीहरुलाई पक्राउ गर्न भने करिव दुई महिना लगाएको थियो ।

प्रकाशित : मंसिर २०, २०८० १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?