कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

अन्तःशुल्क स्टिकर संकलन गरेर पुनः बिक्री गर्ने पक्राउ

विनोद भण्डारी

विराटनगर — गुट्खा र सुर्तीजन्य वस्तुको प्याकेटमा टाँसिएको अन्तःशुल्क स्टिकर संकलन गरेर त्यस्ता उद्योगलाई बिक्री गर्दै आएका एक व्यापारीलाई प्रहरीले मोरङको कर्सिया बजारबाट नियन्त्रणमा लिएको छ ।

अन्तःशुल्क स्टिकर संकलन गरेर पुनः बिक्री गर्ने पक्राउ

पक्राउ परेका व्यक्तिले गुट्खा र सुर्तीजन्य वस्तु बिक्री गर्ने किराना पसलबाट प्रति गोटो ३ रुपैयाँमा त्यस्ता स्टिकर खरिद गरेर गुट्खा उत्पादन गर्ने उद्योगलाई प्रति गोटा ७ रुपैयाँमा बिक्री गर्दै आएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

मोरङको धनपालथान ४ कर्सिया बजारको निराला पसलका सञ्चालक समेत रहेका सुनिलकुमार राजवंशीलाई प्रहरीले ३ हजार १ सय ४० थान अन्तःशुल्क स्टिकरसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए ।

उनले गुट्खा र सुर्तीजन्य वस्तुको प्याकेटमा एक पटक प्रयोग गरिएको अन्तःशुल्क स्टिकर उप्काएर जम्मा गर्ने अनि त्यस्ता वस्तु उत्पादन गर्ने उद्योगलाई बिक्री गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । सो कार्यमा गिरोह नै संलग्न रहेको प्रहरीको आशंका छ ।

गिरोहले हरेक बजारका किराना पसलबाट स्टिकर संकलन गरेर गुट्खा र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योगलाई बिक्री गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । एक पटक प्रयोग गरिएका स्टिकर उद्योगले पुनः प्रयोग गरेर अन्तःशुल्क ठगी गर्दै आएको प्रहरीको बुझाइ छ ।

प्रकाशित : मंसिर १८, २०८० १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?